मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

रंगशाला निर्माणको प्रक्रिया थाल्न जिल्लावासीको आग्रह

रंगशाला निर्माणको प्रक्रिया थाल्न जिल्लावासीको आग्रह


चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया शुरु गर्न सम्बन्धित संस्थालाई आग्रह गरिएको छ ।
 
रङ्गशाला निर्माण सहयोग समिति चितवनको आज यहाँ बसेको सचिवालय बैठकले धुर्मुश–सुन्तली फाउण्डेसनलाई निर्माणको प्रक्रिया शुरु गर्न आग्रह गरेको हो । 
 
यही जेठ १५ गते रङ्गशाला निर्माणका क्रममा लगाएको बार स्थानीयले भत्काएपछि फाउण्डेसनले काम रोकेको छ । रङ्गशाला निर्माण सहयोग समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्थानीयसँग भएको विवादको टुङ्गो लागि सकेकाले फाउण्डेसनले काम अघि बढाउनुपर्ने बताए । 
 
रङ्गशाला निर्माणको काम सुरु भएसँगै आर्थिक सङ्कलनका लागि समितिले प्रक्रिया अगाडि बढाउने उनले बैठकमा जानकारी दिए । 
 
सो अवसरमा मानवअधिकार कानून तथा न्यायिक समितिका सभापति कृष्णभक्त पोख्रेलले रङ्गशाला निर्माणका लागि चितवन एकताबद्ध भएको भन्दै फाउण्डेशनलाई काममा आउन आग्रह गरे । यहाँ निर्माण हुन लागेको रङ्गशाला महानगरको मात्रै नभएर समग्र जिल्लावासीको गौरवको आयोजना भएको भन्दै उनले सबै मिलेर निर्माण सम्पन्न गर्न आवश्यक रहेको बताए । 
 
यसैगरी प्रदेश सदस्य घनश्याम दाहाल, विजय सुवेदी, कृष्ण भुर्तेललगायतले केही साना समस्या देखिए पनि अहिले वातावरण तयार भइसकेको बताउँदै फाउण्डेसनलाई काममा फर्कन आग्रह गरे । सामान्य समस्याबाट भाग्न नहुने उनीहरूको भनाइ थियो । 
 
भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरभित्र बन्न लागेको रङ्गशाला देशकै गौरवको आयोजना भएकाले जिल्लावासी एक भएर लाग्नुको विकल्प नरहेको बताए । रङ्गशाला निर्माणका लागि वातावरण तयार भइसकेको र सुरक्षाको व्यवस्थासमेत गरिएकाले कामलाई नरोक्न उनले आग्रह गरे । 
 
यस्तै रत्ननगर नगरपालिका प्रमुख नारायण वन र माडी नगरपालिका प्रमुख ठाकुर ढकालले इतिहासबाट सिक्दै भविष्यमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित हुँदै रङ्गशला निर्माणको काम गर्नु आवश्यक रहेको बताए । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण हुन लागेको रङ्गशालाका लागि जिल्लामा पाँच हजार एक सदस्यीय सहयोग समिति गठन गरिएको छ । 
 
यस्तै जिल्लाका राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालय प्रमुख, निजी क्षेत्रका व्यवसायी सङ्घ संस्थाका प्रमुख एवं प्रतिनिधि रहेको ७२ सदस्यीय सचिवालय र १३ सदस्यीय आर्थिक सहयोग समिति समेत गठन गरिएको सो अवसरमा जानकारी गराइयो । जिल्ला समन्वय समिति वा महानगरमा यसको सचिवालय सञ्चालन गरी कामलाई तीव्रता दिने डल्लाकोटीले जानकारी दिए । 
 
बैठकमा उद्योगी व्यवसायीले रङ्गशाला निर्माणका लागि निजी क्षेत्रले गरेको लगानी पारदर्शी हुने नहुनेमा चिन्ता व्यक्त गर्दै निर्माणको काम शुरु गर्न आग्रह गरेका थिए । त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा करीब रु तीन अर्ब खर्च गरेर फाउण्डेसनको अगुवाइमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।