मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लोकतान्त्रिक मूल्य मान्यताका लागि काँग्रेस एक हुनुपर्छ : देउवा

लोकतान्त्रिक मूल्य मान्यताका लागि काँग्रेस एक हुनुपर्छ : देउवा


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक मूल्य मान्यताको संरक्षणका लागि पार्टीका सबै नेता कार्यकर्ता अनुशासित भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 
 
नेपाली काँग्रेसस अछाम–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘जय नेपाल’ स्मारिका विमोचन, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टी अनुशासित नभए लोकतन्त्रविरोधी शक्तिसँग लड्न नसकिने बताए । 
 
काँग्रेस महामन्त्री डा शशांक कोइरालाले वाम शक्ति लोकतान्त्रिक मान्यताविपरीत जान सक्ने सङ्केत देखिएकाले दलका नेता कार्यकर्तामा एकता आवश्यक रहेको बताए । उनले काँग्रेसको नेतृत्वमा सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य र बैंकिङलगायत क्षेत्रमा भएका उपलब्धि लिएर जनतामाझ जान आग्रह गरे । 
 
काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले राष्ट्रिय अन्तर्राष्ट्रिय मातृ संस्थाको निर्देशनमा एक भएका वाम दलले मतपत्रमार्फत बन्दुक शासनको अभ्यास गर्न खोजेको बताए । 
 
सुदूरपश्चिम प्रदेशको राजधानी तोक्ने क्रममा प्रमुख प्रतिपक्षी दलको उपस्थितिको आवश्यकता महसुस नगरी जग्गा व्यापारीसँगको मिलेमतोमा काम भएको उनको भनाइ थियो । 
 
कार्यक्रममा काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महत, काँग्रेस अछामका सभापति भरतकुमार स्वाँर, सांसद अम्बिका थापा कुँवर, पूर्वराज्यमन्त्री गोविन्दबहादुर शाह, पूर्वसांसद अक्कलबहादुर विष्ट, सम्मानित व्यक्तित्व सहप्राध्यापक भैरवबहादुर विष्ट, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य चन्द्र विक, सम्पर्क समितिका अध्यक्ष यज्ञराज उपाध्याय लगायतले अछाममा प्रहरीको गोली आँखामा चोट लागी विद्यार्थी अरविन विष्टमाथि भएको घटनाको छानविन गर्न माग गरे ।