मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेस सुध्रिएर अघि बढ्नुपर्छ : नेता पौडेल

काँग्रेस सुध्रिएर अघि बढ्नुपर्छ : नेता पौडेल


दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 
 
नेपाली काँग्रेस भानु नगर समितिले दशैँ, तिहार, छठ, नेपाल संवत्का अवसरमा आज भानु नगरपालिका–१ मा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, “काँग्रेसभित्र भएका कमीकमजोरीलाई सच्याएर अघि बढ्नुपर्छ ।” 
 
वरिष्ठ नेता पौडेलले गफमात्रै गर्ने काँग्रेसभन्दा कर्मशील काँग्रेस आजको आवश्यकता हो भन्दै कम्युनिष्ट बिग्रेलान् र काँग्रेस बन्छ भन्ने मानसिकता त्याग्नुपर्ने बताए । 
 
“कम्युनिष्ट बिग्रेर काँग्रेस बलियो हुने होइन”, उनले भने, “आफैँभित्र भएको कमजोरी सुधार्दै बलियो बन्नुपर्छ ।” 
 
नेता पौडेलले काँग्रेसलाई सही ढङ्गले अघि बढाउन पार्टीभित्र सङ्घर्ष जारी रहेको उल्लेख गर्दै सङ्घर्षले सफलता मिल्ने विश्वास व्यक्त गरे । 
 
एउटा चुनाव हारे पनि राजनीति नहारेको भन्दै उनले काँग्रेसको सङ्गठनले चुनाव हारे पनि सिद्धान्तले भने जितेको बताए । हरेक परिवर्तनको नेतृत्व काङ्ग्रेसले गरे पनि अहिले चुनाव हारेपछि समृद्धिको नेतृत्व काँग्रेसले गर्न नपाएको उनको भनाइ छ । 
 
नेता पौडेलले देशमा अहिले भ्रष्टाचार, हत्या, हिंसा बढेको उल्लेख गर्दै यसको नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए । “चाडपर्वका क्रममा जनतामाथि महङ्गी थोपारिएको छ, वाइडबडी खरिदमा भ्रष्टाचार भएको छ, बूढीगण्डकी विनाप्रतिस्पर्धा जिम्मा दिइएको छ”, उनले भने, “यसको नियन्त्रणका लागि सरकार असफल भएको छ ।” 
 
काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले आफ्नै पार्टीभित्रको कमजोरीले काङ्ग्रेसले पराजय बेहोरेको बताउँदै तनहुँमा छ सिट नै गुमाएको विषयमा छलफल हुन नसके भोलिलाई समेत अप्ठ्यारो पर्ने भएकाले यसतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए । 
 
अरु बेला काँग्रेस भन्ने तर चुनावमा काङ्ग्रेसलाई हराउन खोज्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउँदै उनले दुई तिहाइको दम्भमा न्यायालय, कर्मचारी र प्रहरी प्रशासनलाई आतङ्कित पार्ने काम नगर्न सरकारलाई आग्रह गरे ।