मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

देशभर मनाइयो अन्तर्राष्ट्रिय टोपी दिवस

देशभर मनाइयो अन्तर्राष्ट्रिय टोपी दिवस


काठमाडौँ । ‘नेपाली टोपी : हाम्रो गौरव, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरूक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस मनाएको छ । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । 
 
माइतीघर मण्डलामा भेला भएका युवाले पञ्चे बाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरी गरेका थिए । अङ्ग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै अभियानले २०७० सालदेखि नेपाली मौलिक पोसाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरू गरेको हो ।
 
सदियौँदेखि नेपाली पहिचानका रुपमा रहेको दौरासुरूवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोसाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।
 
राष्ट्रिय पोसाक दौरासुरूवाल र ढाका टोपीमा सजिएका सहभागीले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।
 
चितवनमा चोकचोकमा भेला
 
चितवनका विभिन्न युवाआवद्ध संघसंस्थाले छैटौँ नेपाली टोपी दिवस मनाएका छन् । अङ्ग्रेजी नयाँ वर्षको दिन आज चितवनका विभिन्न चोकचोकमा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् ।
 
भरतपुरको वीरेन्द्र क्याम्पसमा भेला भएको युवायुवतीले अनुहारमा राष्ट्रिय झन्डाको चित्र कोरेर ढाकाटोपीसहित चौबिसकोठीसम्म ¥याली निकालेका थिए । त्यस्तै पूर्वी चितवनको सौराहा चोक र खैरहनीमा ¥याली निस्किएको थियो । 
 
र्यालीलाई बेटर चितवन, ब्रदर्श नेपाल, मेन्स रुम रिलोडेड, युथ मोटिभेटर्स क्लब, वुमेन्स रुम रिलोडेड, हेल्प फर ह्याप्पीनेस, नेप्लिज युथ नेटवर्क र मेरो आफ्नै देशलगायतका संस्थाहरुले संयुक्तरुपमा आयोजना गरेका थिए ।
 
टोपी दिवसको अवसरमा र्यालीपछि चौबिसकोठीमा भएको कोणसभामा विदेशमा रहेकालाई नेपालमा फर्काउन प्रोत्साहन गर्ने अभियानका विनोद पौडेल, बेटर चितवनका सागर कार्कीले सम्बोधन गरेका थिए ।
 
बेटर चितवनका कार्कीले नेपालको पहिचान, संस्कृति र राष्ट्रियता जोगाउन यसप्रकारको कार्यक्रम गरिएको बताए । उनले यसप्रकारको र्याली  र कार्यक्रम अन्य ३४ जिल्लामा पनि भइरहेको जानकारी दिए ।
 
टोपी दिवसमा पदयात्रा 
 
अन्तर्राष्ट्रिय टोपी दिवसका अवसरमा मंगलबार बिहान झापा काँकडभिट्टामा पदयात्रा गरिएको छ । ट्राभल्स सङ्घ झापाको आयोजनामा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रमुखसहितको टोलीले ढाका टोपी लगाएर काँकडभिट्टा बजार परिक्रमा गरेको हो ।
 
नेपाली ढाका टोपीलाई संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले टोपी दिवस मनाइएको ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर कार्कीले बताए ।