टोपी ,
राष्ट्रियता देखाउन लगाउदिन
शिरको रक्षा र सुन्दरता देखाउन लगाउँछु
मैले लगाउन सिकेको दौरासुरुवाल
स्वस्ति गर्दै शिर निहुराउनको लागि होईन
मेरो परिवेश र समाजले
मेरो शरिरको रक्षा र सामाजिक मर्यादाको लागि वनाएको पहिरन मात्र हो
कसैको परिवेशले धोती र गम्छालाई पहिरन बनायो
कसैको परिवेशले बख्खु र माकले टोपी बनायो
त्यो परिवेश र समाजले बनाएको पहिरनमा प्रश्न किन ?
शरिरको रक्षा र समाजको मर्यादाको पहिरनमा राष्ट्रियताको खोजी किन ?
किनकि
परिवेश र समाजको बदलावसंगै
पहिरन पनि त बदलिरहेछ
आजकल त
फाटेका लुगा लगाएर आधुनिकताको परिचय दिने परिवेश आईसक्यो
शरिरभरी चित्र कोरेर
अर्धनग्न पहिरनमा
फेशनको वजार वनाउने समाज वनिसक्यो
के अब फेरि यी पहिरनहरुले
हाम्रो राष्ट्रियता धरमराउने छ ?
के म नेपाली हुनुको यर्थाथ मेटिएर
जननी प्रतिको मेरो माया नभएको सन्देश जानेछ ?
त्यसैले
राष्ट्र र राष्ट्रियतालाई
त्यति सस्तो बिषय नबनाऊँ
यो मानविय मुल्यहरुको पहिचान हो
विकासका प्रयासहरुमा
एकिकृत सहभागिताको खाँचो हो
चाहे त्यो टोपी र सुरुवाल लगाउने होस्
चाहे धोती र गम्छा
चाहे त्यो बख्खु लाउने होस
चाहे फेशनको नाममा फाटेका लुगा
र अर्धनग्न भएर हिडने होस
केही फरक पर्दैन
जब राष्ट्रमा मिलेर बस्न सके
अनि प्रवासवाट एकताको संन्देश छर्न सके !!
जनवरी २, २०१९
ओक्लोहमा, अमेरिका
प्रतिक्रिया