मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

‘क्लिन फिड’ लागू गरेरै छाड्ने सरकारको दृढता

‘क्लिन फिड’ लागू गरेरै छाड्ने सरकारको दृढता


काठमाडौँ । सरकारले ‘क्लिन फिड’ नीति लागू गरेरै छाड्ने दृढता व्यक्त गरेको छ । टेलिभिजन सेवा प्रदायकले क्लिन फिड नीति लागू गर्न लागेको भन्दै टेलिभिजन प्रसारण नै बन्द गरिरहेको बेला सरकारले उक्त नीति लागू गराउन कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट पारेको हो । 
 
प्रतिनिधिसभाको समितिमा छलफल भइरहेको प्रस्तावित ‘विज्ञापन ऐन २०७६’ को केही व्यवस्थामाथि प्रश्न उठाउँदै टेलिभिजन सेवा प्रदायकले टेलिभिजन प्रसारण नै बन्द गरेर विरोध जनाएका थिए । 
 
नेपालको कला संस्कृतिको संरक्षण, भाषाको शुद्धता तथा नेपाली कलाकार र विज्ञानपन दाताको समेत हितलाई केन्द्रमा राखेर उक्त नीति लागू गर्न लागिएको सरकारको भनाइ छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त नीति लागू गरेरै छाडिने बताए । 
 
नेपालको पत्रकारिता क्षेत्र, मिडिया उद्योग, विज्ञापन व्यवसायीले वर्षौ पहिलेदेखि माग गर्दै आएको क्लिन फीड नीतिलाई सरकारले इमान्दर भएर लागू गर्न खोजेको उहाँको प्रष्टोक्ति छ । उक्त नीतिले हाम्रो आर्थिक हित मात्रै नभई मौलिकताको प्रवद्र्धन गर्ने नेपाली पन, नेपाली गौरवको बढावा दिने र रोजगारीको समेत अभिवृद्धि हुने मन्त्री बाँस्कोटाको भनाइ छ ।
 
उनले नेपालको प्रतिस्पर्धी क्षमताको विकासका लागिसमेत क्लिन फीड नीति लागू गर्न लागिएको स्पष्ट पारे । विपक्षमा रहेका व्यवसायीको विरोधको कुनै अर्थ नरहेको भन्दै उनले भने, “क्लिन फिड लागू भएर छाड्छ । समानुपातिक विज्ञापन नीति पनि लागू भएर छाड्छ । व्यवसायीले विरोध गर्न पाउँछन् । विधेयक समितिमा छलफल भइरहेको छ । पारित हुन्छ । अरु केही कानून पनि आउँछन् । कानूनहरु आउँछन् त्यसमाथि छलफल हुनु राम्रो हो ।”
 
विप्लव प्रतिक्रान्तिकारी
 
पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द समूहको क्रियाकलाप प्रतिक्रान्तिकारी र समाजको शान्ति र स्थिरता विरोधी रहेको बताए । नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त भएको उपलब्धिलाई समेत धरापमा पार्ने गरी सो समूहले हत्या, हिंसा गरेको, चन्दा आतङ्क मच्चाएको र संविधान विरोधी गतिविधि गरेको उल्लेख गरे । 
 
निर्दोष नागरिकको ज्यान जाने गरी सो समूहले संविधान विपरीतको गतिविधि गरेको र पटक पटक वार्ताका लागि प्रयास गर्दासमेत नआएको भन्दै उनले हिंसाले केही पनि प्राप्त नहुने दाबी गरे । शान्ति सुरक्षा माथि खलल पु¥याउने, शान्ति स्थिरता र  लोकतन्त्र माथि आँच आउने गतिविधिलाई नियन्त्रण गर्नु सरकारको दायित्व हुने बताए । 
 
पृथकतावादी गतिविधि गर्दै आएको सिके राउत समूहसमेत राजनीतिक मूल धारमा आई दल दर्ता गरेको सन्दर्भमा विप्लव समूह हिंसा र आतङ्कको साहरामा  अल्झिएको भन्दै त्यस्ता क्रियाकलापले कोही कसैको भलो नगर्ने स्पष्ट पारे ।
 
“विप्लव समूहको गतिविधि क्रान्तिकारी नभएर प्रतिक्रान्तिकारी गतिविधि हो । समाजवादी नभई फाँसीवाद र राजनीतिक नभएर आपराधिक खालको देखिन्छ । घटनाक्रमले त्यही पुष्टि गरेको छ ।” उनले भने ।