– नातिबाबु भट्ट
कोलोराडो (अमेरिका)- कोलोराडोमा शनिबार सम्पन्न ११० औं लक्ष्मी जयन्तिको अवसरमा कवि गोष्ठी सँगै प्रवासमा रहेर निरन्तर नेपाली भाषा र साहित्यमा कलम चलाउने साहित्यकार डा.शिलु घिमिरे न्यौपानेलाई सम्मान गरिएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा भएको कवि गोष्ठि तथा श्रष्टा सम्मान समारोहमा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवि, कवयत्री, कलाकार, व्यवसायी तथा सर्वसाधरणको उपस्थितीमा साहित्यकार डा.शिलुलाई सम्मान गरिएको हो ।
डा.शिलुलाई अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेल, बरिष्ट साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल, महासचिव श्याम श्रेष्ठ लगायतले फुलको माला लगाई दिई सम्मान पत्रका साथ सम्मान गरेका थिए ।
सम्मानित व्यक्तित्वले नेपाली भाषा साहित्य क्षेत्रमा पु¥याएको योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले प्रकाश पारेका थिए । काठमाडौको रत्नराज्य क्याम्पसबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर पछि अध्ययनको सिलसिलामा प्रवास लागेकी शिलुले साहित्यमा बिद्यावारिधी गरिसकेकी छिन् । शिलुका मन्थन, परदेशको देशमा, पीआरको पीर जस्ता आधा दर्जन भन्दा बढी सृजनाहरु सार्वजनिक भैसकेका छन् ।
संंस्थाका अध्यक्ष कृष्णमुरारी ढुंगेलको अध्यक्षतामा तथा सम्मानित ब्यक्तित्व डा.शिलु घिमीरे न्यौपानेको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा महासचिव श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए । त्यस अवसरमा सल्लाहकार कुमारजंग कार्किले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा सम्मानित शिलुले आफुलाई सम्मानगर्ने संस्थालगायत कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै, आÏनो साहित्य यात्राका अनुभवहरु प्रस्तुत गरेकी थिईन् भने ज्ञानेन्द्र गदाल, कृष्णमुरारी ढुङ्गेल, कुमारजंग कार्की लगायतका कवी कवयित्रीहरुले रचना प्रस्तुत गरेका थिए ।
महाकवी देवकोटाको फोटोमा मल्यार्पण गर्दै सुरु भएको कार्यक्रममां देवकोटाका निकट रहने अवसर पाएका साहित्यकार रत्नकाजी तुलाधर, बरिष्ठ साहित्यकार तथा गीतकार ज्ञानेन्द्र गदाल लगायतले महाकवि देवकोटाले नेपाली साहित्य क्षेत्रमा दिएका योगदानको चर्चा गरेका थिए । त्यसैगरी गायिका उषाकिरण अधिकारीले देवकोटाको मुनामदनबाट उधृत गरिएको गीत “ईश्वर तैले रचेर त्यसै कसरी बिगारिस” र मनोजकाजी तुलाधरले “कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो” भन्ने देबकोटाको यात्री कवीताको गीतगाई महाकविप्रति श्रद्धा सुमन अर्पण गरेका थिए ।
“हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले” देबकोटाले त्यो जमनामा मुनामदन मार्फत उल्लेख गरेका सामाजिक सन्देशहरु आजसम्म पनि जस्ताको तस्तै समय सान्दर्भिक रहेको छ । उनका मुनामदन, शकुन्तला, कुञ्जीनी जस्ता अमरकृतीहरुले नेपाली भाषा साहित्यमा अहिलेपनि महत्वपूर्ण टेवा दिईरहेका छन् ।
प्रतिक्रिया