मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मिसिसिपीको किनारमा एकैछिन रोकिँदा

मिसिसिपीको किनारमा एकैछिन रोकिँदा


‘यस पटक हामी मायामी जाने है त ?’ थ्याङ्क्सगिभिङको सेरोफेरोमा मैले परिवारमा प्रस्ताव राखेँ ।
 
छोरीले पत्याइनन् । छोरा आरोग्यले त विश्वास गर्ने कुरै भएन । समर भ्याकेसननै उसले कतै जान माग राखेको थियो । तर उसले भरखरै काम सुरु गरेको हुँदा पाएको काम छाड्नुपर्ने अवस्था हुन्थ्यो भ्याकेसनमा जानका लागि ।
 
‘नचाहिँदो कुरा गरेर बच्चाहरुलाई नजिस्काउनु है,’ पत्नीले भनिन्–‘लैजाने चाँही कहिँ कतै होइन ।’ उनलाई पनि मायामी जाने कुरामा विश्वास छैन ।
 
‘ल हेर्दै जाओ न तिमीहरु,’ यति भनेर म चुप लागेँ ।
 
‘हामी डिसेम्बर अन्तिम साता फ्लोरिडा आउने विचारमा छौँ । कतै जाने सोचाईमा छौ कि ?’ बहिनी मिना (मेरी पत्नीकी मामाकी छोरी) र भाइ कमल (पत्नीको ठूलीआमाको छोरा) लाई मेसेज गरेँ । मिना ओरल्याण्डो र कमल मायामीमा छन् ।
 
‘हाम्रो केही प्रोग्राम छैन । कतै जाँदैनौ, आउनुस् न’ दुबैतिरबाट एकै प्रकारका मेसेज आउँछन् ।
 
 
अमेरिकामा धेरै ठाउँहरु भ्याकेसनका लागि समर (गर्मी समय) ठीक हुन्छन् । तर फ्लोरिडामात्र यस्तो ठाउँ हो, जहाँ विन्टर (जाडो) समय भ्याकेसनका लागि उपयुक्त हुन्छ । समरमा यो ठाउँ असाध्यै गर्मी हुने भएकोले त्यति उपयुक्त मानिदैन ।
 
दुबैतिरबाट पोजिटिभ मेसेज प्राप्त भएकोले म मानसिक रुपमा तयार भएँ । डिसेम्बरको अन्तिम सातादेखि जनवरी पहिलो सातासम्म स्कुल, कलेज छुट्टी हुन्छन् । बच्चाहरुको समय नमिल्ला भन्ने भएन । हामी दुबैले कामबाट छुट्टी मिलाउन बाँकी थियो ।
 
‘हामी गाडीमा जाने है त मायामी ?’ बच्चाहरुसँग भने ।
 
‘कति घण्टा लाग्छ ?’ छोरीले सोधिन् ।
 
‘१७/१८ घण्टा जति लाग्ने रहेछ ।’
 
‘अँ त्यसो भए त त्यति लामो ट्राभल गाडीमा नगर्ने । प्लेनमा जाने हो,’ छोरीले भनिन् ।
 
मलाई भने प्लेनभन्दा पनि गाडीमा जाने चाहना थियो । गाडीमा जाँदा धेरै ठाउँ हेर्दै, बस्दै जान मिल्छ । प्लेनबाट यात्रा गर्दा खासै मज्जा पनि आउँदैन । प्लेनको यात्रा हिजोआज मलाई अति अप्ठेरो लाग्न थालेको छ । प्लेन चढेपछि अत्याश लाग्छ । कतिखेर ओर्लिने ठाउँ आइपुग्छ भनेर आत्तिन्छु । यसो हुन थालेको ३/४ वर्ष भयो ।
 
तैपनि छोरीले प्लेनमै जाने भनेकोले प्लेनको टिकट हेर्न थाले अनलाइनमा । सस्तो भनिएको स्पिरिटको टिकट पनि एकजनाको चारसय डलर भन्दा माथिको थियो ।
 
दिनदिनै हेरिरहे टिकट । तर घट्दो होइन बढ्दो दरमा थियो । क्रिसमस, नयाँवर्षको समयमा सबैतिर छुट्टी हुने र मानिसहरु भ्याकेसनका लागि निस्कने भएकोले टिकट महंगो हुँदैथियो । त्यसो हुँदा गाडीनै लिएर जानु सस्तो र सजिलो पर्ने मेरो निष्कर्श रह्यो । किनकी फ्लोरिडा पुगेर पनि गाडी रेन्टमा लिनुपर्ने हुन्थ्यो ।
 
डिसेम्बर २१ तारिक शुक्रबार बिहान ९ बजे हामीले टेक्ससको युलेसबाट यात्रा सुरु गर्यौँ । झण्डै १० दिनको यात्राको क्रममा तीनहजार माइल हिडिन्छ भन्नेमा म ढुक्क थिएँ । त्यसो हुँदा अघिल्लो दिनै गाडीलाई डिलरको सर्भिस सेन्टरमा लगेर लामो यात्राका लागि तयार बनाएको थिएँ ।
 
ड्यालसबाट हाइवे–८० लिँदै अघि बढ्दा हामी ९ः४५ मा फोर्नी पुग्यौँ । १० बजे ट्यालरलाई देब्रे बनाउँदै हामी हाइवे–२० बाट पूर्बतिर हानियौँ ।
 
‘आ, कति एक्सिलेटर दबाउनु ? म अटोक्रुजमा लगाउँछु,’ ड्राइभिङ गरिरहेको आरोग्यले भन्यो । उ टेक्ससदेखि मायामीसम्मै ड्राइभ गर्ने मनस्थितीमा छ । उसले लाइलेन्स लिएको एक वर्ष पनि पुरा भएको छैन । ओक्लाहोमासम्म होस् कि अस्टिनसम्म होस् उसैले ड्राइभिङ गर्दै आएको छ । लामो ड्राइभमा मलाई गाडी छुन पनि दिँदैन ।
 
कतै ७० त कतै ७५ माइल प्रतिघण्टाको अटोक्रुजमा सेट गरेर उसले दाहिने खुट्टालाई आराम दियो । चिप्लो र सिलित्त परेको हाइवे छ । दायाँबायाँ सल्लाका जंगल छन् । गाडीले ठक्कर दिएर मरेका जंगली जीवजन्तुका शवहरु पनि हाइवे छेउमा प्रशस्तै देखिन्छन् ।
 
हाइवे–२०बाट पूर्ब जाने लेन र पश्चिम जाने लेनमा पुरै १८ चक्के ट्रकको बाहुल्यता छ । यिनका स्पिड देख्दा आङनै जिरिङ्ग हुन्छ । यिनले लेनको दायाँबायाँ अलिकति गरिहाले भने साना गाडीहरु कच्याक कुचुक हुन्छन् । यिनका छेउछाउमा रहेर गाडी नचलाउनुनै बुद्धिमानी हुन्छ । किनकी यिनका चक्काले उछिट्याउने ढुंगा, रबरका टुक्राले धेरै पटक मेरो गाडी घाइते भैसकेको छ । ठाउँठाउँमा यी १८ चक्केहरु रोकिएर मरम्मत गर्दैछन् । कतै ट्रक स्टेशनमा रोकिएर आराम गर्दैछन् ।
 
मध्यान्ह १२ बजेर २० मिनेट जाँदा मोबाइलमा लगाइरहेको नेभिगेसनले ‘वेलकम टु लुजियाना’ भनेपछि थाहा भयो हामी टेक्ससलाई छाडेर लुजियाना पसेछौँ । लुजियाना प्रवेशसँगै हाइवे साँघुरो लाग्यो । सडक पनि गण्ड्याङ गुण्डुङ खालको थियो । तर मर्मत हुँदै गरेकोले आधा माइलमात्र त्यस्तो रहेछ ।
 
हामी श्रीपोर्ट हुँदै निरन्तर अघि बढिरह्यौँ । श्रीपोर्ट लुजियानाको सानो शहर हो । जहाँ नेपालीहरु पनि छन्, तर प्रोफेसनल काम गर्नेहरू । केही महिना अघि साथी मनोज दाहाल ड्यालस उत्रिएर एकरात बिताएर भाइलाई भेट्न श्रीपोर्ट गएका थिए ।
 
‘यत्रा जग्गाहरु छन् । कतै खेती गरेको देखिदैन त ?’ हाइवे छेउका जग्गा प्रति संकेत गर्दै पत्नी लक्ष्मीले भनिन् । जहाँ जाँदा पनि खेतीपाती गरेको नदेख्दा उनी अचम्ममा पर्छिन् । फार्ममै गएर तरकारी, फलफुल टिपेर किन्ने उनको धोको छ ।
 
ठाउँठाउँमा गाडी रोक्दै, ग्याँस रिफिल गर्दै, कफी लिँदै हामी अगाडी बढिरहेका छौँ । धागो तानेको जस्तो हाइवे छ । आँखाले देखेसम्म, पर क्षितिजसम्मै हाइवे सिधा छ । दायाँबायाँ जंगलै जंगल छ । तर अधिकांश सल्लाका बोटहरु ।
 
नेपालमा एक समय वृक्षरोपण भन्नासाथ सल्लाका विरुवामात्र रोपिन्थ्यो । अरु जातका विरुवाहरु बिरलै रोपिन्थ्यो । सल्लो हुर्काउन पनि सजिलो हुने भएकोले जताजतै सल्लोको वृक्षरोपण हुन्थ्यो । यहाँ पनि त्यस्तै लाग्यो, जता हे¥यो उतै सल्लाका बोटहरु ।
 
सडक यात्राको रमाइलो पक्ष के हो भने कफी पिउँदै, मन लागेको ठाउँमा रोकेर आराम गर्दै चलाउन पाइन्छ । कतै स्टारबक्स त कतै ग्याँस स्टेशनकै कफीको स्वाद लिँदै हामी दिउँसो पौने चार बजे मिसिसिपी राज्य प्रवेश गर्यौँ । गाडीको नेभिगेसनले भन्यो–‘वेलकम टु मिसिसिपी ।’

नेभिगेसनलाई पहिलेनै मिसिसिपी नदीको वेलकम सेन्टरमा सेट गरेको थिएँ । वेलकम सेन्टरमा पुग्नका लागि गाडीले मिसिसिपी प्रवेश गर्नासाथ हाइवे–२० बाट ‘वान–ए’ को एक्जिट लियो । हामीले गाडीलाई भिक्सवर्गको भ्यू प्वाइन्टमा लगेर रोक्यौँ ।
 
मलाई शहरका ठूला र भव्य भवनभन्दा प्राकृतिक दृश्यहरु साह्रै मन पर्छ । ९ कक्षामा हुँदा भूगोलमा पढेको मिसिसिपी नदीलाई आँखाले अघाउन्जेलसम्म हेर्ने मेरो धोको थियो । किनकी यो संसारको चौथो लामो नदी हो । यही नदीको नामबाट अमेरिकामा एउटा राज्यकै नामाकरण भएको छ । तर पानी भने मैले वर्षायाममा देखेको तादी र त्रिशूलीको धमिलो पानी जस्तै थियो । अमेरिकामा मैले देखेका अधिकांश नदीको पानी चाहे हिउँद होस् या वर्षा, सधैँभरि धमिलोनै देखेको छु ।
 
संसारको सबैभन्दा लामो नदी नाइल (अफ्रिका) हो । नाइलको लम्बाई ४ हजार एकसय ३२ माइल छ । दोस्रो चाही दक्षिण अमेरिकाको अमेजन र तेस्रो चीनको याङसी नदी हो ।
 
मिसिसिपी नदीको लम्बाई तीनहजार दुईसय ९ माइल (६ हजार दुइसय ७५ किलोमिटर) छ । अमेरिकाको उत्तरी राज्य मिनिसोटाबाट निस्किएर लुजियानाको गल्फ अफ मेक्सिको पुग्दा यसले १० वटा राज्यलाई छोएको छ ।
 
नदीलाई पृष्ठभूमिमा पारेर थुप्रै फोटाहरु लियौँ । यही नदीले लुजियाना र मिसिसिपी राज्यलाई छुट्याएको छ ।
 
झण्डै आधा घण्टा भिक्सबर्गमा बिताएर हाम्रो यात्रा फेरि सुरु भयो । आजको हाम्रो विश्रामस्थल यहाँबाट दुईसय २५ माइल टाढाको मोबिलमा तय भएको छ । बाटोमा कुनै व्यबधान नआएको खण्डमा झण्डै चारघण्टा लाग्छ मोबिल पुग्न ।
 
हाइवे छेउका सानासाना घरहरु हेर्दै हामी हाइवे–२० मै अघि बढिरहेका छौँ । ज्याकसनसम्मै हामीले हाइवे–२० मा यात्रा गर्नुपर्छ । ज्याकसनबाट भने यो हाइवेलाई छाडेर हाइवे–४९ लिनुपर्छ ।
 
 
ज्याकसनबाट हाइवे–२०लाई नछाडी पूर्बतिर जाने हो भने मेरिडिएन, जर्जियाको एटलान्टासम्म पुगिन्छ । तर हाम्रो यात्रा भने ज्याकसनबाट दक्षिणतर्फ जानुपर्थ्यो ।
 
ज्याकसनबाट दक्षिणतर्फ लागेर रिचल्याण्ड पुग्दैमा घाम क्षितिजमा पुगिसकेको छ । त्यहाँबाट ९० माइल दक्षिणतर्फ रहेको वेस्ट ह्याटिसवर्ग पुग्दा त चकमन्न अँध्यारो भैसकेको छ । त्यसपछि ‘डी सोटो नेशनल फरेस्ट’ सुरु हुन्छ । त्यसैले गाडीमा ग्याँस भर्न र कफीका लागि हामीले गाडी रोक्यौँ । अब हामीले मोबिलसम्म अर्को ९० माइल हाइवे–९८ नछाडी अघि बढ्नुथियो ।
 
रातको समय, कतिपय ठाउँमा जाने एउटा र आउने एउटामात्र लेनको सडक रहेछ । त्यस्तो ठाउँमा परैबाट गाडीको हेडलाइटले गर्दा गाडी चलाउन निकै गाह«ो पार्ने । जसरी पनि मोबिल पुग्नुनै थियो ।
 
‘किताबहरु ल्याउनु पर्ने रहेछ, कस्तो गल्ती गरिएछ,’ पत्नीले भनिन् । उनी पछिल्लो समय पूर्ब प्रधान न्यायाधीश सुशीला कार्कीद्वारा लिखित पुस्तक ‘न्याय’ अध्ययन गर्दैछिन् । यात्राको क्रममा त्यो पुस्तक ल्याउन भुलेकोमा उनी थकथक मान्दैछिन् । गाडीमा एउटा लघु पुस्तक थियो–‘सम्झनामा गाउँघरका कुरा’ नामक । स्व.छविचन्द्र ढकालद्वारा लिखित यो किताब उहाँकै छोरी सकुन्तला अर्यालले केही साता अघि दिनुभएको थियो ।
 
८० पेजको यो किताबमा स्व. ढकालले आफुले भोगेका, देखेका तत्कालिन समाजका बारेमा उल्लेख गर्नुभएको छ । यो किताबलाई लक्ष्मीले दुई घण्टामै पढेर फत्ते गरिन् ।
 
साँझ ७ः२३ मा गाडीको नेभिगेसनले हामीले मिसिसिपीलाई छाडेर अलाबामा राज्य प्रवेश गरेको संकेत दियो । इस्क्याट्वापा नदी आउनुभन्दा केही मिटर अघिनै दुई राज्यको सिमाना रहेछ । अलाबामा प्रवेशसँगै आजै हामीले चारवटा राज्यलाई छोइसकेका छौँ । 
 
क्रमश…