मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित

दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा राजनीतिक दलबीच सहमति नभएपछि आजको बैठक पनि स्थगन भएको छ ।
 
अवरोध हटाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सर्वदलीय बैठक बोलाउनुभएको थियो । बैठकमा सत्तापक्ष र प्रतिपक्ष सर्लाही घटनाका विषयमा संसदीय समिति गठन गर्ने वा नगर्ने विषयमा आआफ्ना अडानमा रहेपछि सहमति हुन नसकेको हो । 
 
सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै संसद् बैठक सोमबारसम्मका लागि स्थगन गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 
 
“सहमतिका लागि थप छलफल आवश्यक देखिएकाले दलको सहमतिमै सोमबार सम्मका लागि संसद् बैठक स्थगन गरिएको छ”, सर्वदलीय बैठकपछि उनले भने । 
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउनुपर्छ भनेर आफूहरूले माग राखेको र सबै दलले आन्तरिकरूपमा थप छलफलको आवश्यकता महसुस गरेको बताइन् । 
 
समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सर्लाही घटनाका सम्बन्धमा संसदीय छानविन समिति बनाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने दुवै विषय लोकतान्त्रिक हुने आफूले सुझाव दिएको बताए । 
 
सर्लाहीमा गत असार ५ गते विप्लब समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल प्रहरीको दोहोरो भिडन्तमा मारिएका थिए । सर्लाहीमै बालुवा उत्खनन गरिएको स्थलमा पौडी खेलेर १२ वर्षीय बालक अमित रायको मृत्यु भएको घटनालाई लिएर प्रदर्शनमा उत्रिएका स्थानीयवासी र प्रहरीको झडपमा एक जनाको मृत्यु भएको थियो । 
 
उक्त दुवै विषयमा प्रमुख प्रतिपक्षी दललगायत संसदीय छानबिन समिति गठनको मागका साथ केही दिनदेखि संसद् बैठक अवरोध गर्दै आएका छन् । 
 
प्रतिपक्षी दलले तराई–मधेश आन्दोलनका क्रममा भएका क्षतिका सम्बन्धमा सर्वाेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वमा गठित समितिको प्रतिवेदनसमेत सार्वजनिक गर्न माग गर्दै आएका छन् । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २० गते बिहान ११ बजे बस्नेछ ।