मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

जलबिरे झरनामा अब रक क्लाइम्बिङको मज्जा !

जलबिरे झरनामा अब रक क्लाइम्बिङको मज्जा !


मुग्लिन । पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको चितवनको इच्छाकामना–६ स्थित जलबिरे लामो झरनामा ‘रक क्लाइम्बिङ’ गर्न सकिने भएको छ ।
 
एसेट इन्टिग्रिटी ग्रुपको १० जनाको टोलीले चट्टान आरोहणको परीक्षण गरेका हुन् । गु्रपका प्रबन्ध निर्देशक एवं प्रशिक्षक रुद्रबहादुर गुरुङले यहाँ चट्टान आरोहण सञ्चालन गर्न सकिने बताए । आफ्नो टोलीले शनिबार सफल परीक्षण गरेको गुरुङले बताए ।  
 
गुरुङले भने, “यहाँ रक क्लाइम्बिङ सञ्चालन गर्न सकिनेछ, हामीले गत शनिबार मात्र सफल परीक्षण गरेका छौँ, यहाँ  सुरक्षाका  लागि ‘सिब्राकेट’, ‘रक एङ्गल’ र ‘मङ्की लेडर’ प्रयोग  गर्न सकिनेछ भने ढुङ्गा झर्ने  समस्या रोक्न ‘रक नेट’को प्रयोग गर्न सकिनेछ ।” बालबालिकाको मनोरञ्जनका लागि छुट्टै क्यानोनिङको व्यवस्थासमेत गर्न सकिने बताइएको छ ।   
 
जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जलबिरे झरनाको विकासका लागि जिल्ला विकास समिति हुँदादेखि नै विभिन्न काम हँुदै आएको र अहिले समन्वय समितिले प्रदेश सरकारसँग पूर्वाधार निर्माणका लागि पहल गरिरहेको बताए । चट्टान आरोहण सञ्चालन गरेपछि पर्यटकको आवागमन बढ्नेछ । गर्मी बढेसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा बढेको जलबिरे लामो झरनाका अध्यक्ष  देवकुमार गुरुङले बताए ।    
 
इच्छाकामना ब्रोडकास्टिङ मिडिया प्रालिले एक वर्षदेखि घुमौँ इच्छाकामना अभियान सञ्चालन गरिरहेको छ । यस अवसरमा जलबिरे झरनामा चट्टान आरोहणको परीक्षण गरिएको हो । सो झरनामा पर्यटक आकर्षित गर्न के कस्ता सम्भावना छन् भनेर पत्ता लगाउन उक्त आरोहणको परीक्षण गरिएको इच्छाकामना घुमाँै अभियानका चित्रबहादुर गुरुङले बताए ।
 
गुरुङका अनुसार यसअघि  झरनाको तल्लो भागमा मात्र क्यानोनिङ गरिँदै आएको थियो । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ । यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ ।     
 
यहाँ विसं २०६९ देखि पर्यटन विकास सुरु भएको हो । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । साठी मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । झरनामा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबिरेबाट आधा घन्टा हिँडेर वा सवारीसाधनबाटै पनि पुग्न सकिन्छ ।