मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अण्डा उत्पादक संघमा विवाद, ९५ प्रतिशतले अविश्वास गरेपछि अध्यक्षले दिए राजीनामा

अण्डा उत्पादक संघमा विवाद, ९५ प्रतिशतले अविश्वास गरेपछि अध्यक्षले दिए राजीनामा


चितवन । नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले अराजक समूहले संघको १५ औं वार्षिक साधारणसभा बिथोलेको बताएका छन् ।
 
शुक्रबार भरतपुरमा पत्रकार सम्मेलन गरी अध्यक्ष कँडेलले हुलहुज्जत र होहल्ला गरी जबर्जस्ती ढंगले स्टेज कब्जा गरी साधारण सभा बिथालेको बताए । 
 
उनले भने, ‘संघका केही आधिकारिक सदस्यहरुले गैरसदस्यहरुको भीड जम्मा गरी संस्थाको विधि र प्रक्रिया विपरीत साधारण सभा बिथोल्नु भयो, घटनामा संलग्नहरुको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न जोडदार माग गर्दछु ।’
 
अध्यक्ष कँडेलले साधारण सभा प्रारम्भ नै नभई बिथोलिएकोले वर्तमान कार्यसमितिले निर्णय गरी नयाँ मितिमा वार्षिक साधारण सभा गरिने जानकारी दिए । 
 
उनले पटक–पटक सदस्यता नवीकरणका लागि आग्रह गर्दा पनि आधाजति सदस्यले मात्रै नवीकरण गरेको बताए । संघमा गतवर्ष ४०० सय सदस्य रहेकोमा २२७ जनाले मात्रै नवीकरण गरेको जानकारी दिए ।
 
उनले निवर्तमान अध्यक्ष शिवराम केसी नेतृत्वको केही समूहले साधारण सभा बिथोलेको आरोप लगाए । ‘हामीले बैठकमा बोलाउँदा कहिल्यै आउनु भएन, बाहिरबाहिर ग्रुप बनाउँदै हिँडेर साधारण सभा नै भाँड्नु भयो ।’
 
केसीले दुई कार्यकाल संघको नेतृत्व गरेका थिए । उनी हाल निवर्तमान अध्यक्ष हुन् । कार्यसमितिको बैठकमा जानुपर्ने कर्तव्य हुन्छ । तर नयाँ नेतृत्व चयन भएपछिको एउटा बैठकमा पनि उपस्थित नभएको कँडेलले बताए ।
 
यसैबीच, नेपाल अण्डा उत्पादक संघका अध्यक्ष कँडेलले राजीनामा दिएका छन् ।
 
सौराहामा आयोजित १५औँ वार्षिक साधारण सभामा बहुमत सदस्यले अविश्वासको प्रस्ताव पेश गरेपछि अध्यक्ष कँडेलले डेढ वर्ष कार्यकाल बाँकी छदै राजीनामा दिन बाध्य भएका हुन् । 
 
पछिल्लो समय अण्डामा व्यापक गिरावट आएपछि अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ९५ प्रतिशत सदस्यहरुले हस्ताक्षर संकलन गरेका थिए । 
 
साधारण सभा सुरु भएलगत्तै अण्डा उत्पादक किसान गोविन्द शर्माले अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए । लगत्तै अध्यक्ष कँडेलले वर्तमान कार्यसमिति र निवर्तमान अध्यक्षबाट सहयोग नपाएको गुनासो गर्दै सदस्यहरुको प्रस्तावलाई समर्थन जनाउँदै आफू अध्यक्ष नरहेको घोषणा गर्न बाध्य भए । 
 
किसानहरुले अध्यक्षविरुद्ध अण्डाको मूल्य गिरावट आउँदा समायोजनका लागि पहल नगरेको, संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न नसकेको, राज्यसँग लविङ गर्न नसकेको आरोप लगाएका छन् । 
 
वर्तमान अध्यक्ष कँडेलको राजीनामापश्चात् किसानहरुले निवर्तमान अध्यक्ष शिवराम केसीलाई अध्यक्ष बनाएका छन् ।