टेक्सस (अष्टिन)- टेक्ससको राजधानी अष्टिनका नेपालीहरू विभाजित हुने खतरा बढेको छ । अङ्ग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर आयोजना गर्न लागिएको कार्यक्रमका आयोजक समूहमै विवाद भई एकै दिन एकै समय दुईवटा कार्यक्रम आयोजना गरिएपछि मिलेर बसेका अष्टिनवासी नेपालीहरू विभाजनको सँघारमा पुगेका हुन् ।
केही नेपालीहरूले भने सामाजिक सञ्जालमार्फत बिबादित दुवै कार्यक्रममा नजाने बताइरहेका छन् । सुरुमा नमो नमस्ते इन्टरटेन्मेन्टको आयोजनामा गायक कालीप्रसाद बास्कोटा र समीर आचार्यको सहभागीतामा साङ्गीतिक कार्यक्रम गर्ने तय भए पनि आयोजक टिमभित्र विवाद भएपछि टिम सदस्य शुबास थापाले कालीप्रसाद बास्कोटालाई सहभागी गराएर अलग्गै कार्यक्रम गर्दैछन् भने बाँकी ४ जना सदस्य प्रदीप भडेल, प्रिन्स भट्ट, सनोद कुँवर र कबिन्द्र सुबेदीको समूहले समीर आचार्य र रेश्मा सुनुवारलाई सहभागी बनाएर अलग्गै कार्यक्रम गर्न लागेको छ ।
सानो सहर र थोरै नेपालीहरू भएको र नेपालीहरू मिलेर बसिरहेको अष्टिन सहरमा एकै दिन दुई वटा कार्यक्रम आयोजना गर्नुलाई अष्टिनवासी नेपालीहरूले मन पराएका छैनन् । बास्कोटाको सहभागिता रहने बताइएको थापाको संयोजकत्वमा डी एण्ड डी मुभिजले आयोजना गरेको कार्यक्रम The bungalows hotel and event centre, cedar park मा हुने भनिएको छ भने समीर र रेश्मालाई सहभागी गराएर नमो नमस्तेको समूहले एसिएन अमेरिकन रिसोर्स सेन्टरमा कार्यक्रम गर्दैछ । दुवै समूहले बेलुका ६ बजेपछि कार्यक्रममा आयोजना गरेका छन् ।
मिलेर कार्यक्रम गर्न अग्रजहरूको अनुरोध
सानो सहर र कार्यक्रममा सहभागिता जनाउने नेपालीहरूको सङ्ख्या सानो भएको सहर अष्टिनमा एकै दिन दुईवटा बिबादित कार्यक्रम गर्दा राम्रो सन्देश नजाने भन्दै मिलेर कार्यक्रम गर्न अष्टिनवासी अग्रज नेपालीहरूले आयोजकहरूलाई अनुरोध गरेका छन् ।
वरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीले यसरी एकै दिन दुई कार्यक्रम गर्दा नेपाली कलाकारहरूको समेत अपमान हुने भएकोले मिलेर कायृक्रम गर्न अनुरोध गर्नुभएको छ । मिलेर बसेको अष्टिनको नेपाली समाजलाई विभाजन हुने कार्यक्रम कार्यक्रम गर्दा यसको असर आगामी दिनमा पनि देखिने भएकोले कार्यक्रमका लागी सहकार्य गर्न आयोजकहरूलाई अनुरोध गर्नुभएको छ ।
हामी अभिभावक भएर दुई समूहबिच कुरा गर्न तयार छौँ पुरीले भन्नुभयो- "यसरी एकै दिन दुई कार्यक्रम गरेर समाजलाई विभाजन गर्न खोज्नु गलत हो ।" दुई कार्यक्रममा सहभागी हुने कलाकार सँगै अन्य नेपाली कलाकारहरूले अष्टिनका नेपालीहरूलाई हेर्ने नजर समेत धमिल्याउने गरी एकै दिन दुई कार्यक्रम आयोजना गर्नु दुखद भएको उहाँको भनाई छ ।
अहिले दुई कार्यक्रम गरिए पनि यसको असर भोलि पर्सि अन्य कार्यक्रमहरूमा समेत प्रत्यक्ष देखिने भएकोले अझै समय बाँकी छंदै सहकार्य गर्न आग्रह गर्नुभयो । अष्टिनमा नेपालीहरू मिलेर बसेको देखेर आफ्नो रोजाई पनि अष्टिन भएको स्मरण गर्दै पुरिले यही साङ्गीतिक कार्यक्रमका लागी नेपालीहरूलाई विभाजन गर्दा कतै पनि राम्रो सन्देश नजाने स्पष्ट पार्नुभयो ।
ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेले दुवै समूहलाई मिलाएर लैजाने पटक पटकको प्रयास असफल भएको बताउनुभयो । नेपाली समाज विभाजन हुने खतरा देखेर मैले ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा सबै कलाकारहरूलाई एकै कार्यक्रममा सहभागी गराऔँ भनेर दुवै आयोजकलाई अनुरोध गरेँ अध्यक्ष न्यौपानेले भन्नुभयो-"विभिन्न बहानावाजी गरेर तर्किनुभयो ।"समाजमा विभाजन ल्याउने गरी गरिएका यस्ता कार्यक्रम फलदायी नहुने दाबी गर्दै उहाँले बिबादिन कार्यक्रममा आफू नजाने सङ्केत गर्नुभयो ।
यता ग्रेटर अष्टि नेपाली सोसाइटीका पूर्व अध्यक्ष तथा अष्टिनमा नेपाली सामुदायीक घर निर्माण समितिका संयोजक गेहेन्द्र केसीले मिलेर कार्यक्रम गर्दा राम्रो हुनेभएकोले अझै समय भएकोले सहकार्य गरेर एउटै कार्यक्रम गर्न अनुरोध गर्नुभयो ।
यस्तै एनआरएनए टेक्सास च्याप्टरका महासचिव पदम ठकुराठीले पनि यती थोरै नेपाली भएको शहरमा एकै दिन एकै समय दुई कार्यक्रम गर्नुले आफु आश्चर्यमा परेको बताउनुभयो । समुहमा बिबाद भएपनि सार्बजनिक रुपमै प्रतिस्पर्धामा उत्रिएर अलग अलग कार्यक्रम एकै दिन एकै समय गर्न लागेको ठकुराठीको दुखेसो थियो । अझैपनि समय भएकोले सहकार्यमा कायृक्रम गर्न अनुरोध गर्दै ठकुराठीले सबै एउटै कार्यक्रम गर्न र नसकै फरक फरक दिनमा कार्यक्रम गर्न अनुरोध गर्नुभयो
हामी लचक भएका हौँ – प्रदीप भडेल
नमो नमस्ते इन्टरटेन्मेन्टका सदस्य प्रदीप भडेलले दुई वटा कार्यक्रम सकेसम्म सहकार्य गरेर गर्न आफूहरू पोजेटिभ भए पनि अब भने सहकार्यका लागी समय नभएको स्पष्ट पार्नुभयो ।
विवाद भए पनि सहकार्य गर्न आफूहरूले लचकता देखाए पनि विवाद गएर गएको अर्को पक्ष अर्थात् स ुवास थापा तयार नदेखिएपछि सहकार्यको सम्भावना सकिएको बताउनुभयो । आफूहरूले नै टिम सदस्य बनाएको व्यक्तिले विवाद सृजना गरेपछि यो अवस्था आएको र नमो नमस्तेको आयोजनामा हुने कार्यक्रम तोकिएकै समय अर्थात् आउँदो जनवरी ५ तारिख शनिवार ६ बजेपछि अष्टिनस्थित एसिएन अमेरिकन रिसोर्स सेन्टरमा कलाकार समीर आचार्य र रेश्मा स ुनुवारको सहभागीतामा हुने बताउनुभयो ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको उहांकाले भनाई छ । हामीले टिमवर्क गरेर कार्यक्रमलाई सफल नबाउन लागिपर्यौं भडेलले भन्नुभयो- "थापा जी ले आफूले व्यक्तिगत रूपमा कार्यक्रम गर्न लागेको जसरी कालीको मात्रै प्रचार लगायतका हर्कत गरेर विवादको सृजना गर्नुभयो ।"
समाजमा देखिएका विवाद र भ्रमलाई आफूहरूले सामाजिक सञ्जालमार्फत स्पष्ट पारिएको र कार्यक्रममा संकलीत रकम सामाजिक कार्यक्रका लागी खर्च गरिने उहाँले बताउनुभयो । सामाजिक सञ्जाल मार्फत एक जना सदस्यका कारण समाजमा विभाजन हुने खालको नकारात्मक सन्देश गएकोमा आफूहरूले क्षमायाचना गरिसकेको रु कार्यक्रमबारेको जानकारी दिइसकेको भडेलले बताउनुभयो ।
आत्मसमर्पण गरेर सहकार्य हुँदैन – सुवास थापा
डी एण्ड डी मुभिजको तर्फबाट काली प्रसाद बास्कोटालाई सहभागी गराएर कार्यक्रम आयोजना गर्न लागेका सुवास थापाले पहिले समय हुँदा नै आफूले म्यासेज गरेर सहकार्य गरौँ विवाद नगरौं भन्दा नमो नमस्तेको टिमले नमानेको बताउनुभएको छ ।
विवाद पछि को अवस्थामा पनि सुरुमा आफूले सहकार्यका लागी म्यासेज गरेको हो केही नेपाली चचित्रमा अभिनय समेत गरिसकेका कलाकार थापाले भन्नुभयो- "उनीहरूले मानेनन् अहिले सबै तयारी भइसकेको अवस्थामा आत्मसमर्पण गरेर सहकार्य गर्न सकिदैन् ।" आफूलाई गलत तरिकाले विभिन्न व्यक्तिगत आरोप लगाएको समेत थापाको दाबी छ ।
आफ्नो चरित्र हत्याको प्रयास भएकोमा आफ्नो आपत्ति रहेको र अव आफूलाई कार्यक्रम सफल बनाएर देखाउने चुनौती रहेकोले कार्यक्रम निर्धारित समयमै हुने र सम्पूर्ण तयारी पुरा भएको र कार्यक्रम र आफूमाथिका आरोपहरूबारे आफूले सामाजिक सञ्जालमा जवाफ दिइरहेको थापाको दाबी छ । थापाको संयोजकत्वमा आउँदो जनवरी ५ तारिख शनिवार अष्टिनस्थित The bungalows hotel and event centre, cedar park मा बेलुका ६ बजेपछि कालीप्रसाद र डिजे सूर्यको सहभागीतामा कार्यक्रम हुँदैछ ।
दोधारमा दर्शक
गायक तथा नेपाल आइडलका जज कालीप्रसाद बास्कोटा एउटा कार्यक्रममा र पिच रोड लगायतका चर्चित गितका गायक समीर आचार्य सँगै मै ठुली भैछुरे लगायतका गितकी गायिका रेश्मा सुनुवार अर्को कार्यक्रममा एकै दिन सहभागी हुने भएपछि अष्टिनका संगितप्रेमी नेपालीहरू दोधारमा छन् ।
बिबादका कारण एउटै समूहबाट अलग भएर दुई ठाउँमा एकै दिन कार्यक्रम आयोजना गर्न लागेका आयोजकहरू समेत आफ्नै चिने जानेका भएपछि कता जाने भन्ने दोधारमा नेपालीहरू छन् । अधिकांश नेपालीहरू भने मिलेर एकै ठाउँमा कार्यक्रम गरे राम्रो हुने र अलग अलग कार्यक्रम गरे आफूहरू सहभागी नहुने बताउँदै आएका छन् ।
यो बिबादित बनेको कार्यक्रमले अष्टिनका नेपालीहरूको संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीको आगामी फेब्रुअरीमा हने अधिवेशनलाई समेत प्रभाव पर्ने कतिपय नेपालीहरू बुझाई छ । अष्टिनमा साङ्गीतिक कार्यक्रम आयोजनाका लागी आयोजक बिचमै विवाद भएर दुई वटा कार्यक्रम एकै दिन हुन लागेको यो पहिलो पटक हो ।







प्रतिक्रिया