मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनबाट हराएका सुदीप तेह्रथुमको होटलमा भेटिए

चितवनबाट हराएका सुदीप तेह्रथुमको होटलमा भेटिए


चितवन । विगत ६ दिनदेखि भरतपुरबाट बेपत्ता भएका चितवनको कालिका नगरपालिका वडा नं ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुमको एक होटलमा भेटिएका छन् ।
 
गत कात्तिक २६ गते सोमबार विदेश यात्राको लागि आवश्यक सामान खरिद गरी फर्कने क्रममा उनी भरतपुरबाट बेपत्ता भएका थिए । अष्ट्रेलिया जाने तयारीमा रहेका भनिएका सुदीप नारायणगढमा सपिङ गरेपछि सुटकेससहित बेपत्ता भएका थिए ।
 
प्रहरीको विशेष अनुसन्धान टोलीले सापकोटालाई तेह्रथुमको एक होटलमा फेला पारेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
 
सुदीपसँग भएको अष्ट्रेलियन भिसा नै नक्कली भएको प्रहरीले जनाएको छ । अष्ट्रेलिया जाने तयारीमा रहेको भनिएका सापकोटा एकाएक हराएको खबरले चितवनमा सनसनी फैलिएको थियो ।
 
उनको एक महिनाअगाडि मात्रै विवाह भएको थियो । उनले अष्ट्रेलिया जाने तयारी गरिरहेको परिवार तथा आफन्तलाई बताउँदै आएका थिए । 
 
सुदीपले भारतमा बसेर कम्प्युटर इन्जिनियरको पढाइ सकेको परिवार स्रोतले बताएको थियो ।
 
इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधि ज्ञवालीले अष्ट्रेलिया जान भनेर सापकोटाले बनाएको सबै डकुमेन्ट फेक भएको जानकारी दिएका छन् । 
 
सापकोटाको ल्यापटपमा भएको डकुमेन्ट र अन्य अनुसन्धान गर्दा भिसा फेक देखिएको उनले बताए । यसैकारण सापकोटा भागेको हुनसक्ने डीएसपी ज्ञवालीको अनुमान छ । 
 
सापकोटाको मोबाइल ट्यापिङका आधारमा भेट्टाउन सफल भएको प्रहरीको भनाइ छ । सापकोटाले मोबाइल अफ गरे पनि वाइफाइ भने निरन्तर चलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 
सापकोटा तेह्रथुम प्रहरीको नियन्त्रणमा रहेको र उनलाई लिन परिवारका सदस्य त्यसतर्फ लागेको बाबु गंगा सापकोटाले जानकारी दिए ।