मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

इँटाभट्टाको प्रदूषणविरुद्ध काउली सडकमा फालेर विरोध

इँटाभट्टाको प्रदूषणविरुद्ध काउली सडकमा फालेर विरोध


बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ श्रीरामपाटीका किसानले इँटाभट्टा उद्योगबाट निस्केको धुवाँ धुलोले आफूले उत्पादन गरेको तरकारीमा क्षति पुगेको भन्दै धुलिखेलस्थित अरनिको र बीपी राजमार्गको दोबाटोमा काउली फालेर विरोध गरेका छन् । 
 
किसानले स्थानीय सरकार र प्रशासनले आफूहरुले इँटाभट्टाको विषयमा पहिलादेखि नै उठाउँदै आएको मागको सुनुवाइ नगरेको भन्दै काउली सडकमा फालेर विरोध गरेका हुन् । 
 
“हामीले उत्पादन गरेको तरकारीबजारमा बिक्री गर्न पाइरहेका छैनौँ ।” किसान केशवप्रसाद ढकालले भने, “बिक्री गर्न बजार पठाएको उत्पादित तरकारी बजारबाट फिर्ता आइरहेको छ ।” 
 
कृषि पेसालाई सुनिश्चित गर्न स्थानीय सरकार र प्रशासनको ध्यान जाओस् भनेर विरोधमा उत्रन बाध्य भएका कृषकहरुले बताएका छन् ।
 
उत्पादित काउली काठमाडौँस्थित कालिमाटी तरकारी बजारमा बिक्रीका लागि लगेकामा कालो भएको भन्दै फिर्ता आएपछि आन्दोलित हुनुपरेको किसानको भनाइ छ । आइतबार सो स्थानमा कोइला र माटो ढुवानी गरेका गाडीलाई रोक लगाएपछि इँटाभट्टा सञ्चालकले आफूहरुमाथि हातपात गरेको किसानले जनाएका छन् । 
 
आफूहरुमाथि हातपात गरेको भन्दै भट्टा सञ्चालकविरुद्ध किसानले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरीसमेत दिएका छन् । किसानले सुवर्णेश्वर इँटा उद्योगका सञ्चालक रामगोपाल श्रेष्ठ, हरिकुमार श्रेष्ठ, श्रवण न्यौपाने, सुशील श्रेष्ठ, राजाराम श्रेष्ठ र रुपक दनुवारलाई कारवाहीको माग गर्दै किटानी जोहरी दिएका हुन् । 
 
वातावरण प्रदूषण गरेका भट्टाको विरोध गर्दै माटो र कोइला बोकेका गाडीलाई रोक लगाएको भन्दै आफूमाथि कुटपिट गरेको स्थानीयवासी ढकनारायण पराजुलीले बताए । घरबाहिर निस्कने बेलामा समेत धुवाँ धुलोका कारण माक्स लगाएर निस्कनुपर्ने र श्वास फेर्नसमेत मुस्किल हुने गरेको उनले जानकारी दिए । 
 
पाँचखाल–७ का वडाध्यक्ष पुष्कर ढकालले इँटा व्यवसायीले स्थानीय किसानलाई कुटपिट गरेको भनेर शान्तिसुरक्षाका लागि माग गरेपछि आफूले जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकी पाँचखाल र इलाका प्रहरीलगायतका कार्यालयमा शान्तिसुरक्षाका लागि जानकारी गराएको बताए । 
 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडितले दिएको जाहेरीका आधारमा दोषीलाई आवश्यक कानूनी कारवाहीका लागि अनुसन्धानको प्रक्रिया अगाडि बढाइसकेको बताए । रासस