हिमालयखबर संबाददाता
युलेस (अमेरिका) – भरखरै विश्वविद्यालयबाट मास्टर्स डिग्री समाप्त गरेकी नेपाली चेली आइशा ओझाले अमेरिकी राजनीतिको यात्रा सुरु गरेकी छिन् । उनले स्वतन्त्र स्कुल क्षेत्र अन्तरगत हस्र्ट–युलेस–बेडफोर्डको बोर्ड अफ ट्रस्टी (व्यबस्थापन समिति) मा उम्मेदवारी दिने भएकी छिन् । उनको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीले समर्थन र सहयोग गर्ने भएको छ ।
शनिबार बेडफोर्डका फिस्टेल नेपाली रेस्टुँरामा आयोजित विशेष कार्यक्रममा अमेरिकी तथा नेपाली समुदायबीच उनले आफ्नो उम्मेदवारीका विषयमा प्रष्ट पारेकी छिन् । ‘यो क्षेत्रमा रहेका धेरै स्कुलहरुमा नेपाली समुदायका धेरै बालबालिकाहरु अध्ययरत छन्, उनीहरु भविष्यमा हाम्रो समुदायका गहना हुन् । उनीहरुले पाइरहेको शिक्षाप्रति चासो राख्दै स्कुल बोर्डमा गएर सेवा गर्ने मेरो चाहना हो,’ उनले भनिन् । उनले स्कुलको सिस्टम सुधार, शिक्षकहरुको सुविधा वृद्धि लगायतमा आफुले ध्यान दिने बताइन् ।
युलेस सबैभन्दा बढी नेपालीहरुले घर किनेर बस्न रुचाउने टेक्ससको सिटी हो । उनले स्कुलक्षेत्र मार्फत राजनीतिमा प्रवेशलाई ‘लर्नर्स टुडे’ को संज्ञा दिदै ‘लिर्डर्स टुमारो’ को रुपमा आफू अघि बढ्ने घोषणा गरिन् । सन् २००८ मा अमेरिका आएर यहाँको सार्वजनिक र चार्टर्ड स्कुलबाट विद्यालय शिक्षा हासिल गरेर उनले यसै वर्षमात्र युनिभर्सिटी अफ टेक्सस आर्लिङगटनबाट मास्र्टर्सको अध्ययन पुरा गरेकी हुन् । उनी प्रवासी मञ्च अमेरिकाका नेता कमल अोझाकी छोरी हुन् ।
ओझाको उम्मेदवारीलाई डिएफडब्लु डेमोक्रेटिक पार्टीका काजी चौधरी, टेक्सस डेमोक्रेटिक एक्ज्युकेटिभ कमिटीका मोहम्मद इमाद सलेम, ब्रायन पेट्रिक, शैयद फियाज हसन, हिदर बन लगायत नेताहरुले हौसला दिँदै शूभकामना दिएका थिए । वक्ताहरुले युलेसमा ५० प्रतिशत आप्रवासी भएपनि स्कुलक्षेत्रमा एकजना पनि युलेसका बासिन्दा नभएको उल्लेख गर्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
केही महिना अघिको मेरिल्याण्ड राज्य विधान सभा निर्वाचनमा नेपालीमुलका ह्यारी भण्डारीले विजय हाँसिल गरेर इतिहास रचेका थिए । अन्य धेरै स्थानमा नेपालीहरुले उम्मेदवार भएर र विजयी भएर इतिहास रचेका छन् । युलेसको स्कुलक्षेत्रमा आयसाको उम्मेदवारीले पनि यस्तै इतिहास रच्ने विश्वास नेपाली समुदायले लिएका छन् ।
कार्यक्रममा नेपाली समुदायका अग्रणीहरु डा. मुरली अधिकारी, डा. प्रेम अधिकारी, शैलेश आचार्य, प्रभात दीक्षित, डा. अर्जुन बञ्जाडे, विनय अर्याल, सुमन थापा,उत्तम लामिछाने, सतिशकुमार ओझा, सुरेश पोखरेल, सुरज पौडेल, दिनेश शर्मा, तारा भुसाल, मकर स्वाँर, कमल ओझा, कपिल अधिकारी, बासु श्रेष्ठ, प्रदीप तिम्सिना, छबी चापागाई, शैलेन्द्र मानन्धर, कृष्ण भण्डारी, सरिता चौलागाई, केदार तिम्सिना, भुवन अधिकारी लगायतको सकृय सहभागिता थियो ।
नेपाली समाज टेक्ससकी महिला संयोजक श्रद्धा श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा आयसाका बारेमा विद्यार्थी तुलसी लोहनी, नेपाली समुदायलाई अमेरिकी मुलधारको राजनीतिमा उत्पे्ररणा दिँदै आएका प्रभात दीक्षित लगायतले मन्तव्य राखेका थिए ।
बिभिन्न सामाजीक काममा सकृय ओझा नेपालका लागि पूर्ब अमेरिकी राजदूत स्कट डेलिसीको सकृयतामा स्थापित सोरवे फाउण्डेसनको गुडविल एम्बेसडर पनि हुन् । बिभिन्न सामाजीक कार्यहरुमा उनी अति सकृय छिन् ।
अमेरिकी मुलधारको राजनीतिमा उनको यात्रालाई लिएर नेपाली समुदायले निकै खुशी व्यक्त गरेका छन् । झण्डै २३ हजार विद्यार्थीहरु हस्र्ट–युलेस–बेडफोर्ड स्कुल डिस्ट्रिक्ट अन्तरगत अध्ययत गर्छन् । आयसा स्कुल डिस्ट्रिक्टको प्लेस नं. ७ को लागि उम्मेदवार भएकी हुन् । सो पदमा हाल कायरत फ्रेड क्याम्पोसको म्याद समाप्त हुन लागेको छ ।
यसरी हुनसक्छ उनको जीतः
स्कुल डिस्ट्रिक्टको चुनाव आउँदो मे महिनामा हुँदैछ । यो चुनावमा तीनवटै सिटीमा बसोबास गर्ने, मतदाता नामावलीमा दर्ता भएकाहरुले मतदान गर्न पाउँछन् ।
अमेरिकी नागरिकता लिइसकेका नेपालीहरुले मतदाता नामावलीमा नाम दर्ता गराएर र चुनावको दिनमा भोट दिन गएर आयसालाई मतदान गरेमा सहयोग हुनेछ । जसबाट नेपाली समुदायले आफ्ना बालबालिका कसरी र कुन रुपमा अध्ययन गरिरहेका छन् ? कुन स्कुलको अवस्था के छ ? सरकारले शिक्षा क्षेत्रमा कसरी खर्च गरिरहेको छ ? भन्ने बारेमा जानकारी पाउन सक्नेछन् ।
अहिले अधिकांश अभिभावकहरुलाई आफ्नो छोराछोरी पढ्ने स्कुलको अवस्था, सिस्टमका बारेमा जानकारी छैन । आइशा बिजयी हुन सकिन् भने यी जानकारीहरु सहजै प्राप्त हुनेमात्र नभै कुनै पनि समस्या उनी मार्फत स्कुलमा पु¥याउन सहज हुनेछ ।
उनलाई जिताउनका लागि प्रचार प्रसार व्यापक रुपमा गर्नुपर्ने हुन्छ । त्यसका लागि आर्थिक सहयोगदेखि लिएर स्वयम्सेवा पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि उनले नेपाली समुदायसँग आवश्यक सहयोग, सल्लाहको अपेक्षा गरेकी छिन् ।







प्रतिक्रिया