जिल्ला प्रहरी कार्यालय चितवनले वडादशैँ, दीपावली र छठ पर्वको लागि सुरक्षाका लागि प्रहरी परिचालन गर्ने योजना सार्वजनिक गरेको छ ।
भयरहित वातावरणमा हर्षोल्लासका साथ चाडपर्व मनाउने अवस्था सृजना गर्न प्रहरीले सुरक्षा योजना अघि सारेको हो । आपराधिक मनोवृत्ति भएका व्यक्तिहरुले चाडबाडलाई लक्षित गरी विभिन्न किसिमका घटना घटाउन सक्ने हुँदा त्यस्ता क्रियाकलाप रोकथाम गरिने प्रहरीले जनाएको छ ।
राजमार्गमा यात्रुको चाप भई दुर्घटना हुन सक्ने अवस्थालाई मध्येनजर गर्दै जनधनको क्षति हुन नदिन प्रयास गर्ने, अवैध वस्तुको ओसारपसार रोक्न र चाडबाडको समयमा ठगी, जुवातास, लुटपाट, डकैती, चोरी र गुन्डागर्दी रोक्ने उद्देश्यले सुरक्षा योजना अघि सारिएको प्रहरी प्रवक्ता प्रनाउ प्रभुप्रसाद ढकालले जानकारी दिए ।
प्रहरीले दैनिक उपभोग्य सामग्रीको कृतिम अभाव गर्ने र कालोबजारीजस्ता कार्यलाई नियन्त्रण गर्ने र सार्वजनिक तथा निजी सवारीसाधनमा चेकजाँचमा कडाइ गरिने जनाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, बजार इलाकामा सुरक्षाको प्रत्याभूति दिन, शान्ति सुरक्षा र सुव्यवस्था कायम गरी भयरहित वातावरण सृजना गर्ने उद्देश्य राखेको छ ।
प्रवक्ता ढकालका अनुसार राजमार्गमा चल्ने सवारीसाधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा आवश्यकताअनुसार स्कटिङ र चेकजाँच गर्ने, बैंक तथा वित्तीय संस्थामा अनुगमन गर्ने, लुटपाटका घटना हुन नदिन कारोवार हुने स्थानहरुमा अनुगमन गर्ने, चोरी, लुटपाट हुन नदिन २४सै घण्टा क्विक रेस्पोन्स टिम परिचालन गरिने छ ।
राजमार्गको सुरक्षाका लागि मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत १४ वटा प्रहरी कार्यालयबाट ५६ जना प्रहरी, विभिन्न चोकमा ड्युटीका लागि २६ वटा प्रहरी कार्यालयबाट ९१ जना, पटका तथा विस्फोटक पदार्थ नियन्त्रणका लागि ४८ जना प्रहरी परिचालन गरिएको छ ।
यस्तै, जुवातास, लंगुरबुर्जा र कौडा नियन्त्रणका ४२ जना, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि ५५ जना, अवैध मदिरा उत्पादन बिक्री वितरण नियन्त्रणका लागि २३ जना, आगोलागी तथा विपद् नियन्त्रणका लागि ५५ जना, दैनिक चेकजाँचमा ६१ जना, समाजमा हुने विकृति नियन्त्रणका लागि २५ जनाको पैदल गस्ती गरी कुल ४५६ प्रहरी परिचालन गरिएको प्रवक्ता ढकालले जानकारी दिए ।
प्रतिक्रिया