चितवन । चितवनको रत्ननगर–१, निपनी निवासी प्राडा कृष्णप्रसाद पौडेल ‘किसुन’ भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा शनिबार नियुक्त भएका छन् ।
वरिष्ठ हाडजोर्नी तथा मेरुदण्ड रोग विशेषज्ञ प्राडा पौडेल भरतपुर अस्पतालका १०औँ तहमा डाक्टर थिए । उनले यसअघि रत्ननगर बकुलहर अस्पतालमा मेसुको जिम्मेवारी सम्हालिसकेका छन् ।
प्राडा पौडेल नेपाल चिकित्सक संघ चितवनका पूर्वअध्यक्ष एवम् संघको केन्द्रीय सदस्यसमेत हुन् । प्राडा पौडेलले नेपाल माध्यमिक विद्यालयबाट एसएलसी, त्रिचन्द्र कलेजबाट प्रवीणता प्रमाणपत्र तह र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस तहको अध्ययन पूरा गरेका छन् ।
उनी सामाजिक सेवाका साथै विभिन्न संघसंस्थामा रहेर काम गर्दै आएका छन् । समसामयिक र स्वास्थ्य सरोकारका विषयमा लेख लेख्ने पौडेलले ‘खुसीहरुको वनवास’ कवितासंग्रह प्रकाशन गरेका छन् ।
भरतपुर अस्पतालमा डा रवीन खड्का मेसु रहँदा व्यवस्थापकीय कमजोरी रहेको भन्दै हटाएर डा पौडेललाई नियुक्त गरिएको हो ।
भरतपुर अस्पतालको लापरबाहीको कारण सर्पदंशको उपचार नपाएर तीन वर्षीय बालक सलिन बिकको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको छानविन समितिले बुझाएको प्रतिवेदनमा अस्पतालको तत्कालीन मेसु डा रवीन खड्कालाई व्यवस्थापकीय कमजोरी रहेको देखाएको थियो । त्यसपछि पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो ।
पौडेल कांग्रेस समर्थक हुन् । नेकपाको दुई तिहाइको सरकारले कांग्रेस पृष्टभूमिका पौडेललाई किन नियुक्त ग¥यो भन्ने विषयले अहिले चर्चा पाएको छ । अप्रत्याशित जस्तो लागे पनि पौडेल कुशल नेतृत्व प्रदान गर्नसक्ने क्षमताका डाक्टर हुन् ।
मेसुको नियुक्तिसँगै डा पौडेलले भरतपुर अस्पताललाई नमूना अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भरतपुर अस्पतालमा गुणस्तरीय सेवा प्रवाह र व्यवस्थापकीय सुधारमा लागिपर्ने उनले बताएका छन् ।
प्रतिक्रिया