मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

कसरी ट्याक्स फाइल गर्दा भविष्यमा झण्झट पर्दैन ?

कसरी ट्याक्स फाइल गर्दा भविष्यमा झण्झट पर्दैन ?


हिमालयखवर संवाददाता 
टेक्सस (अमेरिका) । अघिल्लो बर्षका तुलनामा सन् २०१८ मा अमेरिकी कर कानुनमा व्यापक परिवर्तन भएको छ । यसले कर दाखिला (ट्याक्स फाइल) मा के असर पार्छ ? अमेरिकामा कर लगायत लेखा सम्वन्धि विभिन्न परामर्श दिदैं आउनु भएका सीपीए भिम कार्की भन्नुहुन्छ–‘सन् २०१८ मा कर लाग्ने आयको सीमा फरक परेको छ, व्यक्तिगत करदाताले कट्टा गर्न पाइने स्ट्याण्डर्ड डिडक्शन दोब्बर भएको छ, करदाताको व्यक्तिगत र ब्यवसायले तिर्नुपर्ने करका दर पहिले भन्दा कम भएका छन । आइटमाइज्ड डिडक्शनका सीमाहरु पनि फेरिएका छन ।
 
कर कट्टा र फिर्ताः
 
कार्कीका अुनसार अहिले व्यक्तिगत एकल करदाताले १२ हजार डलर सम्मको आम्दानीका कर तिर्नु पर्दैन । पहिलो यो सीमा ६ हजारमात्र थियो । यसर्थ १२ हजार सम्म आम्दानी हुने एकल करदाताले महिनै पिच्छे काटेको फेडरल कर फिर्ता पाउँछ । त्यसैले १२ हजार भन्दा कम आम्दानी हुने एकल करदाताले कर फाइल गर्नु नपर्ने भएपनि फाइल गर्दा फाइदा हुन सक्छ । पहिला काटेको कर रकम फिर्ता पाउन सकिन्छ ।
 
त्यस्तै विबाहित करदाताले २४ हजारसम्मको आम्दानीमा कर तिर्नु पर्दैन । जति आय भए पनि करदाताहरुले कर तिर्नु नपर्ने आय घटाएर बाँकीमा प्रगतिशिल रेट अनुसार दायित्व निर्धारण हुन्छ। यसरी कर दायित्व निर्धारण भैसकेपछि अगाडी काटेको रकम बढी भए फिर्ता आउँछ कम भए ट्याक्सफाइल गर्दा तिर्नुपर्छ।
 
सामान्य रुपमा के कति फिर्ता हुन्छ ? कार्की भन्नुहुन्छ–‘यो प्रत्येक करदाताको उमेर, आय, आयको प्रकार, परिवार संख्या, पहिला कति कर काटिएको छ, आश्रित बच्चा वा अन्य के कति छन्, सन् २०१८ मा ठुला खर्च के कति भएको छ, विद्यार्थी हो भने कलेजलाई कति रकम तिरिएको छ त्यस अनुसार रिफण्ड निर्धारण हुन्छ । रिफण्ड या कर फिर्ता निर्धारण हुने क्राइटेरीया धेरै नै छन । यहॉ उल्लेख गरिएका केही उदाहरण मात्र हुन। सबै करदातालाइ सबै क्राइटेरिया लागु पनि हुदैनन् ।‘
 
कार्कीका अनुसार समान्यतह विवाहित करदाताको एक जना बच्चा छ र गत बर्ष २४ हजार डलर आम्दानी भएको छ भने करको भार कम भएको छ।
 
‘ब्यवसायीले पाउने छुटका सीमाहरुपनि यस पटक बढेका छन् भने विगतमा लिइ आएका केही सुविधा घटेका छन,‘ कार्कीले भन्नुभयो–‘तर यी सुविधा पाउनका लागि वुझेर मात्र कर दाखिला गर्नु पर्छ ठिकसँग विवरणहरु उल्लेख नगरी ट्याक्स फाइल गरियो भने पाउने सुविधा नपाउन सकिन्छ नपाइने सुविधा लिँदा पछि कारवाही वा झमेला पर्नसक्छ ।‘
 
विज्ञकहाँ जानु पर्छ पर्दैन ?
डब्लु टू मार्फत मात्र आय छ, रोजगारदाताबाट हेल्थ इन्सुरेन्स लिनुभएको छ भने आफैले विश्वनिय र अमेरिका राजश्व विभाग (आईआरएस)ले मान्यता दिएका वेवसाइटमा गएर ट्याक्स फाइदा गर्दा हुन्छ कार्कीको सुझाव छ । तर क्रेडिटहरु लिनु छ, ओबामा केयर इन्सुरेन्स लिइएको छ, यो बर्ष घर/स्टक लगायत किनवेचमा सलग्न हुनुभएको छ, आश्रीत बालबच्चा छन भने कर विज्ञसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।
 
‘कुनै पनि क्रेडिटबाट कर दायित्व कम हुन्छ वा रिफण्ड आउछ भने सो सम्बन्धि शर्त र नियम कानुनहरु पुरा गरेको हुनुपर्छ‘ कार्कीले भन्नुभयो।
 
नबालक आश्रीत छन्, तिनलाइ हुर्काउन कठिन छ भनेर सरकारले तोके अनुसार कम आय भएका करदाताहरुलाइ वर्षेनी केही रकम प्रदान गर्छ।  तर यसका लागि बालबालिका र परिवारका रेजिडेन्सी र नाता सम्बन्ध जोडिएका केही कागजात प्रमाणका रुपमा हुनुपर्छ । त्यस्तै अन्य सबै क्रेडिट सुविधा लिन पनि प्रमाण चाहिन्छ ।
 
के कस्ता डकुमेण्ट चाहिन्छन् ?
 
ट्याक्स फाइलका लागि के गर्ने ? सुरूमा त काजगात (डकुमेण्ट) तयार पार्नुपर्छ । डब्लु टू, स्वास्थ्य बिमा गरेको छ भने बिमा कम्पनीले दिने कागजात १०९५, बालबच्चाको स्कुलमा कुनै शुल्क तिरेको छ भने यसको प्रमाण, विद्यार्थीले तिरेको फिको प्रमाण, शेयर किनवेच गरिएको छ भने यसको प्रमाण, वा घर किनबेच गरिएको छ भने यसको विवरण लगायतका कागजात जम्मा गर्नु पर्छ ।
 
त्यसपछि अवस्था अनुसार आफैंले अनलाइनमा गर्ने वा विज्ञकहाँ जाने निर्णय गर्दा हुन्छ, कार्कीले भन्नुभयो ।
 
व्यक्तिगत कर दाखिला गर्ने समय अप्रिल १५ सम्म छ । व्यवसायले मार्च १५ सम्म गर्नुपर्छ । तर, जति छिटो ट्याक्स फाइल गर्यो त्यतिनै छिटो राफसाफ हुन्छ फिर्ता पाउनु पर्ने रकम आउँछ ।
 
व्यक्तिगत आयकर फाइदा गर्दा स्वास्थ्य बिमा गरेको छ छैन ? छ भने कति तिरिएको छ यसलेपनि कर फिर्तामा असर पार्छ कार्कीले भन्नुभयो यसको विवरण राख्न छुटाउनु हुदैंन ।
 
विद्यार्थीले कलेजमा तिरेको शुल्कको प्रमाण वा अरु कुनै पनि क्रेडिट लीन आवश्यक पर्ने प्रमाणहरु सम्बन्धित ठाउँबाट लिएर ट्याक्स फाइल गर्दा उल्लेख गर्नु पर्छ । विद्यार्थी हुँदा लिएको ऋणको ब्याजको पनि करमा कट्टा गर्न पाइन्छ ।
 
विद्यार्थी वा टिपीएस हुनेले के गर्ने ?
‘विद्यार्थीले पनि सन् २०१८ मा आम्दानी भएको छ भने ट्याक्स फाइल गर्दा फाइदा हुन्छ,‘ कार्कीले भन्नुभयो–‘तर, विदेशी विद्यार्थीले भने अमेरिकी नागरिक वा ग्रीनकार्ड सरह सुविधा पाउँदैनन। एफवान स्टाटसमा भएको विधार्थिहरुले एजुकेशन क्रेडिटहरु वा अरुकुनै अमेरिकी नागरिकले पाउने सुविधा लिनुहुदैन । पछि समस्या आउन सक्छ ।
 
टीपीएस लिएका नेपालीले पनि ट्याक्स फाइल गर्नुपर्छ । तर टीपीएस हुनेको अमेरिकी नागरिक वा ग्रिनकार्ड हुने सरह कर फिर्ता हुदैंन । टीपीएस हुनेले ट्याक्स फाइल गर्दा विज्ञसँग परामर्श गर्दा उपयुक्त हुन्छ । करिव नाै हजार नेपालीले टीपीएस लिएका छन् ।
 
व्यवसायमा के फरक छ ?
 
सन् २०१८ को कर नीयम साना व्यवसायलाई फाइदा हुने गरी आएको छ । अधिकांश नेपाली व्यबसायीलाई यसवाट फाइदा हुने देखिन्छ । कर्पोरेशनका रुपमा दर्ता भएका व्यवसायको मुनाफामा करको दर अघिल्लो वर्ष ३६ प्रतिशत थियो । अहिले २१ मा झारिएको छ । यसले व्यवसायीलाई फाइदा हुन्छ । तर, यो मुनाफा संचालकले ब्यवसायबाट फिर्ता लिँदा वा झिक्दा भने फेरि कर तिर्नुपर्छ। त्यसैले सी कर्पमा दोहोरो ट्याक्स लाग्छ भनिएको हो।
 
यस्तै एलएलसीका रुपमा दर्ता भएको कम्पनी वा एस कर्प छ भने त्यो ब्यवसायले गरेको २० प्रतिशत सम्मको मुनाफामा कर छुट पाउन सकिन्छ। यस्तो आयलाइ कर नियमले पासथ्रु आय भनेको छ । यो आयमा ब्यवसायले कर तिर्दैन, संचालकको व्यक्तिगत आयमा जोडिन्छ । यो अवस्थामा कसरी अहिलेको नियम कानुनवाट वढी फाइदा लिने यसको प्लानिङ गर्दा वढी लाभ लिन सकिन्छ । व्यवसायीले यही भएर कर प्लानिङ गर्नु पर्छ भनिएको हो ।
 
‘तर, म व्यवसायीलाई भने ट्याक्स फाइल आफैले गर्न सुझाव दिन्न‘ कार्कीले भन्नुभयो–‘ट्याक्स फाइल गर्दा लाग्ने खर्च पनि व्यवसायको खर्च हो भन्ने मान्नुपर्छ। ब्यक्तिगत ट्याक्स फाइलिङको दॉजोमा ब्यवसायको ट्याक्स फाइलिङ जटिल हुन्छ। यथेष्ठ बुझेर ट्याक्स फाइल गर्दा पाइने जति सुविधा लिन सकिन्छ व्यवसायले अग्रीम ट्याक्स प्लानिङ गरेर पनि फाइदा उठाउन सक्छन् । ट्याक्स प्लानिङ कसरी गर्ने यो विज्ञसँगै परामर्श लिँदा राम्रो हुन्छ ।
 
अन्तिममा कार्की भन्नुहुन्छ–‘ट्याक्स फाइल समयमै गर्नु राम्रो हुन्छ । गत बर्षको आम्दानी १२ हजार भन्दा कम छ भने नभर्दा हुन्छ । तर, भरेर फाइदा लिन सकिन्छ । गत बर्ष भएको परिवर्तनले मध्यम आम्दानी हुनेलाई बढी असर पारेको छ । त्यसलै कुनै ठूलो अपेक्षा नगरि नियम अनुसार ट्याक्स फाइल गर्दा राम्रो हुन्छ । तर, ट्याक्स फाइलवाट फाइदा लिन र झमेला बाट बच्न भर्नुपर्ने विवरण छुटाउनु हुदैँन ।
 
(तपाईका अमेरिकामा ट्याक्स फाइलमा प्रश्न छन् भने हामीलाई पठाउनुहोस । कर विज्ञ भिम कार्कीले यसको जवाफ दिनुहुने छ । हामी हिमालयखवर मार्फत तपाईको प्रश्नको उत्तर दिने छौं । निम्न इमेल: [email protected] मा तपाईले प्रश्न पठाउन सक्नुहुने छ । नाम र विवरण गोप्य राखिने छ । )