मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युवा दीपकको दुबै किडनी काम नलाग्ने

युवा दीपकको दुबै किडनी काम नलाग्ने


हिमालयखबर संबाददादा- 
ह्युस्टन (टेक्सस) ।  जीवनका हरेक मोडमा जस्तोसुकै अप्ठ्याराहरुसंग जुध्न सक्ने एउटा युवाको दुबै किडनीले काम गर्न छोडेपछि कस्तो अवस्था होला ! जस्ले यस्तो समस्या भोग्दैछ उसको पीडा उसैलाई थाहा हुन्छ । उसका मातापिता र आफन्तलाई कस्तो चिन्ता र छटपटी होला , त्यसको हिसाब अरुले लगाउने कुरै भएन । यस्तै पीडा र छटपटी ह्युस्टनका दीपक गौतम र उनको परिवारमा यतिबेला व्याप्त छ । 
दीपक गौतम भर्खरै २५ वर्ष पुग्दैछन् । तर यति नै बेला उनको दुबै किडनीले काम गर्न छोडेको छ । सामान्य मानिसको किडनी कार्य क्षमता ७० देखि १०० प्रतिशतमा आंकलन गरिन्छ । तर दीपकको किडनी अहिले ८ प्रतिशतमा झरेको छ । यसलाई चिकित्सा विज्ञानले असमान्य भन्छ । 
 
Management in Information System (MIS) डिग्री सकेर एउटा राम्रो कामको शुरुवात गर्ने तरखरमा रहेकै बेला दीपकलाई यस्तो रोगले च्याप्यो । गत जुन २१ मा उनको हर्नियाको सल्यक्रिया भएको थियो । त्यसले पूर्णरुपले काम नगर्दा जुलाई १० मा हर्नियाको दोश्रो सल्यक्रिया गर्नु पर्यो । अगस्त महिनाको शुरुदेखि उनको डायलिसिस प्रारम्भ गरिएको छ । दीपकले त्यस सम्बन्धी तालिम आफैं लिए , अहिले आफ्नो डायलिसिस आफैं गर्छन् । कुनैबेला नसक्ने अवस्थामा उनको बुबाले सहयोग गर्छन् । 
 
मेमोरियल हर्मन अस्पतालका चिकित्सक डा. राहुल प्रकास उनको उपचारमा संलग्न छन् । तर दुबै किडनी काम नलाग्ने भएपछि अब एउटै मात्र उपाय भनेको नयाँ किडनी प्रत्यारोपण नै हो – डाक्टरको निर्णय यस्तो छ । 
 
किडनी दानकोलागि अनुरोध 
काशीराम गौतम र माया गौतमका छोरा दीपकलाई कसैले किडनी दिएर नयाँ जीवन दिनेछन् भन्ने विश्वास मरेको छैन । उनको ब्लड ग्रुप A अथवा O हो ।  बुबा काशीरामले आफ्नो किडनी दिन तयार भए तर ब्लड ग्रुप नमिल्दा त्यसको औचित्य रहेन । अहिले गौतम परिवार डोनरको खोजीमा छन् । जति छिटो किडनी प्रत्यारोपण हुन्छ , त्यति नै चाँडो दीपकको जीवन सुरक्षित हुनेछ । 
 
दीपकका बुबा काशीराम गौतम ह्युस्टनका पुराना बासिन्दा हुन् । यहाँको नेपाली समुदायमा उनको सामाजिक सक्रियताको सबैले प्रशंसा गर्छन् ।  ह्युस्टनमा सबैका प्रिय काशी दाइ रेष्टुँरा व्यवसायमा लामो अनुभवले खारिएका भएपनि हिजोआज उनी कामबिहीन भएका छन् । उनको स्वास्थ्य समस्याले काशीलाई व्यवसाय संचालन गर्न अप्ठ्यारो परेको छ । 
 
"बाबा अब तपाँइले काम गर्नु पर्दैन । म काम गर्छु ,कमाउँछु – तपाँइहरु आराम गर्नुस् ।" – छोरा दीपकले MIS डिग्री सकेपछि आफूलाई भनेको कुरा सम्झिदै काशीराम भावुक हुन्छन् । 
 
काशीरामलाई यस्तो कठीन अवस्थामा आफ्नो समुदाय र मित्रहरुबाट सहयोग र सद्भाव अवश्य मिल्छ भन्ने विश्वास रहेको कुरा उनले हिमालयखबरलाई बताए । खासगरी किडनी दिने दानी कसरी हुन्छ सबैको सहयोग र समर्थनले मिलोस् भन्ने उनको अपील पनि छ । 
 
किडनी प्रात्यारोपणकालागि त्यसको उपलब्धता र त्यसमा लाग्ने खर्च गौतम परिवारकालागि संभव देखिदैन । त्यसैले यहाँका स्थानीय संघसंस्था र सहयोगी मनहरुबाट काशीरामले अपेक्षा गरेका छन् । ह्युस्टनका नेपालीहरुको सबैभन्दा पूरानो र प्रभावकारी संस्था नेप्लिज एशोसिएसन अफ ह्युस्टनले दीपकको उपचारमा आफ्नो सक्रिय नेतॢत्वमा अग्रसरता देखाउन ढीलो गर्नु हुन्न भन्ने गहकिलो आवाज यहाँको नेपाली समुदायभित्र देखिएको छ । 

शेयर गर्नुहोस:

27
Shares