मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डुबानका कारण सयौँ बालबालिकाको भविष्य अन्योलमा

डुबानका कारण सयौँ बालबालिकाको भविष्य अन्योलमा


ललितपुर । गत असार २१ बाट आएको अविरल वर्षाका कारण दक्षिण ललितपुरका ७०० बालबालिकाको विद्यार्थी भविष्य अन्योलमा परेको छ । 
 
वर्षाले यहाँका केही विद्यालय भासिएका छन् त केही पुरिएका छन् । त्यसैगरी कतिपय विद्यालय भत्किएका छन् भने केही डुबानमा परेकाले यहाँ अध्ययन गर्ने बालबालिकाको भविष्य अन्योल भएको हो । 
 
दक्षिण ललितपुरका तीन वाग्मती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाका सबै विद्यालय साउनको अन्तिमसम्म बन्द गरिएका छन् । महाँकाल गाउँपालिकाभित्रका कूल २८ विद्यालयमध्ये २७ सामुदायिक र एक निजी छ । यहाँका तीन सामुदायिक र एक निजी विद्यालयमा बाढी, पहिरो र अविरल वर्षात्ले पूर्ण क्षति भएको महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले जानकारी दिए ।
 
दाहालले भने, “हाल भत्किएका विद्यालयमा वडा नं ३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय, सेतीदेवी आधारभूत विद्यालय, कालीदेवी आधारभूत विद्यालय र दक्षिण ललितपुरको एक मात्र संस्थागत विद्यालय हिलसाइड बोर्डिङ स्कूल रहेका छन् ।”
 
महाँकाल मावि गोटीखेलमा पहिरोले लाँदा त्यहाँ अध्ययनरत करीब ३५०, सेतीदेवी आधारभूतका २२, कालीदेवी आधारभूतका ३६ र हिलसाइडका २०० गरी कूल ६०८ बालबालिकाको पठनपाठन कति दिनसम्म ठप्प हुने हो अन्योलमा छ । 
 
गाउँपालिका शिक्षा शाखा प्रमुख सुरेन्द्ररमण पुरीले भने, “गोटीखेलको चनदेवी प्रावि सिसवन गोटीखेल र सरस्वती विद्याश्रम मावि चन्दनपुरमा आंशिक क्षति भएको छ । यी विद्यालय पुनःनिर्माण नभएसम्म विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराउन सहज छैन ।” 
 
कोञ्ज्योसोम गाउँपालिकाभित्र १२ आधारभूत र छ माध्यमिक गरी कूल १८ विद्यालय रहेका छन् । सो क्षेत्रको ज्ञानज्योति आधारभूत विद्यालयमा बाढी पस्दा यहाँ अध्ययनरत ४५ विद्यार्थीलाई समस्या परेको सो गाउँपालिका शिक्षा शाखा प्रमुख टेकबहादुर थोकरले बताए । 
 
अर्र्काे दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा ४० आधारभूत र १० माध्यमिक गरी कूल ५० विद्यालय छन् । सो क्षेत्र माल्टाको भुमेश्वरी आधारभूत विद्यालय भासिदा ३० बालबालिकाको जीवन अन्योलमा परेको सो गाउँपालिका विकास शाखा प्रमुख विजयकुमार लोले जानकारी दिए ।
 
दक्षिण ललितपुरमा बालबलिकाको साथै यहाँका कयौँ मानिसको जीवन अन्योलमा परेको छ । ललितपुरको छ पालिकामध्ये यी तीन गाउँपालिका दुर्गम र पहाडी क्षेत्रमा अवस्थित छन् । वर्षात्का कारण यी गाउँपालिकाका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । यहाँका सडक अबरुद्ध हुँदा यहाँको मुख्य व्यवसाय दूध र तरकारी बिक्री वितरण रोकिएको महाँकालका स्थानीयवासी दीपकप्रसाद घिमिरले जानकारी दिए ।
 
घिमिरले भने, “घरमा छोरानाति र सवारीसाधन हुनेले हिलो छिचोल्दै भए पनि आफ्ना उत्पादन बजार लगी व्यापार गरेका छन् । असार–साउनको वर्षात् कहिले पर्ने र रोकिने भई निश्चित नभएकाले पटक–पटक विद्युत् अबरुद्ध भई घर तथा चिस्यान केन्द्रमा भण्डारण गरिएका दुग्धजन्य उत्पादन खेर गएको छ । यहाँ उत्पादित तरकारी बाली नष्ट भएका छन् ।
 
यी तीन गाउँपालिकाबाट दैनिक पाँचदेखि आठ गाडी तरकारी र हजारौँ लिटर दूध उत्पादन भई बजार आउने गरेको घिमिरेले जानकारी दिए । बाढीपहिरोले गोठमा बाँधिएका पशुपक्षी पुरिँदा धेरै कृषकमा आर्थिक सङ्कट पर्दै हँुदै गएको छ । ग्रामीण सडक विच्छेद हुँदा नुन, तेललगायतका खाद्यान्न अभाव हुनुका साथै बिरामी अस्पताल पु¥याउन समस्या परेको स्थानीयवासीले दुखेसो गरेका छन् ।