मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीको गोली लागेर काभ्रेका गुन्डा अविलास घाइते

प्रहरीको गोली लागेर काभ्रेका गुन्डा अविलास घाइते


काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर मंगलबार एक व्यक्ति घाइते भएका छन् । 
 
मित्रपार्कस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिए । 
 
उनका अनुसार उनको साथबाट एक थान चिनिया पेस्तोल र छ राउण्ड गोलीसमेत बरामद गरिएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । 
 
उनी गुण्डागर्दीमा र हतियार देखाएर लुटपाटमा सङ्लग्न रहेको खुल्न आएको परिसरका प्रमुख लामाले बताए । उनको विषयमा थप अनुसन्धान जारी रहेको जनाइएको छ । 
 
यसैबीच, सेनाको पूर्वजर्नेल हुँ भन्दै विभिन्न प्रलोभनमा रकम ठगी गर्दै आएका एक व्यक्तिलाई काठमाडौँको पुरानो बानेश्वरस्थित शान्तिनगरबाट प्रहरीले पक्राउ गरेको छ । 
 
पीडितको लिखित उजुरीको आधारमा रकम ठगी गर्दै आएका काठमाडौँ भाटभटेनीका मदनजङ्ग शाहलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । 
 
उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको काफ्लेले बताए । पीडितले दिएको जाहेरीमा उनले सेनाको पूर्वजर्नेल आदित्यबहादुर शाह हुँ भन्दै शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएसको आरक्षण कोटामा नाम निकालिदिने र जग्गा नापीमा परेको समस्यासमेत समाधान गरिदिने प्रलोभनमा रकम ठगी गरेको उल्लेख गरिएको प्रहरीले जनाएको छ । 
 
“अहिलेसम्म रु ११ लाख ठगी भएको खुल्न आएको छ”, प्रहरी नायब उपरीक्षक काफ्लेले भने । अझै पीडित सम्पर्कमा आउने क्रम जारी छ । उद्योग मन्त्रालयको अस्थायी पासमा आदित्यबहादुर शाह उल्लेख भएको र त्यही नाममा उनको भिजिटिङ कार्डसमेत फेला परेको छ । 
 
सवारीचालक अनुमतिपत्रमा भने उनको नाम मदनजङ्ग शाह उल्लेख रहेको प्रहरीले जनाएको छ । काठमाडौँमा मात्रै नभई उनले सिन्धुलीमा समेत गएर ठगी गरेको अनुसन्धानमा खुलेको छ । प्रायः होटलमा बोलाएर उनले ठगीधन्दा चलाउने गरेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । रासस