मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

तमु ल्होसार र नयाँ वर्षले तात्यो ह्युस्टन

तमु ल्होसार र नयाँ वर्षले तात्यो ह्युस्टन


हिमालयखवर संवाददाता- 
ह्युस्टन, टेक्सास । गत वर्षदेखि ह्युस्टनको गुरुङ्ग समुदायले मनाउन थालेको तमु ल्होसार पर्व यो वर्ष पनि उत्साह र प्रेम बाड्दै सोमबार मनाए । 
 
अङ्रेजी नयाँ वर्ष २०१९ र तमु ल्होसारको एकैपटक स्वागत गर्दै मनाइएको यो महोत्सवमा शुभकामना आदान प्रदान, मनोरन्जन र स्वादिष्ठ परिकारको संगम झल्किन्थ्यो ।
 
तमु ल्होसार नेपालमा गुरुङ्हरुको ठूलो पर्व हो र यसलाई गुरुङहरुको नयाँ वर्षको रुपमा मनाइन्छ । यो अवसरमा  समुदायले मनोरन्जनका साथै आपसी सद्भाव र भाइचारा अभिवॢध्दि गर्दछ । 
 
सोमबार साँझ यहाँ आयोजित कार्यक्रममा गुरुङ समुदायसँगै नेपाली अन्य जात जातिका सदस्यहरुको बाक्लो उपस्थिति थियो । गीत संगीत, डान्स र नेपाली परिकारको स्वादले सहभागीहरु मध्यरात अबेरसम्म पनि झुमिरहेका थिए । 
 
उक्त कार्यक्रमका मुख्य अभियन्ता चेज गुरुङले सहभागीहरुको स्वागत गर्दै तमु ल्होसारको बारेमा जानकारी गराएका थिए । गुरुङ नेपाली समुदाय ह्युस्टनका एक युवा व्यवसायी र सक्रिय समाजसेवी हुन् । 
 
कार्यक्रममा मिलन गुरुङ र अन्जु गुरुङले परम्परागत  गुरुङ नाच प्रस्तुत गरेका थिए । त्यसैगरी लिसा श्रेष्ठ, नोरा श्रेष्ठ र सिमरन लामाको सामूहिक नाचले रमाइलो मनोरन्जन दिएको थियो भने सोमाया गुरुङको नाचले सहभागीहरुलाई उत्साहित बनाएको थियो । त्यस अवसरमा रोशन श्रेष्ठको बाँसुरी बादनलाई श्रोताहरुले स्वागत गरे । 
 
ह्युस्टनका सदाबहार कलाकार साई लामाको गीतले दर्शकलाई नचाएको देखिन्थ्यो । उता संजीव श्रेष्ठ के कम ? उनले पनि आफ्नो गीतले सहभागीलाई मनोरन्जन प्रदान गरे । कार्यक्रममा नयना अमात्यले पनि गीत प्रस्तुत गरेकी थिइन । 
 
तमु ल्होसार र नयाँ वर्ष साँझको रापले बाहिरको चिसो मौसमलाई बिर्साएको थियो । कार्यक्रमलाई सक्रिय सहयोग पुर्याउने सहयोगीहरुलाई मुख्य आयोजक चेज गुरुङले धन्यवाद दिए । 
 
खसी सौजन्य गर्ने नवराज श्रेष्ठ, मीठो सेलारोटी पकाउने निशा श्रेष्ठ, अरु विभिन्न परिकार तयार गर्ने दिलु गुरुङ, सोमाया गुरुङ, अन्जु गुरुङ, गणेश विष्ट र निशु गुरुङलाई चेज गुरुङले कृतज्ञता व्यक्त गरे । त्यसैगरी संजीव श्रेष्ठ र निर्मल श्रेष्ठले स्वादिलो छोयला बनाएकोमा स्यावासी पाएका थिए । 
 
कार्यक्रमको सफलतामा सक्रिय सहयोग पुर्याउने ज्ञानेश्वर श्रेष्ठ, मिलन गुरुङ, विशन गुरुङ, विष्णु श्रेष्ठ, हेम कार्की, विनोद श्रेष्ठ र रविन श्रेष्ठको भूमिकालाई पनि आयोजक चेजले हार्दिक आभार प्रकट गरेका थिए। उनले  अन्य थरका सहयोगीहरु सबैको थरलाई गुरुङ भनेर नामाकरण गर्दा कार्यक्रमस्थल हाँसोले गुन्जिएको थियो । 
 
रात छिप्पिएर बिहान हुन्जेलसम्म नयाँ वर्षको स्वागतले पुर्ण बिराम पाएको थिएन । ल्होसार र नयाँ वर्षको रौनक यसरी नै अर्को साल पनि मनाउने अपेक्षा गर्दै केही सहभागी भने राति १२ बजेपछि बिदा भएका थिए ।
 
 

शेयर गर्नुहोस:

0
Shares