वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान सक्रिय रूपमा आणविक हतियार परीक्षण गर्ने राष्ट्रहरूको सूचीमा परिरहेको खुलासा गरेका छन् ।
उनले यो विषयलाई अन्य शक्तिशाली राष्ट्रहरूबीचको व्यापक प्रतिस्पर्धात्मक ढाँचाको रूपमा प्रस्तुत गर्दै अमेरिकाले पनि आफ्ना आणविक परीक्षणहरू पुनः सुरु गर्नु अपरिहार्य भएको बताए ।
सिबिएस न्युजको ‘६० मिनेट्स’ कार्यक्रममा आइतबार प्रसारण गरिएको अन्तर्वार्तामा ट्रम्पले रुस, चीन, उत्तर कोरिया र पाकिस्तानलगायतका देशहरूले निरन्तर आणविक परीक्षण गरिरहेको दाबी गरे । उनका अनुसार, अमेरिका मात्रै यस्तो राष्ट्र बनेको छ जसले परीक्षण नगर्ने नीतिलाई निरन्तरता दिएको छ । रुसले परीक्षण गर्छ, चीनले पनि गर्छ, तर उनीहरूले त्यसबारे बोल्दैनन् । हामी भने खुला समाज हौँ, हामी फरक छौँ । हामीले यसबारे जनतालाई जानकारी दिनैपर्छ, किनभने पत्रकारहरूले यो विषयमा रिपोर्ट गर्छन् ।
अन्य देशमा त पत्रकारहरूले यसबारे लेख्न पनि पाउँदैनन्, उनले भने, हामी पनि परीक्षण गर्न जाँदैछौँ, किनभने अन्य सबै राष्ट्रहरूले गरिरहेका छन् । निश्चित रूपमा उत्तर कोरियाले गरिरहेको छ र पाकिस्तानले पनि परीक्षण गरिरहेको छ । रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ३० वर्षभन्दा बढी समयपछि अमेरिका पुनः परीक्षणको तयारीमा रहेको प्रश्नमा उनले उक्त टिप्पणी गरेका हुन् ।
ट्रम्पले भने, रुसले परीक्षण गर्ने घोषणा गरिसक्यो । उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ । अन्य देशहरूले पनि गरिरहेका छन् । परीक्षण नगर्ने एक मात्र देश हामी हौँ र म यस्तो स्थिति रहोस् भन्ने चाहन्न । उनले अमेरिकासँग विश्वका सबैभन्दा बढी आणविक हतियार रहेको दाबी गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग निःशस्त्रीकरणबारे छलफल गरेको बताए ।
ट्रम्पका शब्दमा, हामीसँग विश्वलाई १५० पटक नष्ट गर्न सक्ने जति हतियारहरू छन् । रुससँग पनि धेरै छन् र चीनले तीव्र रूपमा वृद्धि गरिरहेको छ । उनीहरूसँग अहिले कम भए पनि चाँडै धेरै हुनेछ । यसअघि बिहीबार उनीले रुसको हालैको उन्नत आणविक प्रणालीको परीक्षणलाई औँल्याउँदै अमेरिकाले तत्काल आणविक हतियार परीक्षण पुनः सुरु गर्ने घोषणा गरेका थिए । यसले दुई आणविक शक्तिहरूबीचको तनाव पुनः चर्किने सङ्केत दिएको छ ।
एयर फोर्स वानमा प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, आणविक निःशस्त्रीकरण ठूलो कुरा हो, तर जब अरूले परीक्षण गर्छन्, हामीले पनि त्यसको जवाफ दिनैपर्छ । हामीसँग अरू सबैभन्दा धेरै आणविक हतियार छन्, तर हामी मात्र परीक्षण नगर्ने राष्ट्र बन्नु उचित हुँदैन । उनले परीक्षणका लागि तयारी भइसकेको तर समय र स्थान खुलाउन नमिल्ने जानकारी दिए ।
विश्वव्यापी आणविक परिदृश्य अझ अस्थिर हुनसक्ने चिन्ताबारे सोधिएको प्रश्नमा उनले जवाफ दिए, मलाई लाग्छ हामीले यसलाई राम्रोसँग नियन्त्रणमा राखेका छौँ । यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासँगको सन् २००० मा हस्ताक्षर गरिएको ‘प्लुटोनियम डिस्पोजल सम्झौता’ औपचारिक रूपमा समाप्त गर्ने कानूनमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताले दुवै राष्ट्रलाई सैन्य प्रयोजनका लागि आवश्यक नभएको ३४ टन हतियार–ग्रेड प्लुटोनियम नष्ट गर्न बाध्य बनाएको थियो ।












प्रतिक्रिया