मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भूकम्प प्रभावितले असारभित्र पहिलो किस्ता नलिए सूचीबाट हटाइने

भूकम्प प्रभावितले असारभित्र पहिलो किस्ता नलिए सूचीबाट हटाइने


काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान सम्झौता नगरेका लाभग्राहीलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता रकम लिन अनुरोध गरेको छ ।
 
तोकिएको समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिनुभयो । निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावित लाभग्राही सूचीमा सूचीकृत भए पनि अनुदान सम्झौता गर्न आएका छैनन् ।  
 
प्राधिकरणको तथ्यांकअनुसार आठ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये सात लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् ।
 
भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आ–आफ्नो वडा कार्यालयहरूमा सम्पर्क राख्नुपर्छ । अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीलाई असार मसान्तभित्र पहिलो किस्ताको अनुदान रु ५० हजार लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।
 
अनुदान सम्झौता गरेका सात लाख ६६ हजार ३१७ मध्ये आजसम्म सात लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम सूचीबाट हटाइने सहप्रवक्ता घिमिरेले बताए ।
 
प्राधिकरणको मापदण्डअनुसार घरको जग हालेपछि लाभग्राहीले दोस्रो किस्ताको रु एक लाख ५० हजारका लागि निवदेन दिन सक्छन् । लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन स्थानीय तहले सहयोग गर्ने प्राधिकरणले जनाएको छ ।