मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘वैदेशिक लगानीमा नीतिगत सहजता आवश्यक’

‘वैदेशिक लगानीमा नीतिगत सहजता आवश्यक’


 
ड्यालस (टेक्सस)
नेपालको विकासमा गैरआवासीय नेपाली (एनआरएन)को भूमिकालाई नेपाल सरकारले विनासङ्कोच सरल र सहज रुपमा स्थान दिनुपर्नेमा जोड दिइएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी), टेक्सस च्याप्टरले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताले सो कुरामा जोड दिएका हुन् । 
 
गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाल सरकारको हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने एनआरएनए आईसीसीका उपाध्यक्ष कुल आचार्यले बताए । ‘एनआरएनले नेपालमा गर्ने लगानी र सम्पत्ति सुरक्षाको ग्यारेन्टीको प्रतिबद्धता नेपाल सरकारले जनाउनुपर्छ,’ कार्यक्रमका प्रमुुख अतिथिसमेत रहेका आचार्यले भने, ‘एनआरएन नेपालसँग जोडिने प्रमुख कारण भनेको नागरिकता नै हो ।’ 
 
नेपाल सरकारले एनआरएनहरुको लागि बनाउँदै गरेको नीति लचिलो हुनुपर्ने बताउँदै आचार्यले नेपाल सरकारसँग आर्थिक, सांस्कृति, सामाजिकलगायत अधिकारसहितको नागरिकताको बारेमा कुरा भइरहेको बताए । 
 
दोहोरो नागरिकताको विषयमा तीनओटा कुरामा सरकारसँग छलफल भइरहेको आचार्यले जानकारी दिए । ‘तीन पुस्तालाई मात्र नागरिकता दिने, गृह मन्त्रालयबाट मात्र नागरिकता दिने र नागरिकता लिने व्यक्तिले पूर्ण रुपमा नेपाली भाषामार्फत परीक्षा दिनुपर्ने भन्ने कुरा सान्दर्भिक हुँदैन,’ उनले थपे, ‘नागरिकता लिनेको पुस्ता उल्लेख गर्न नहुने, कमसेकम विदेशी नियोगबाट नागरिकताका लागि आवेदन दिन मिल्ने व्यवस्था मिलाउनुपर्ने र नागरिकता बाहकको हकमा भाषालाई शतप्रतिशत अनिवार्य बनाउनु हुँदैन ।’ 
 
आचार्यले भने, ‘नागरिकता प्राप्त गर्ने व्यक्तिले यदि विदेशी पासपोर्ट त्यागेको खण्डमा उसले नेपाली पासपोर्ट सहजै पाउने व्यवस्था हुनुपर्छ ।’ आचार्यले एनआरएनए आईसीसीको अधिवेशनलाई लक्षित गर्दै सम्पूर्ण गैरआवासीय नेपालीको भावना समेट्ने कुरामा सहमति हुन सक्ने बताउँदै आफ्नो अनुकूलतामा सहमति हुन नसक्ने प्रस्ट पारे ।
 
यसैगरी, एनआरएनए आईसीसी, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) गौरीराज जोशीले अमेरिका रहेको ८० प्रतिशत जनसंख्या सामान्य परिश्रम गर्ने पंक्तिमा रहेको बताउँदै यो जनसंख्यालाई स्तरोन्नति गर्नेतर्फ पहिला ध्यान दिनुपर्ने बताए । 
 
‘सामान्य परिश्रम गर्ने व्यक्तिलाई लक्षित कार्यक्रमप्रति एनआरएनएको ध्यान पुग्न सकेको छैन,’ जोशीले भने, ‘एनआरएनए एनसीसीले यो जनसंख्यालाई लक्ष्य गरेर वृत्ति विकासका कार्यक्रमलाई विशेष महत्वका साथ सञ्चालन गर्नु आवश्यक छ ।’ अमेरिकामा रहेका सबै नेपालीलाई शैक्षिक एवम् आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोशीले जोड दिए ।
 
‘हामी अमेरिकामा रहेका नेपालीहरु सम्बन्धित विषयमा दक्ष भयौं भने, आर्थिक रुपमा सबल भयौं भने, हामीले नेपाली नागरिकताका लागि नेपाल सरकारसँग हात फैलाइरहनु पर्दैन,’ उनले भने, ‘त्यसपछि नेपाल सरकार आफैं हामीसँग आउनेछ, हामीलाई नागरिकतादेखि आवश्यक पर्ने सबै सेवा–सुविधा दिनेछ ।
 
विदेशमा रहेका नेपालीले पनि कुनै वादमा नअलमलिई आफूले आर्जन गरेको ज्ञान र अनुभवलाई नेपालको विकासमा लगाउनुपर्ने बताउँदै अहिले नेपाल सरकारलाई सही मार्गनिर्देशको आवश्यकता रहेको बताए । ‘हामी विदेशमा आएर पनि नेपालमा रहेका दलको झन्डा बोकेर नेपालीले नेपालीलाई नै हतोत्साहन गर्ने गर्छौं,’ उनले भने, ‘यो प्रवृत्ति हामीले हटाएर एनआरएनएलाई सबैको साझा संस्था बनाउनुपर्छ ।’
 
यसैगरी, एनआरएनए एनसीसी, अमेरिकाका अध्यक्ष सुनील साहले अक्टोबर १३, १४, १५ र १६ मा हुन गइरहेको आईसीसीको अधिवेशनमार्फत सर्वसम्मतिमा कार्यसमिति बनाउनुपर्ने बताए । साथै, आईसीसीले दोहोरो नागरिकताको बारेमा सम्पूर्ण एनआरएनको भावनाबमोजिम कार्य गर्नुपर्नेमा जोड दिए । ‘हामी अमेरिकामा रहेका सम्पूर्ण नेपालीबीच एकअर्कामा विरोधको भावना नभई सबै एकजुट हुनुपर्छ,’ साहले भने, ‘अमेरिकामा रहनुभएका सबै नेपालीको आवाज र भावनालाई समेटेर एनआरएनए अमेरिकालाई अगाडि बढाउनेछु ।’
 
यसैक्रममा अध्यक्ष साहले एनआरएनए एनसीसी, अमेरिकाको प्रवक्तामा नियुक्त ओम भट्टराईलाई पद तथा गोपनियताको सपथ गराए । 
 
यस्तै, एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष एवम् संरक्षक डा. केशव पौडेलले विश्वमा बढिरहेको शिक्षा र प्रविधिको विकासअनुसार नेपालीको पनि आवश्यकता बढिरहेका कारण धेरै नेपाली युवा बिदेसिने गरेको बताए ।
‘नेपालको कुल जनसंखयाको करिब १८ प्रतिशत जनसंख्या विदेशमा छ,’ डा. पौडलले भने, ‘नेपाल बाहिर गएका सबै नेपालीलाई नेपालसँग जोडिरहन पाउने वातावरण नेपाल सरकारले बनाउनु आवश्यक छ ।’
 
यदि, विदेशमा बस्ने नेपालीबाट नेपालमा लगानीको वातावरण बनाउन नेपाल सरकारले नियम–कानुन खुकुलो बनाउने, लगानीको ग्यारेन्टीको व्यवस्था गर्नुपर्ने एवम् अपनत्वको भावना सिर्जना गर्नुपर्नेमा जोड दिए । संसारका ८० देशमा नेपाली रहेको उल्लेख गर्दै सबैको भावना र इच्छालाई समेट्नका लागि आफूले एनआरएनए आइसीसीमा महासचिवको इच्छा राखेको डा. पौडेलले बताए । ‘सहमतिको वातावरण हामीले घरभित्रैबाट बनाउनुपर्छ,’ उनले भने, ‘आफूभन्दा उपयुक्त र सक्षम व्यक्ति सो पदमा आउँछ भने सबैको भावनाबमोजिम सहमति र सहकार्यमा अगाडि बढ्छु ।’ 
 
यस्तै, एनआरएनए एनसीसीको काम भनेको स्थानीय जनजीवनलाई आवश्यक पर्ने आधारभूत कुरालाई विशेष प्राथमिकता दिनुपर्ने नेपाली समाज टेक्ससका निवर्तमान अध्यक्ष कृष्ण लामिछानेले जोड दिए । लामिछानेले भने, ‘सबैभन्दा पहिला च्याप्टरलाई सक्रिय बनाउने, विदेशमा रहेका नेपालीका समस्या, पीर–मर्कालाई सम्बोधन गर्न सक्ने र सबैको मेरो संस्थाको रुपमा एनआरएनलाई स्थापित गर्नुपर्छ ।’ अमेरिकामा एनआरएनए संस्थाप्रतिको आशा र विश्वास आममानिसमा खस्कँदै गएको हुँदा यसलाई माथि उठाउन सबैभन्दा पहिला उनीहरुको समस्या समाधान र भावनालाई सम्बोधन गर्न सक्ने खालका कार्यमा विशेष जोड दिनुपर्ने लामिछानेले बताए । 
 
यस्तै, एनआरएनए आईसीसीका सल्लाहकार हरिबोल भण्डारीले संस्थालाई बलियो बनाउन सबैको सहमति, सहकार्य र सहयात्रा महत्वपूर्ण रहेको बताए । यसैगरी, एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष राजेश अर्यालको सभापतित्वमा सञ्चालित कार्यक्रममा कार्यक्रममा एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष डा. अर्जुंन बन्जाडेले स्वागत मन्तव्य राखेका थिए ।
 
यस्तै, टेक्सस च्याप्टरका सचिव सोफिन थापाले सञ्चालन गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले एनआरएनएलाई कुनै पार्टीगत वा कसैको स्वार्थपूर्तिका रुपमा अगाडि बढाउन नहुनेमा जोड दिएका थिए । एनआरएनए एनसीसी, टेक्सस च्याप्टरले एनआरएनए आईसीसीका उपाध्यक्ष कुल आचार्यको अमेरिका भ्रमणका क्रममा टेक्ससको डलासमा स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको हो ।