बिजनेस/ इकोनोमी

सुधीर बस्नेतको भेगास अपार्टमेन्ट लिलामी गरी पीडितको पैसा फिर्ता गरिने

सुधीर बस्नेतको भेगास अपार्टमेन्ट लिलामी गरी पीडितको पैसा फिर्ता गरिने


काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको ललितपुरको बालकुमारीमा रहेको निर्माणाधीन भेगास सिटी अपार्टमेन्ट लिलामी हुने भएको छ ।
 
समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नतेको भेगास सिटी अपार्टमेन्टलाई लिलामी प्रक्रियाबाट बिक्री गरी पीडितको पैसा फिर्ता गर्ने निर्णय गरेको हो । 
 
समितिका अध्यक्ष युवराज सुवेदीले बस्नेतले आफैं बनाउनका लागि समितिमा बुझाएको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) कानुनसम्मत नभएको र आयोजना निर्माण गर्ने उनको नियत नदेखिएको निष्कर्ष निकाल्दै समितिले लिलामी गर्ने निर्णय गरेको छ ।
 
‘हामीले सुधीरलाई भेगास सिटी बनाउने हो भने ग्यारेन्टी दिएर बनाऊ भन्यौं, तर उनले ग्यारेन्टी दिन चाहेनन्,’ सुवेदीले भने, ‘उनको नियत भेगास सिटी बनाएर पीडितको पैसा फिर्ता गर्ने देखिँदैन । त्यसैले अधिकारसम्पन्न यो समितिले लिलामीमा बिक्री गरेर आएको पैसा पीडितलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाएका हौं ।’
 
सहकारी ऐन, २०७४ को दफा १०६ बमोजिम कब्जामा लिई लिलाम बिक्रीसमेत गरी सोही ऐनको दफा १०८ बमोजिम ओरेण्टल कोअपरेटिभ लिमिटेडका पीडितहरुलाई दायित्व भुक्तानी गर्नेसम्बन्धी व्यवस्था मिलाउनुपर्ने देखिएको सुवेदीले जानकारी दिए । 
 
आगामी केहीदिन भित्रै लिलामीको सूचना निकाल्ने सुवेदीले उनले बताए । बस्नेतले सहकारी, हाउजिङ, बैंक वित्तीय संस्था र सरकारलाई करसमेत गरी १६ अर्ब रुपैयाँ तिर्नुपर्ने देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
 
समितिसमक्ष पेस भएको तथ्यगत विवरणबाट, कोहिनुर हिल हाउजिङ्ग प्रालि अन्तर्गतको ललितपुर जिल्ला, साविक इमाडोल गाउँ विकास समिति हालको महालक्ष्मी नगरपालिका वडा नं २ मा रहेको निर्माणाधिन भेगाससिटी अपार्टमेन्टसमेत सहकारी ऐन, २०७४ को दफा १०६ को ठ र ढ बमोजिम कब्जामा लिई लिलाम बिक्रीसमेत गरी सोही ऐनको दफा १०८ बमोजिम ओरेण्टल कोअपरेटिभ लिमिटेडका पीडितहरुलाई दायित्व भुक्तानी गर्नेसम्बन्धी व्यवस्था मिलाउनुपर्ने देखियो भनिएको छ ।

शेयर गर्नुहोस:

0
Shares