मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जसले बेवारिसै भएर प्राण त्यागे

जसले बेवारिसै भएर प्राण त्यागे


भरतपुर । मानिसको मृत्यु अवश्यंभावी छ । एक ठाउँमा जन्मिएको मानिसलाई नियतिले कहाँ पुगेर अन्त्य गराउँछ, त्यो यसै भन्न सकिन्न । 
 
जाजरकोटको तल्लुगाउँमा आफ्नो थातथलो भएका ६० वर्षीय टेकबहादुर थापा मगरले पनि जीवनको उत्तराद्र्धमा यस्तै नियति भोग्नुप¥यो । एक महिनाअघि चितवनमा उनी जसरी भेटिएका थिए, उसैगरी उनले प्राण त्यागे । 
 
असोजको पहिलो साता अज्ञात स्थलबाट बसमा आएका उनलाई गाडीका खलाँसीले रत्ननगरको भानुचोकमा झारिदिए । रत्ननगरका घुमुवा प्रहरीले बेवारिसे अवस्थामा भेटेपछि बिरामी अवस्थाका उनलाई उठाएर रत्ननगर अस्पताल लगियो । 
 
जिम्मा लिने कोही मान्छे नहुँदा अस्पतालका डाक्टरले बिरामी भर्ना गर्नै मानेनन् । प्रहरी र डाक्टरको घम्साघम्सीकै स्थिति चल्यो । प्रहरीको भनाइ थियो– ‘उपचार गर्ने दायित्व तपाईंहरुको हो, मानवीयताको हिसावले पनि बिरामीको उपचार गरिदिनुस् ।’ त्यहाँका डाक्टरको भनाइ थियो– ‘यस्ता बेवारिसे बिरामी तलमाथि परे भने कसले जिम्मा लिन्छ ?’ 
 
यही जुहारीबीच अस्पतालमा झुल्किए अभियन्ता केपीकिरण शर्मा । उनले भने– ‘पहिले उपचार गर्नुस्, सबै जिम्मेवारी म लिन्छु ।’ त्यसपछि केपीकिरण टेकबहादुरको आफन्त बने । रत्ननगर अस्पतालमा दुई घण्टा इमर्जेन्सीमा राखेपछि उनलाई अस्पतालकै एम्बुलेन्सबाट भरतपुर अस्पताल लगियो ।
 
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्ण पौडेलले निःशुल्क उपचार गरिदिने आश्वासन दिएपछि उनै शर्माले बिरामीको भर्ना गरे । बिरामी कुरुवाका रुपमा चेपाङ संरक्षण केन्द्रका ९ देखि १२ कक्षासम्मका विद्यार्थीले आलोपालो गरे । 
 
टेकबहादुरको उपचार र परीक्षण सुरु भयो । परीक्षणका क्रममा थाहा लाग्यो– उनलाई निको नहुने क्यान्सरले गालीसकेको रहेछ । अस्पतालमा उपचार निःशुल्क भए पनि केही औषधि बाहिरबाट ल्याउनुपर्ने भयो । जसका लागि डा सरु थापाले दस हजार रुपैयाँ सहयोग गरिन् । 
 
चेपाङ विद्यार्थीले आलोपालो कुरुवा बसे पनि असोज २४ गते दसैँ मान्न सबै आआफ्ना घर लागे । टेकबहादुर दुई दिनसम्म अस्पतालमै रहे । बिरामी कुरुवाको अभावमा असोज २६ गते उनै केपीकिरणले टेकबहादुरलाई मानवसेवा आश्रममा पु¥याए । बेलाबखत भेट गर्न गइरहे । 
 
शनिबारमात्रै केपीकिरणसँग यो पंक्तिकार मानवसेवा आश्रम, भरतपुरमा पुग्दा उनी निकै टाठा देखिन्थे । अब १२ दिनपछि भेट्न आउँछु भन्थे । तर, दिनगन्ती सुरु भइसकेका टेकबहादुर दुई दिनमै विलिन भए । 
 
उनले आफ्नो छोरा र श्रीमती कोही नरहेको एउटी छोरी लक्ष्मी थापा मगरलाई तल्लुगाउँमै बिहे गरेर दिएको बताएका थिए । पछिल्लो चार वर्षदेखि छोरीसँग पनि भेट नभएको उनले बताएका थिए । 
 
उनको छोरीको खोजी गर्न ५ नम्बर प्रदेशका थुप्रै पत्रकार साथीमार्फत् खोजबिन पनि भएको थियो । तर, तल्लुगाउँको नाम निशाना कतै नभेटिएको प्रतिक्रिया आयो । टेकबहादुरले शनिबारको भेटमा भनेका थिए– ‘मेरो घर पुग्न खलंगा बजारबाट ५÷६ दिनको बाटो हिँड्नुपर्छ ।’
 
जीवनका धेरै वसन्त भारतको हिमाञ्चल प्रदेशमा स्याउ टिप्ने काम गर्ने टेकबहादुर ठीक भएपछि गेटपास लिएर फेरि काममा फर्किने बताएका थिए । तर, उनको भाग र भोग सोमबार मानवसेवा आश्रममै अन्त्य भएको छ । 
 
अभियन्ता शर्मा भन्छन्, ‘मानिसलाई घरपरिवार, आफन्त र इष्टमित्र यस्तै बेला चाहिन्छ । कसैले पनि आफन्तविहीन बनेर बेवारिसे मर्न नपरोस् ।’
 
उनको दाहसंस्कारमा मानवसेवा आश्रमका तीनसहित पाँच जनामात्रै उपस्थित भएका थिए । केपीकिरणले दागबत्ती दिएर टेकबहादुरको अन्त्येष्टि गरे ।