मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डेँगु र भाइरलका बिरामीले भरिए चितवनका अस्पताल

डेँगु र भाइरलका बिरामीले भरिए चितवनका अस्पताल


चितवन । चितवनको भरतपुर अस्पतालमा डेँगु र भाइरलको बिरामीले अस्पतालका सबै बेड भरिएका छन् । 
 
आकस्मिक कक्षका सबै बेडहरुमा दुई जना बिरामीका दरले उपचार गराउनुपरेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. श्रीराम तिवारीले बताए । 
 
भाइरल संक्रमित बिरामीको यसरी उपचार गर्दा बिरामीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहे पनि साउनदेखि नै यसरी उपचार गर्नुपरेको मेसु तिवारी बताउँछन्, उनी भन्छन्, ‘यसअघि हामीले एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गरायौँ । बेड र कर्मचारी अभावका कारण यस्तो समस्या छ ।’
 
भाइरलका बिरामीलाई अन्य बिरामी वा स्वस्थ मान्छेभन्दा टाढै राखेर उपचार गराउनुपर्नेमा अस्पतालले सँगै राखेर उपचार गराउँदा झनै समस्या भएको छ । भाइरलले सताइरहेको अवस्थामा निजी अस्पतालहरुले झूलको व्यवस्था गरे पनि सरकारी अस्पतालमा यसबारे कुनै सतर्कता अपनाइएको छैन । 
 
भरतपुर अस्पतालमा दैनिक १६ सय बिरामीले ओपिडी सेवा लिइरहेका छन् । बिरामीको अत्यधिक चापका कारण अस्पतालबाट दिइने सबै सेवा प्रभावित बनेको छ । 
 
खासगरी एक्स–रे, ल्याब, टिकट काट्नमै बिरामीले घन्टौँ लाइन लाग्नुपर्ने बाध्यता छ । यस्तै, औषधि लिन पनि घन्टौँ समय कुुर्नुपरेको बिरामी शशिकला घिमिरेले दुखेसो पोखिन् । 
 
भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पताल घोषणा गरिए पनि आकस्मिक कक्ष ६० बेडसम्मको हुनुपर्नेमा अहिले १२ बेड रहेका कारण बढी चाप हुने गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताउँछन् । 
 
चितवनमा भाइरलका बिरामीसँगै डेङ्गुको संक्रमण बढ्दै गएको छ । हालसम्म दुईजनाको डेँगु र एकजनाको स्क्रबटाइफसबाट मृत्यु भइसकेको छ । चितवनका भरतपुर, रत्ननगर अस्पतालसहित सबै निजी अस्पतालहरुमा डेँगु र भाइरलका बिरामीले भरिएका छन् ।
 
डेङ्गु रोगविरूद्धको खोप तथा औषधि नभएका कारण यसबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरु बताउँछन् ।