मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मधेस जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रधानमन्त्री यादव

मधेस जोगाउन चुरेको दोहन बन्द गर्नुपर्छ : उपप्रधानमन्त्री यादव


जनकपुरधाम । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याएका छन् । 
 
प्रदेश नं २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि बुधबार जनकपुरधाम विमानस्थलमा आयोजित छलफल कार्यक्रममा उनले चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्दहुनु जरूरी छ भने । चुरेलाई बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उनले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नु अपरिहार्य भइसकेको बताए ।
 
सरकारको सम्पूर्णशक्ति बाढीपीडितलाई राहत उपलब्ध गराउन जुटेको बताउँदै उपप्रधानमन्त्रीले अब क्षतिको विवरण आइसकेपछि पुनःनिर्माण कार्यमा जुट्ने विश्वास दिलाए । उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकी नै रहेकाले प्रदेश नं २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको बताए ।
 
प्राकृतिक विपद्बाट जोगाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको भन्दै उनले यथाशीघ्र उद्धार र राहतका लागि प्राधिकरण गठन गर्ने कानूनी कार्यसम्पादनमा लाग्ने पनि जानकारी दिए ।
 
गृहमन्त्री रामबहादुर थापा बादलले बाढीले सबैभन्दा अधिक प्रदेश नं २ प्रभावित भएको, तीन दर्जनजति मानिसको मत्यु र अर्बौको क्षति र पूर्वाधार नष्ट भएको जानकारी दिँदै सङ्कटलाई सामना गरी उद्धारकार्य सम्पन्न गरिए पनि अब पुनःनिर्माणमा जुटेर यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताए । 
 
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्षति भइको संरचनाको पुनःनिर्माणमा बजेटको अभाव हुन नदिने बताए । चुरेको विनाशले प्राकृतिक विपद्मा वृद्धि भई मधेस नै मरूभूमि बन्ने खतरा देखिएको बताउँदै उनले पूर्वाधारको मर्मतसम्भार, तटबन्ध निर्माणतर्फ ध्यान केन्द्रित गर्नु जरूरी रहेको बताए । 
 
भारतीय पक्षबाट निर्माण गरिएका बाँधबाट उत्पन्न समस्याको समाधानबारे पहल भइरहेको बताउँदै उनले नेपालभित्र रहेका नदीको पनि राम्रोसँग तटबन्ध गर्न जरूरी रहेको उल्लेख गरे । 
 
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उत्पन्न विपद्को स्थायी समाधानका लागि संघीय सरकारको सहयोगका लागि आग्रह गरे ।
 
पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रदेश नं–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रतिनिधिसभा सदस्य अनिलकुमार झाको पनि उपस्थिति रहेको सो कार्यक्रममा प्रदेश नं–२ का मुख्यसचिव दीपक सुवेदी र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बाढीले पु¥याएको क्षति, उद्धार, राहत र आवश्यकताबारे जानकारी गराए ।