आउँ एउटा इट्टा थप गारो बन्नुपर्छ,
तिर्खाउँदा प्यास मेट्ने धारो बन्नुपर्छ ।
देखाउनु छ एकता, संस्कृति र धरोहर,
मन्दिरमात्र होइन शीतल चौतारो बन्नुपर्छ ।
ड्यालस (टेक्सस) – शनिबार साँझ ड्यालसको युलेसमा भव्य नेपाली मन्दिर बनाउने छलफल भैरहँदा मञ्चको एउटा कुनामा बसिरहेका गजलकार बासुपुष्पा अधिकारीले यसरी गजल रचना गरिहाले । उनले कार्यक्रमको अन्तिम प्रहरमा गजलको यो एक पाउ सुनाइरहँदा सहभागीहरुले वाहवाह र तालीले हल गुञ्जिएको थियो ।
कार्ययोजना अनुसारनै काम हुन सकेमा अबको अढाई वर्षभित्रै नेपाली समुदायले गर्व गर्न लायक मन्दिर अमेरिकाको ड्यालसमा तयार हुनेछ । यही मन्दिर निर्माणका लागि सहयोग जुटाउनका लागि शनिबार कार्यक्रम राखिएको थियो ।
ड्यालसको युलेस सिटीमा ४५ लाख डलरको लागतमा पशुपतिनाथ र बुद्धका मन्दिरहरु अलग अलग संरचनामा बन्दैछन् । त्यतिखेर अमेरिकाका ५० वटै राज्यमा बसोबास गरिरहेका नेपाली समुदायका निम्ति ड्यालसको नेपाली मन्दिर ठूलो तीर्थस्थलको रुपमा चिनिने संभावना बढेको छ ।
आउँदो दशैंको शूभसाइतमा जग खनेर मन्दिर निर्माणको काम सुरु गरिने जानकारी शनिबार आयोजित कार्यक्रममा दिइएको छ । तर त्यसका लागि तत्काल १४ लाख डलर आवश्यक पर्ने नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले जानकारी दिए ।
लक्ष्य अनुसार रकम जम्मा गर्न सकेमा मात्र बैंकिङ प्रकृया पुरा गरेर जग खन्न सकिन्छ । ठूलो मन्दिर चाँडो अावश्यक परेकोले सकेसम्म छिटो सहयोगदातासम्म पुगेर सहयोग संकलन गर्ने योजनामा नेपाली समुदायका अग्रणीहरू छन् ।
अर्भिङमा रहेको मन्दिर साँघुरो भएको महसुस भएपछि नेपाली समुदायले दुइ चरणमा गरेर ६ दशमलव ५ एकड (२.६३ हेक्टर) जग्गा किनिसकेका छन् । यो जमिनमा अब अत्याधुनिक वास्तुकला सहितको पशुपतिनाथ र बुद्ध मन्दिर बनाउने तयारीमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अघि सरेको छ ।
‘अहिलेको मन्दिर भएको ठाउँ साँघुरो महसुस भएको छ, सबैभन्दा ठूलो समस्या पार्किङकै छ,’ केन्द्रको बोर्ड अफ ट्रस्टीका अध्यक्ष अर्यालले नयाँ मन्दिरको आवश्यकता माथि प्रकाश पार्दै भने । ड्यालस/फोर्टवर्थ क्षेत्रमा नेपालीहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । त्यसले गर्दा पनि अहिलेको मन्दिरको संरचनाले धान्न नसक्ने अवस्था भएकोले नयाँ मन्दिर बनाउनेतिर समुदाय अग्रसर भएको छ । नयाँ मन्दिरलाई अमेरिकामा रहेका नेपाली समुदायले हालसम्म बनाएकोमध्यकै सबैभन्दा उत्कृष्ठ वास्तुशैलीमा निर्माण गर्ने रणनीति लिएका छन् ।
‘यो मन्दिरलाई हामीले अमेरिकामा रहेका नेपालीहरुका लागि वनारस, हरिद्वार जस्तै बनाउने उद्वेश्य लिएका छौँ,’ ट्रस्टीका उपाध्यक्ष मनोज सिग्देलले भने ।
अर्भिङको मन्दिरले अहिले दिनहुँ सवारी साधन पार्किङको समस्यासँग जुध्नु परिरहेको छ । हरेक आइतबार मन्दिरमा गाडी पार्किङ गर्ने स्थान नपुगेर भक्तजनहरु टाढा पार्किङ गरेर मन्दिरसम्म हिँडेर आउनुपर्ने वाध्यता छ । यही वाध्यतालाई अवसरका रुपमा लिएर नयाँ मन्दिर निर्माणको योजनामा नेपाली समुदाय अघि बढेको छ । अहिले बढीमा एकसय गाडीमात्र पार्किङ गर्न सकिन्छ । नयाँ बन्ने मन्दिरमा तीनसय गाडीसम्म पार्किङ गर्न मिल्नेगरि डिजाइन गरिएको छ ।
मन्दिर दर्शनका लागि आउनेहरु व्यक्तिगत गाडीमै आउने भएकाले जनैपूर्णिमा, ऋषिपञ्चमी, बडादशैं, हरिशयनी एकादशी, बुद्ध जयन्ति लगायतका पर्वहरुमा पार्किङको निकै ठूलो समस्या पर्दै आएको छ ।
प्रस्तावित मन्दिरमा पशुपतिनाथ मन्दिर, बुद्ध स्तुपा अलग हुनेछन् । स्तुपासँगै ध्यान केन्द्र पनि हुनेछ । जहाँ शान्तिपुर्ण वातावरणमा ध्यान, योगा शिवीर समेत चलाउन सकिनेगरि डिजाइन भएको जनाइएको छ । अहिले पशुपतिनाथ तथा बुद्धको मुर्ति सँगै छन् ।
यसका अतिरिक्त नयाँ प्रस्तावित मन्दिरमा दुईवटा हवन कोठा, भजनका लागि छुट्टै हल, अन्य देवीदेवताका मूर्तिहरु सहितको मुख्य मन्दिर, ६ वटा कक्षाकोठा, पण्डित तथा व्यबस्थापकको निम्ति दुईवटा आवासगृह, चारसय जनाले एकैपटक खाना खानसक्ने क्षमताको क्याफटेरिया, भलिबल तथा बास्केटबल कोर्ट समेत हुनेछन् । बालबालिकाहरुका लागि खेल्ने ठाउँ पनि नयाँ मन्दिरमा रहनेछन् ।
यो मन्दिरमा एकैपटकमा पाँचवटा बिहे, ब्रतबन्ध जस्ता सामाजीक कार्यहरु समेत गर्न सकिन्छ । अहिले एकै पटकका दुईवटा बिहे वा ब्रतबन्ध गर्न समेत बडो मुस्किल पर्ने गरेको अनुभव मन्दिर व्यबस्थापनको छ ।
ड्यालस÷फोर्टवर्थ लगायत आसपासका क्षेत्रमा झण्डै ३५ हजार नेपालीको बसोबास रहेको अनुमान छ । अमेरिकाको अन्य ठाउँको दाँजोमा कम मूल्यमै घर पाइने, रोजगारीमा सहजता, नेपाली समुदायको बाक्लो उपस्थिती, कुनै समस्या पर्दा सहज अवस्थाले गर्दा वर्षेनी नेपालीको संख्या डिएफडब्लुमा बढ्दो छ । नेपालीको संख्या बढेसँगै ६ वर्ष अघि स्थापना भएको मन्दिर साँघुरो हुन पुगेको हो ।
मन्दिरमा हरेक आइतबार हुने पूजामा कम्तिमा दुईसयको उपस्थिती हुन्छ । बालबालिकाका लागि कक्षा समेत सञ्चालन हुँदै आएको छ । त्यस्तै हप्तैपिच्छे बिभिन्न कार्यक्रमहरु पनि हुन्छन् । जसले गर्दा अहिले मन्दिरको अहिलेको संरचना साँघुरो भएको छ । मन्दिरमा हुने बिबाह, ब्रतबन्ध जस्ता सामाजीक कामका लागि समेत स्थानको अभाव हुँदै आएको छ ।
‘मन्दिरमात्र होइन, हामीले बनाउन चाहेको हाम्रो समुदायका सदस्यका लागि जन्मेदेखि मृत्युसम्म आवश्यक पर्ने सबै प्रकारका कर्मकाण्ड गर्न मिल्ने सामुदायिक भवन हो । त्यसका लागि हामीले सबैको सहयोग अपेक्षा राखेका छौँ,’ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष पोखरेलले भने ।
मन्दिरलाई सामुदायिक भवनका रुपमा समेत विकास गर्ने लक्ष्य लिइएको छ । भलिबल र बास्केटबल कोर्ट समेत रहनेगरि डिजाइन गरिएकोले बिहानदेखि बेलुकीसम्मै समुदायका बिभिन्न उमेर, वर्गका व्यक्तिका लागि सबै प्रकारका सुविधा राखिनेछ ।
नयाँ मन्दिर आउँदो ५० वर्षसम्मको आवश्यकतालाई थेग्ने हिसाबले निर्माण हुनेछ ।
लगानी र स्रोतः
नयाँ मन्दिर बनाउनका लागि ४५ लाख डलर आवश्यक पर्ने अनुमान गरिएको छ । यसमध्य पहिलो चरणमा ३० लाख डलर लगानीमा मुख्य मन्दिर भवन, दुईवटा हवन कक्ष, भजन तथा पूजा हल, रिसेप्सन लबी, मुख्य कार्यालय र क्याफ्टेरिया बन्नेछन् । दोस्रो चरणमा भने १५ लाख डलरमा पशुपतिनाथ मन्दिरको छाना र बुद्ध स्तुपा निर्माण हुनेछन् ।
प्रस्तावित मन्दिरका बारेमा स्थानीय समुदायलाई जानकारी दिने र आर्थिक स्रोत जुटाउने उद्वेश्यले नेपाली सांस्कृतिक तथा आधयात्मिक केन्द्रले शनिबार युलेसमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
सो अवसरमा केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, मन्दिर बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्याल, उपाध्यक्ष मनोज सिग्देल लगायतले वस्तुस्थितीका बारेमा जानकारी दिएका थिए ।
मन्दिर सञ्चालक समितिले निर्माण खर्चका आवश्यक सहयोग जुटाउन तीनसय जना संस्थापक सदस्य, १८ जना बोर्ड अफ ट्रस्टी, ५ जना संरक्षक र १० जना वरिष्ठ बोर्ड अफ ट्रस्टी सदस्य थप गर्ने योजना बनाएको छ । त्यसबाट १४ लाख डलर संकलन गरेर भव्य मन्दिर बनाउने लक्ष्य लिइएको छ ।
शनिबारको कार्यक्रममा ८० जनाले संस्थापक सदस्य हुने इच्छा दर्शाएर प्रतिवद्धता जनाएका छन् । २ लाख ४० हजार डलरको प्रतिवद्धता व्यक्त भएको छ ।
यस्तो कार्यक्रम अझै दुई, तीन चरणमा गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । जसबाट मन्दिरको संस्थापक सदस्य हुन इच्छुक, सहयोग गर्न चाहनेहरुलाई अवसर प्रदान गरिने छ ।
शनिबारको कार्यक्रममा बोर्ड अफ ट्रस्टीका पूर्व अध्यक्षहरू डा. मुरली अधिकारी, रमेश पोखरेल, समाजसेवी शैलेशराज अाचार्य, धनञ्जय ढकाल, जीवन जोशी लगायतले नयाँ मन्दिरको अावश्यकता र अाैचित्यका बारेमा प्रकाश पारेका थिए ।
सहयोग गर्नेहरुको उत्साह देखेर कार्यक्रमको मैजारो गर्दै अर्का चर्चित गजलकार पवन लामिछानेले गजलको एक पाउ रचेर सुनाइहाले–
घर बनाउनु छ चोखो शरिर बनाउनु छ,
मुटुभित्र मेरो देशको तस्वीर बनाउनु छ ।
दुनियालाई देखाउन हाम्रो आस्था हाम्रो धर्म,
यो शहरमा अर्को एउटा मन्दिर बनाउनु छ ।
प्रतिक्रिया