मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडामा पनि डेँगुको महामारी, साउनयता ६२ बिरामी

हेटौँडामा पनि डेँगुको महामारी, साउनयता ६२ बिरामी


हेटौँडा । हेटौँडा उपमहानगरपालिकामा डेँगुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ । 
 
महानगरपालिकाले आज कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ ।
 
आजै डेङ्गु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल विकास संस्थामार्फत पनि डेङ्गुको नियन्त्रणका लागि काम गर्ने निर्णय भएको हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । 
 
विगतका वर्षहरुमा मकवानपुरमा कमै मात्र देखा पर्ने गरेको डेँगु रोगले यस वर्ष भने माहामारीको रुप लिँदै गएको देखिएको हो । 
 
विशेष प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने डेँगुका कारण हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र ६२ जना बिरामी परेको जनाइएको छ । यो संख्या साउन १ गतेदेखि २२ गतेसम्मको हो । 
 
बिरामीको हेटौँडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दिनहुँजसो बिरामी आउनेक्रम जारी रहेको जनाइएको छ । हेटौँडामा  डेँगुका बिरामीको सङ्ख्या बढ्न थालेपछि यसबाट बच्न जनचेतना जगाउँदै लामखुट्टे बस्ने र प्रजनन गर्न सक्ने सम्भावित स्थान नष्ट गर्ने काम शुरु गरिएको प्रमुख महतको भनाइ छ । 
 
उपमहानगरपालिकाबाट माइकिङ गर्ने, लामखुट्टेको वासस्थान नष्ट गर्ने, टोलटोलमा यसका बारेमा जनचेतना जगाउने, विद्यालयमा गएर चेतनाको अभियान सञ्चालन गर्नेलगायतका काम गरिएको उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । 
 
विशेष गरी हेटौँडाको वडा नम्बर ४ क्षेत्रमा यसको सङ्क्रमण बढी भएकाले यस क्षेत्रमा चेतना जगाउँदै टोलटोलमा जमेका पानी हटाउने काम भइरहेको उनको भनाइ छ ।
 
यसैगरी हेटौँडामा देखापरेको डेँगुको नियन्त्रणका लागि प्रदेश सरकारसँगको सहकार्यमा पनि काम भइरहेको कार्कीले जानकारी दिए ।