मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

होटल हायातका मजदूरमाथि गरिएको कारबाही फिर्ता लिन माग

होटल हायातका मजदूरमाथि गरिएको कारबाही फिर्ता लिन माग


काठमाडौँ । तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पु¥याएको भन्दै कारवाही गरेको छ । 
 
होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्वन गरेको हो । ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र बेलसम्बा लामालाई सातदिने स्पष्टीकरण सोधिएको छ ।
 
व्यवस्थापनले एकलौटी ढङ्गले मजदूर कर्मचारीमाथि कारवाही गरेको भन्दै तत्काल फिर्ता लिन आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालले माग गरेका छन् । 
 
सङ्गठनको आजै बसेको बैठकले कारवाही फिर्ताका लागि होटल व्यवस्थापनलाई एक साताको समयसीमा दिएको छ । एक साताभित्र कारवाही फुकुवा नभए कडा सङ्घर्ष गर्न बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए । 
 
कानूनमा तोकिएको सेवासुविधा माग गर्दै होटलका मजदूर तथा कर्मचारी गत जेठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका थिए । मजदूर आन्दोलनमा गएसँगै व्यवस्थापनले होटल बन्द भएको घोषणा गरेको थियो । 
 
श्रम तथा रोजगार कार्यालय टेकुले व्यवस्थापन–मजदूर विवाद समाधान गर्न मध्यस्थता गर्ने जनाएपछि आन्दोलनरत मजदूर तथा कर्मचारी यही असार ४ गतेदेखि काममा फर्किएका थिए । 
 
मजदूरलाई कारवाही गरिएको विषयमा जानकारी लिन खोज्दा होटल व्यवस्थापक सम्पर्कमा आएनन् । होटलमा रहेको सरकारी जग्गा र शेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत होटलको शेयर र जग्गा विवादका विषयमा अध्ययन गरिरहेको छ ।