मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पशुपतिनाथलगायत शिव मन्दिरमा बोलबम यात्रीको लर्को

पशुपतिनाथलगायत शिव मन्दिरमा बोलबम यात्रीको लर्को


काठमाडौँ । साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पवित्र नदी, ताल, तलाउ एवं पोखरीबाट शुद्ध जल लगी चढाउने भक्तजनको भीड लागेको छ ।
 
पशुपतिनाथमा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट जल ल्याई चढाउने भक्तजनको लर्को छ । आइतबार राति नै सुन्दरीजल गई बसेका बोलबम यात्री बिहान सुन्दरीमाई मन्दिरमुनिको नदीमा स्नान गरी जल सङ्कल्प गरेपछि काँवरमा राखेर त्यहाबाट ल्याएको जल पशुपतिनाथमा चढाउन लाम लागेका छन् ।
 
बोलबम यात्रीको सङ्ख्या बढेपछि भुवनेश्वरी मन्दिरतिरबाट छुट्टै प्रवेश गर्ने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । पशुपति क्षेत्रमा पहेँलो कपडा लगाएका बोलबम यात्रीको बिहानैदेखि विशेष भीड छ । पहेँलो कपडा लगाएका भक्तजन हातमा काँवरसहित घडामा जल लिएर खाली गोडा बोल बम उच्चारण गर्दै सुन्दरीजलबाट पशुपतिनाथ मन्दिरसम्मको करीब ११ किमी यात्रा गरिरहेका छन् । 
 
यसरी बोलबम यात्रा गर्ने दर्शनार्थीले गोकर्णेश्वर महादेव मन्दिरलगायत बीच बाटामा पर्ने शिवालयमा पनि शुद्ध जल चढाउँछन् । भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महीनामा नदीबाट शुद्ध जल, गाईको दूध, बेलपत्रलगायत अर्पण गर्ने परम्परा छ । वर्षमा एकपटक साउन महीनामा घरघरमा वैदिक रुद्राभिषेक गर्ने परम्परासमेत नेपाली समाजमा चल्दै आएको छ । यसरी रुद्राभिषेक गरेमा घरमा नराम्रो शक्तिको प्रवेश नभई सुख शान्ति एवं ऐश्वर्य प्राप्ति हुने पौराणिक मान्यता छ । 
 
साउन महिनामा वाग्मतीको शिरोभाग सुन्दरीजलबाट शुद्ध जल लगी पशुपतिनाथमा चढाएपछि मनोकामना पूरा हुने भएकाले भक्तजन यहाँ आउने गरेको बताउँछन् । सिराहा स्थायी घर भई हाल कुलेश्वरमा बस्दै आएका श्यामसुन्दर यादव बोलबम यात्रा गरी पशुपतिनाथमा जल चढाएपछि सन्तान प्राप्ति भएकाले प्रत्येक वर्ष यात्रामा आउने गरेको सुनाउँछन् ।
 
पशुपतिनाथलाई १२ ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारतीय तीर्थयात्रीसमेत सुन्दरीजल–पशुपति बोलबम यात्रामा आउने गरेका छन् । पूर्वाधारको विकास गरी प्रत्येक वर्ष साउन महिनामा सुन्दरीजलबाट पशुपतिनाथसम्म बोलबम यात्रालाई व्यवस्थित गर्नसके लाखौँ धार्मिक पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन् ।
 
गोकर्णेश्वर नगरपालिकाले सुन्दरीजलमा बोलबम धाम बनाउन लागेको नगरप्रमुख सन्तोष चालिसेले बताए । सुन्दरीजल, गोकर्णेश्वर महादेव मन्दिर र पशुपतिनाथलाई जोडेर धार्मिक पर्यटकको आवागमनलाई वृद्धि गर्ने कामलाई नगरपालिकाले प्राथमिकता दिने उनको भनाइ छ ।
 
पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने दर्शनार्थीकोसमेत बिहानैदेखि भीड लागेको छ । साउनको दोस्रो सोमबार पनि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको कोषले जनाएको छ ।
 
अन्य विशेष पर्वमा जस्तै आज पनि पशुपतिनाथमा भक्तजनको प्रवेशका लागि चार स्थानबाट लाम लाग्ने व्यवस्था गरिएको छ । पहिलो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै पश्चिमढोकाबाट, दोस्रो लाम मित्रपार्क–दक्षिणामूर्ति पश्चिम मूलढोकाबाट, तेस्रो लाम जयबागेश्वरी–भुवनेश्वरी–शंकराचार्य मठबाट पश्चिम मूलढोकाबाट, चौँथो लाम पिङ्गलास्थान–चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
 
पशुपतिनाथको पूर्व ढोका भने जल ल्याउन मात्र उपयोग गरी भक्तजन प्रवेश गर्न नदिइएको सदस्य सचिव डा ढकालले बताए । साउनको सोमबार बढी भक्तजन पशुपतिनाथ मन्दिर आउने भएकाले अतिरिक्त जुत्ता चप्पल कक्षकोसमेत व्यवस्था गरिएको कोषका उपनिर्देशक प्रेमहरि ढुङ्गानाले बताए । 
 
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेषगरी महिला भक्तजनको भीड देखिन्छ । 
 
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । भक्तजनको भीड बढ्ने भएपछि सुरक्षालगायत सबै प्रबन्ध गरिएको छ । गहनालगायत बहुमूल्य चीजबीज मन्दिरमा लगाएर नआउन कोषले भक्तजनमा आह्वान गरेको छ ।
 
विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाई पनि प्रचलित छ । घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । 
 
यस वर्ष साउनमा चार वटा सोमबार परेको छ । साउन ६, १३, २० र २७ गते गरी चार सोमबार परेको छ । पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भन्ने मान्यता छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
 
यसैगरी उपत्यकाका गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनी चिनिने शिवालय, नागेश्वर, डोलेश्वर, आशापुरेश्वर, कुम्भेश्वरलगायत शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ । उपत्यका बाहिरका शिव मन्दिरमा पनि भक्तजनको भीड छ ।