मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले गरे टिपरमा आगजनी

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, स्थानीयले गरे टिपरमा आगजनी


काठमाडौँ । भक्तपुरको सूर्यविनायकमा बुधबार टिपरको ठक्करबाट मोटरसाइकल चालक नमोबुद्धका २५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएपछि स्थिति तनावग्रस्त बन्न पुग्यो । 
 
बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । एउटै दिशाबाट आएको टिपरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । मोटरसाइकल चालक श्रेष्ठको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए ।
 
आक्रोशित स्थानीयले टिपरमा आगजनी गरे । आगजनी गरेका स्थानीयमाथि प्रहरीले लाठी प्रहार गरेको थियो भने केही समयपछि अश्रुग्यास प्रहार गरेको थियो । 
 
तीव्र गतिमा रहेका टिपरले साना सवारी र पैदल यात्रुलाई ठक्कर दिने क्रम बढेपछि स्थानीय प्रशासनले साउन १ गतेदेखि उपत्यकाभित्र बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै चलाउनुपर्ने समय तोकेको थियो । तर, काठमाडौं जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म चल्न पाउने निर्णय गरेको थियो ।
 
प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपरका चालक फरार भएका थिए । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । 
 
आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउन खोज्दा आक्रोशित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताए । 
 
आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भीडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको जनाएको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको हो । 
 
यसैबीच, घटनालाई शान्तिपूर्णरुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीले अन्धाधुन्ध लाठीचार्ज गरेको थियो । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेका व्यापारीदेखि सुत्केरी महिलासमेतलाई अन्धाधुन्ध लाठीचार्ज गरी घाइते बनाएको थियो ।