चितवन । झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्राम (जेईपीपी)को आयोजनामा डस्टबिन वितरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष नेपाल, सौराहाका प्रमुख एवम् प्रशासकीय अधिकृत रामकुमार अर्यालले रत्ननगर वडा नं ५, ६ र ७ का लागि ३० थान डस्टबीन वितरण गरे । प्रमुख अतिथि अर्यालले झुवानी इन्भाइरोमेन्ट प्रोटेक्सन प्रोग्रामले गरेको सराहनीय कामबाट आफू प्रभावित भएको बताउँदै यस्ता कार्यक्रमले वातावरण संरक्षणका क्षेत्रमा सहयोग पुग्ने बताए ।
मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगानाले नेपालमा बाघको संख्या बढ्दै गर्दा चितवनमा २७ वटा घट्नु चिन्ताको विषय भएको बताए । दुईवटा बाघ ल्याण्डफिल्ड साइड वरपर मृत भेटिनुले फोहोर व्यवस्थापन गर्दा निकै चनाखो हुनुपर्ने समय आएको बताए ।
कार्यक्रममा जेईपीपी जर्मनीका प्रसिडेन्ट जोहानेस टिड्जे, क्लिन सिटी नेपाल यूएसका प्रेसिडेन्ट टायलर स्मिथे, वडा नं ५ का वडाध्यक्ष कृष्ण चौधरी, युवा समाजसेवी एवम् झुवानी जल उपभोक्ता समितिका सचिव ऋषिराम गुरुङ, निराजन रिजाल, पूर्वगाविस अध्यक्ष फूलचनकुमार महतो, झुवानी युवा क्लबका अध्यक्ष छन्नु महतोलगायतले मन्तव्य राखेका थिए ।
जेआईपीपीका संयोजक एवम् कार्यक्रमका सभापति रामचन्द्र महतोले विगतमा पनि संस्थाले वातावरण र सरसफाइसम्बन्धी विविध कार्यक्रम गर्दै आएको स्मरण गर्दै चौथोपटक डस्टबिन वितरण गरिएको बताए ।
पछिल्लो समय समुद्रमा समेत प्लाष्टिकको प्रभाव परिसकेको वैज्ञानिकहरुको अध्ययनले देखाएको भन्दै उनले प्लाष्टिकको कम प्रयोग गर्न र प्लाष्टिकजन्य फोहोरको उचित व्यवस्थापनमा लाग्न सबैसँग अनुरोध गरे ।
कार्यक्रममा थारु समुदायको डम्फु नाच र ठेकरा नाचबाट सहभागीलाई मनोरञ्जन प्रदान गरिएको थियो । सो अवसरमा संस्थालाई सहयोग गर्नेहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया