काठमाडौँ । नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो ।
यसअघि सन् २०१७ मा मलेसियामा नै भएको फाइनल खेलमा नेपालले हङकङलाई नै पाँच विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।
यस जीतसँगै नेपाल यु–१९ एशिया कपमा समेत प्रवेश गरेको छ । श्रीलङ्कामा आगामी भदौ ११ गतेदेखि सुरु हुने एशिया कपमा भारत, पाकिस्तान, आयोजक श्रीलङ्का, बङ्गलादेश, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत सहभागी हुनेछन् । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको थियो ।
जवाफमा नेपालले १६ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालको जीतमा पवन शर्राफले सर्वाधिक ३९ रनको योगदान दिए । त्यस्तै रित गौतमले १३ रन जोड्दा कप्तान रोहितकुमार पौडेलले १२ तथा खड्कबहादुर बोहोराले ८ रन जोडे ।
बलिङतर्फ हङकङका रौनक कपुरले दुई विकेट लिए भने मोहमद हसन र मोहमद हसन खान एक ÷एक विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको हङकङ ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रनमा समेटिएको थियो । खराब शुआत गरेको हङकङले रनको खाता नै नखोली २ विकेट गुमाएको थियो ।
हङकङका लागि आदित गोरवाराले २४ र काल्हन चल्लुलले १९ तथा रौनक कपुरले १२ रन जोड्नेबाहेका अन्य आठ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।
हङकङलाई कमैमा समेट्ने क्रममा नेपालका सागर ढकालले घातक बलिङ गरे । दश ओभर बलिङ गरेका ढकालले ५ मेडन राख्दै १८ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी कमलसिंह ऐरीले ३ विकेट लिँदा कुशल मल्ल र तिलक राजभण्डारीले एक एक विकेट झारे ।
यसअघि भएको सेमिफाइनल खेलमा नेपाल मलेसियालाई सात विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो भने हङकङले सिङ्गापुरलाई डिएल पद्धतिका आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
प्रतिक्रिया