१
दाबी गर्छ अहो निशाचर यहाँ ल्याएँ बिहानी भनी
चट्टै पार्छु फुकेर रोग सजिलै भन्छन् खरानी पनि
ताली छन् अझ उफ्रदै सँगसँगै बेछन्द बेकारको
स्रष्टा बन्दछु भन्छ आज पहिरो समृद्ध नेपालको ।
२
उस्तै छन् जनका नयाँ दिनहरु झेला झमेला बढे
ती राम्रा जनशक्ति शिक्षित सबै बेरोजगारी भए
हल्ला मात्र भए र काम नभए हल्लै छ बेकारको
आशा गर्नु छ व्यर्थ भाषण सुनी समृद्ध नेपालको ।
३
खुनीका शिरमा छ दाग खुनको मेटेर मेटिन्छ र ?
हत्केलो जति नै भए पनि ठूलो के सूर्य छेकिन्छ र ?
पेसा सुन्दर राजनीति बलियो यो देश व्यापारको
कुवाभित्र लुकेर बोल्छ कछुवा समृद्ध नेपालको ।
४
पर्दा लास उठाउने समयमा छैनन् मलामी तर
हाम्र ज्वानहरु पलायन भए छन् गाउँ रित्तो घर
गाईको छ बिजोक संकट अहो खाँचो छ गोपालको
व्याधा बाहक लौन बन्छ कसरी समृद्ध नेपालको ?
५
बाँझै छन् सब फाँट, खेत र गरा झुल्दैन बाली पनि
राजा छौँ जलश्रोतमा तर यहाँ बल्दैन बत्ती पनि
बाटो छैन पहाड दुर्गम तिरै गर्छन् कुरा रेलको
माग्नेले पनि आज बाँड्छ सपना समृद्ध नेपालको
६
तिर्खाएर रुँदै छ राज नगरी बन्दैछ काकाकुल
चल्दैछन् जलयानका गफहरु चढ्दैछ माछो पुल
द्वन्द्वैद्वन्द्व भयो अहो भुवनमा आस्था छ दिक्पालको
नेपाली जनचाह पूर्ण अब होस् समृद्ध नेपालको !
प्रतिक्रिया