पेरिस । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको मंगलवार दुई वर्ष पूरा भएको छ ।
इजरायलको दक्षिणी भागमा हमासका लडाकुहरूले लगभग १२ सयजनाको हत्या गरेका थिए भने नेपालका विपिन जोशीसहित २५१ जनालाई बन्दी बनाएका थिए ।
मारिएका वा बन्दी बनाइएका व्यक्तिको परिवारले दक्षिण इजरायलको सानो किब्बुतजिममा अनौपचारिक समारोहमार्फत यस दिनको सम्झना गर्नेछन् ।
राजधानी तेल अभिभमा चाहिँ ठूलो जुलुस निकालेर गाजामा हमासको नियन्त्रणमा रहेका बन्दीहरूको रिहाइको आह्वान गरिनेछ । मृतक तथा बन्दीको सम्झना गर्दै आधिकारिक राष्ट्रिय समारोह असोज ३० गते माउन्ट हर्ज्लमा आयोजना गरिनेछ ।
दुई वर्षअघि हमासले इजरायलको इतिहासकै सबभन्दा ठूलो आक्रमण गरेको थियो । त्यसको आघातले अहिलेसम्म पनि इजरायलीहरूलाई झस्काइरहेको छ । गाजामा बन्दी बनेका इजरायलीहरूको अनुहार छापिएका पोस्टरहरू देशका विभिन्न बस स्टेशनहरूमा टाँसिएका छन् । हमास लडाकुहरूले आगो लगाइदिएका घरमा पनि बन्दीहरूको पोस्टर टाँसिएको छ ।
गाजामा भइरहेको युद्ध अन्त्य हुने झिनो आशाका बीच यो वार्षिकी मनाइँदैछ । हमास र इजरायलका प्रतिनिधिहरू इजिप्टमा अप्रत्यष वार्ता गरिरहेका छन् । गाजामा बन्दी बनाइएका मानिसका साथै इजरायलका जेलमा कैद गरिएका लगभग २ हजार प्यालेस्टाइनी बन्दीहरूको रिहाइका विषयमा कुराकानी भइरहेको छ । त्यस्तै गाजाबाट इजरायली सैनिकहरू पछि हटाउने विषयमा पनि छलफल भइरहेको छ ।
अहिले चलिरहेको सम्झौता वार्ताले अघिल्ला युद्धविरामहरूको तुलनामा बढी आशा जगाएको बताइएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आगामी केही दिनमा बन्दीहरू मुक्त भएको घोषणा गर्न पाउने आशा गरेको बताए । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सम्झौता नभएमा हमासलाई पूरै तहसनहस बनाइदिने बताएका छन् ।
युद्धविराम हुने प्यालेस्टाइनीहरूले आशा गरिरहेका छन् । बन्दी रिहा हुने अपेक्षासहित ट्रम्पले इजरायललाई गाजामा बमवर्षा रोक्न माग गरेको भए पनि गाजापट्टिमा इजरायलले आक्रमण जारी राखेको छ । एएफपी












प्रतिक्रिया