काठमाडौँ । राजधानीको गोकर्णेश्वर–५ स्थित नयाँ बस्ती युवा क्लबले ११८औँ देवकोटा जयन्ती एवं क्लबको ४०औँ वार्षिकोत्सवको अवसरमा विगतमा झैँ यो वर्ष पनि स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ ।
आगामी कात्तिक २२ मा लक्ष्मी पूजाको अवसरमा क्लब प्राङ्गणमा कार्यक्रम गरी प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र निर्मल अर्याललाई सम्मान गर्न लागिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिए । प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई ५१ हजार रुपैयाँ राशीसहितको सम्मान अर्पण गरिने क्लबका सचिव रामचन्द्र दंगालले बताए ।
साथै, समाजसेवी एवं युवा सर्जक निर्मल अर्याललाई २५ हजार रुपैयाँसहित सम्मान गर्न लागिएको हो । कार्यक्रममा प्रमुखअतिथिको रुपमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति डाक्टर गंगा उप्रेती र विशिष्टअतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसाल सहभागी हुनेछन् ।
कार्यक्रमअघि क्लब प्राङ्गणमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको शालिकमा प्रमुखअतिथि, विशेषअतिथि, सम्मानित स्रष्टाहरू, क्लबका पदाधिकारी, साहित्यिक संघसंस्थाका प्रतिनिधिहरूसहित सर्वसाधारणबाट माल्यार्पण गरिने क्लबले जनाएको छ ।
मुलुककै एक क्रियाशील क्लबको रुपमा पहिचान बनाएको नयाँ बस्ती युवा क्लबले समाजसेवा, साहित्य, खेलकुद, स्वास्थ्य लगायतका विधामा लामो समयअघिदेखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।













प्रतिक्रिया