नेपाल

सरकारले झुक्याएपछि डा केसीले दिए अनसन बस्ने चेतावनी

सरकारले झुक्याएपछि डा केसीले दिए अनसन बस्ने चेतावनी


काठमाडौं । चिकित्सा शिक्षा विधेयक संसदबाट पास नभएको भन्दै डा गोविन्द केसीले जुनसुकै बेला आमरण अनशन बस्ने चेतावनी दिएका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी उनले यस्तो चेतावनी दिएका हुन् । 
 
“संसदको यही अधिवेशनबाट विधेयक पास हुन सक्थ्यो तर भएन । त्यसकारण म जुनसुकै बेला बिनासूचना सोह्रौं अनशन बस्न सक्छु । विधेयक पास नभएसम्म जतिपटक पनि अनशन बस्न तयार छु,” केसीले भने ।
 
विहीबार अन्त्य भएको संघीय संसदको दोस्रो अधिवेशनमा यसअघिको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पेश नगरिएकोमा उनले असन्तोष प्रकट गरे । उनले गएको बुधबारमात्रै वक्तव्य जारी गरेर सो विधेयक चालु अधिवेशनमै पास नभए १६ औं अनशन बस्ने चेतावनी दिएका थिए ।
 
संघीय संसद्को दोस्रो अधिवेशन बिहीबार राति १२ बजेदेखि समापन भएको छ । सर्वत्त चासोका रुपमा हेरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्राडा केसीको अनशन तोडाउने क्रममा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को दोस्रो अधिवेशनबाट पारित गर्ने सरकारले सम्झौता गरेको थियो । 
 
पत्रकार सम्मेलनमा केसीले सरकारले स्वास्थ्यलार्इ नाफामुखी बनाएको आरोप लगाउँदै तीन करोड नेपालीलार्इ झुक्याएको बताए । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विधेयक पास हुनबाट रोक्न राजनीति गरेको भन्दै डा केसीले उनको राजीनामा माग गरे ।