मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

सरकारले बर्दिवास–बुटवल खण्डको रेलमार्गका लागि डीपीआरको काम थाल्ने

सरकारले बर्दिवास–बुटवल खण्डको रेलमार्गका लागि डीपीआरको काम थाल्ने


काठमाडौँ । सरकारले पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० को काम अघि बढाउने भएको छ ।
 
यस रेलमार्गमा पर्ने बर्दिवासदेखि बुटवल खण्डमा चितवन राष्ट्रिय निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्दा उपयुक्त नहुने भन्दै नयाँ डीपीआर निर्माण गर्न लागिएको हो । यस रेलमार्गमा चार वटा प्याकेजमा अध्ययन भइरहेको विभागले जनाएको छ । चारै खण्डमा अध्ययनको काम झण्डै अन्तिम चरणमा पुगे पनि बर्दिवास–बुटवाल खण्डमा पुनः अध्ययन हुँदैछ । पूर्व–पश्चिम लम्बाइ झण्डै एक हजार किलोमिटर हुने उनको भनाइ छ ।
 
पहिलो चरणमा सबै अध्ययन सकिनै लाग्दा चितवन राष्ट्रिय निकुञ्जभित्रको ‘एलाइनमेण्ट’ परिवर्तन गर्नुपर्ने भएकाले थप समय लाग्ने देखिएको रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर (प्रवक्ता) अमन चित्रकारले बताए ।
 
पहिले पथलैयाबाट माडी क्षेत्रको जंगल हुँदै रेलमार्ग निर्माणको अध्ययन गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्जभित्रबाट निर्माण गर्दा त्यसले त्यहाँका वन्यजन्तु र बोटबिरुवालाई असर गर्ने भन्दै परिवर्तन गर्न लागिएको हो । अब नयाँ ‘एलाइनमेण्ट’ अनुसार निजगढबाट हेटाँैडा हुँदै भरतपुर निस्कने गरी रेलमार्गको नयाँ डीपीआर निर्माण गर्न लागिएको छ ।
 
यस खण्डमा ‘एलाइनमेण्ट’ परिवर्तनसँगै यसको लम्बाइ केही बढी हुने अनुमान गरिएको छ । यस खण्डअन्तर्गत १०८ किलोमिटर रहेकामा १३६ किलोमिटरसम्म पुग्ने अनुमान गरिएको छ ।
 
उनले भने, ‘नयाँ अध्ययनपछि नै रेलमार्गको जम्मा लम्बाइको टुङ्गो लाग्नेछ ।’ चार खण्डमध्ये बर्दिवास पश्चिम निजगढतर्फ अध्ययन सकिएर निर्माणकै काम सुरु भइसकेको प्रवक्ता चित्रकारले बताए । यस खण्डमा आवश्यक पूर्वाधार निर्माण अघि बढेको छ । यस खण्डमा आवश्यक ‘ट्र्याक बेड’ निर्माण र सानाठूला पुल निर्माण भइरहेको छ ।
 
उनले भने, ‘आगामी वर्ष थप काम अघि बढ्ने छ ।’ रेलमार्ग निर्माणमा सबैभन्दा ठूलो समस्याका रुपमा जग्गा अधिग्रहण रहेको उनले बताए । सडकमार्ग निर्माणमा जस्तै रेलमार्ग निर्माण जग्गा अधिग्रहणका कारण काम गर्न गाह्रो भएको उनको अनुभव छ ।
 
रेलमार्गका धेरै ठाउँमा जग्गा विवाद रहेको छ । विवादरहित जग्गामा काम गर्न सहज भए पनि विवाद भएपछि काम अवरुद्ध हुने उनको भनाइ छ । उनले भने, ‘हामीले सम्बन्धित जिल्लाका प्रशासन कार्यालयमार्फत जग्गा विवाद सल्टाएर काम अघि बढाइरहेका छौँ ।’
 
यस रेलमार्गमा जग्गा प्राप्ति र अध्ययन गरेर झण्डै दुई अर्ब खर्च भइसकेको छ । जग्गा प्राप्तिसँगै यो रेलमार्ग अध्ययन सम्पन्न गर्नका लागि मात्रै सात अर्ब ७० करोड खर्च लाग्ने विभागले जनाएको छ । यो रेलमार्गमा एक किलोमिटर निर्माणका लागि झण्डै ९० अर्बसम्म लाग्ने अनुमान गरिएको छ ।
 
रेलमार्ग निर्माणमा साझेदार संस्था नहुँदा नेपाल सरकारले नै अध्ययनलगायत निर्माणको काम गरिरहेको छ । रेलमार्गमा जानकारी राख्ने व्यक्ति भए पनि दक्ष जनशक्तिको अभाव रहेको उनले बताए ।
 
उनले भने, ‘नेपालमा यसमा दक्ष जनशक्ति अभाव हुँदा हामी चिनियाँ, कोरियालीलगायतलाई परामर्शदाताका रुपमा लिएर काम गरिरहेका छौँ ।’ रेलमार्गलाई जम्मा चार भाग बनाएर डीपीआर सुरु गरिएको थियो । जसमा दुई वटा खण्डको प्रतिवेदन प्राप्त भइसकेको रेल विभागले जनाएको छ ।
 
लमही–कोहलपुर खण्ड र सुक्खड–गड्डाचौकी गरेर दुई खण्डको अन्तिम प्रतिवेदन आइसकेको छ । कोहलपुर–सुक्खड र बुटवल–लमही खण्डमा भने अध्ययन भइरहेको छ ।
 
पूर्वपश्चिम रेलमार्गको अध्ययन प्रतिवेदनमा ठाउँठाउँमा राजमार्गलगायतका सडकसँग काटिएर जाने प्रवक्ता चित्रकारले बताए । त्यस्ता स्थानमा ओभरफ्लाई वा अण्डरपासमार्फत दुवै मार्गलाई सञ्चालन गरिनेछ । एकातिर अध्ययनको काम भइरहँदा सरकारले पूर्वाधार निर्माण सकेर पहिलो चरणमा एउटा खण्डमा काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
 
पहिलो चरणममा बर्दिवास–काँकडभिट्टा खण्डमा रेलमार्गको सबै पूर्वाधार सम्पन्न गर्ने लक्ष्य रहेको छ । उनले भने, ‘यो खण्डमा सुरुआत गरेपछि नै अरु खण्डमा पनि काम अघि बढाउने लक्ष्य छ ।’ सरकारले निर्माणको योजना बनाएका विभिन्न रेलमार्गमध्ये देशभित्रै धेरै जिल्लामा फैलिएको र बढी लम्बाइको रेलमार्गका रुपमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग रहेको छ । यससँगै अन्दरदेशीय रेलमार्गको समेत अध्ययन भइरहेको छ ।
 
सन् २०१० मा भारत सरकारसँग पाँच वटा ‘नेपाल भारत अन्दरदेशीय रेलमार्ग’ निर्माणका लागि सम्झौता भएको थियो । जसमध्ये जयनगर–बर्दिवास र जोगबनी–विराटनगरको निर्माण सुरु भइसकेको छ भने अरु तीन वटा अध्ययन भइरहेको छ । सरकारले केरुङ–रसुवागढी रेलमार्ग निर्माणका लागि चीन सरकारसँग वार्ता गरिरहेको छ । रासस