मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अत्यधिक गर्मी बढेपछि चितवन र हेटौँडाका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि चितवन र हेटौँडाका विद्यालय बन्द


हेटौँडा । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ । 
 
गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।
 
हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेसमध्येको सबैभन्दा चिसो शहर मानिने हेटौँडाको समेत तापक्रम बढेको हो । 
 
अहिले हेटौँडाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शून्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भीड बडेको छ । 
गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामरी खोलामा समेत पौडी खेल्न पुगेका छन् ।
 
यसैबीच, अत्यधिक गर्मी बढेसँगै भरतपुर महानगरपालिका क्षेत्रभित्र रहेका विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । महानगरपालिकाभित्रका विद्यालय असार २ गतेदेखि तीन दिनका लागि बन्द गरिएको हो । 
 
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार महानगरभित्र रहेका सामुदायिक तथा निजी विद्यालय बन्द गरिएको हो । महानगरप्रमुख रेनु दाहालले बर्खे बिदाबाट मिलान हुने गरी विद्यालय बन्द गरिएको जानकारी दिइन् । चितवनमा आइतबार ३८ देखि ४२ डिग्रीसम्म तापक्रम पुगेको थियो । तापक्रम बढेसँगै विद्यालय बन्द गर्नुपरेको उनको भनाइ छ ।