बिश्व घटना

श्रीलंकामा संसद् भवनभित्रै कुटाकुट, सभामुखमाथि बोतल प्रहार

श्रीलंकामा संसद् भवनभित्रै कुटाकुट, सभामुखमाथि बोतल प्रहार


काठमाडौँ । श्रीलंकामा संसद भवनभित्रै बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको छ ।
 
राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनिमतबाट हटाउने अधिकार सभामुखसँग नभएको बताएलगत्तै सांसदहरुबीच हात धक्कामुक्की भएको हो । 
 
यो घटना संसदले राजपक्ष सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित गरेको एक दिनपछि भएको हो । 
 
संसदको बैठक बस्नेवित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए । 
 
राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ । संसदमा राजपक्षेले महत्वपूर्ण विषयमा ध्वनिमतका आधारमा फैसला गर्न नहुने भन्दै मतदान हुनुपर्ने माग गरेका थिए । 
 
उनले राष्ट्रपतिले नियुक्त गरेको प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई सभामुख जयसूर्यालाई हटाउने अधिकार नभएको दाबीसमेत गरे । 
 
राजपक्षले सभामुखले विपक्षी दलको सांसदको भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । उनले नयाँ चुनाव नै अहिलेको संकटको समाधान भएको बताए । राजपक्ष सांसदहरुले पुनः मतदान हुनुपर्ने माग गरेपछि झपड भएको थियो । 
 
राजपक्षका समर्थकहरुले नारा लगाउँदै संसदको मध्यभागमा जम्मा भएका थिए र केही सभामुखतर्फ होहल्ला गर्दै अघि बढेका थिए ।
 
करिब तीन दर्जन सांसदबीच झडप भएको थियो । धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लात्तीले हानेका थिए । राजपक्षका समर्थक सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टाले सभामुखमाथि प्रहार गरेका थिए । 
 
राजपक्षका विपक्षी रहेका सांसदहरुले सभामुखलाई घेरेर सुरक्षा दिइरहेका थिए । यो क्रमका आधा घण्टासम्म चलेपछि सभामुखले संसद बैठक स्थगित गरेका थिए । (एजेन्सीको सहयोगमा)