मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

मलेसियाविरूद्ध नेपालको ऐतिहासिक जित

मलेसियाविरूद्ध नेपालको ऐतिहासिक जित


काठमाडौँ । मलेसियाविरूद्धको दुई खेलेको टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले ऐतिहासिक जित हात पारेको छ । 
 
क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई छ रनले पराजित गर्दै २–० को सहज जित हात पारेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । 
 
त्यस्तै टी–ट्वान्टी सिरिजमा नेपालको यो ऐतिहासिक ‘क्लिन स्विप’ हो । यसअघि नेपालले टी–ट्वान्टी शृंखला ‘क्लिन स्विप’ गरेको थिएन । आईसीसीबाट टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो पटक युएईविरुद्वको शृंखला २–१ ले जितेको थियो । 
 
टस जितेर पहिले व्याटिङ गरेको नेपालले मलेसियालाई १७४ रनको लक्ष्य दिएको थियो । जवाफमा मलेसिया निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६७ रनमा समेटिएको थियो । 
 
मलेसियाका लागि शैयद अजिजले सर्वाधिक ५० रनको योगदान दिए भने अमिनुद्वीन रामलीले २४ तथा भीरनदीप सिंह २३ रनमा बाहिरिए । त्यसैगरी मुहम्मद रियाहदत २१, अहमेद फैज १७, शफिक शरिफ १० र अरुवर अरुद्वीन सात रनमा बाहिरिए ।
 
बलिङतर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए भने करण केसी, कप्तान पारस खड्का र अविनाश बोहराले एक/एक विकेट झारे ।
 
त्यसअघि पहिले व्याटिङ गरेको नेपालले २० ओभरमा छ विकेट गुमाएर १७३ रनको योगफल बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले अविजीत रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले । 
 
यस्तै शरद भेषवाकरले ४०, कप्तान खड्काले २३, रोहितकुमार पौडेलले १९, करण केसीले १६ तथा पवन सर्राफले १० रन जोडे । मलेसियाका मुहमद फिर्टी एक्लैले तीन विकेट लिए ।
 
आईसीसी टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली मलेसियाबाट सीधै सिंगापुर प्रस्थान गर्नेछ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकप छनोटका रूपमा रहेको एसिया कपको अन्तिम खेल आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा आयोजना हँुदैछ । 
 
प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् ।
 
नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिंगापुरसँग खेल्नेछ । 
 
उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।