मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

राष्ट्रिय ए…कता ?

राष्ट्रिय ए…कता ?


कुर्सी यता, कमिसन यता
मुलुक डुबाउने मिसन यता
अदालत मालपोत र भन्सार यता
जाँडपानी र जुवातासको संसार यता
यता हो यता !
 
राष्ट्रिय एकता यता
ओए लक्ष्मण गाम्नागे, 
कलेटी परेका ओठ चाट्तै
काखीमा छेरपाटे लागेको छोरो च्यापेर कता ?
 
बडेबडे भुँडीहरू यता 
भुँडीहरूको मिटिङ यता
सिटिङ, इटिङ एण्ड ड्रिङ्किङ यता
तेरो अनुहार देखिने कार यता
चौरासी व्यञ्जनको खार यता
अमेरिका यता, जापान यता
डलरमा पोक्याएको मीठा पान यता
यता हो यता 
राष्ट्रिय एकता यता !
 
ओए लक्ष्मण गाम्नागे,
हनुमान कट्टु हावामा हल्लाउँदै
मट्टितेलको रित्तो ग्यालिन बोकेर कता ?
 
राम यता, विभीषण यता
मान अलङ्कार र विभूषण यता
दरबार यता, तरबार यता
भ्रष्ट शिरोमणिहरूको घरवार यता
पुरानो सत्ता यता, नयाँ सत्ता यता
दुवै सत्ताको साझा तलब भत्ता यता
झण्डा यता, डण्डा यता 
सुनचाँदीका अण्डा यता
यता हो यता 
राष्ट्रिय एकता यता !
 
ओए लक्ष्मण गाम्नागे,
पञ्चरङ्गी जुँगामा ताउ लगाउँदै 
सुकेनास लागेकी स्वास्नीको हात समातेर कता ?
 
(सिस्नुपानी नेपालका अध्यक्ष गाम्नागेले यस्तै तिखा हास्य व्यङ्ग्य लिएर अप्रिल १३ तारिक डालसमा विशेष कार्यक्रमबीच प्रस्तुति दिदैछन् ।)