हिमालयखबर संबाददाता-
ह्युस्टन , टेक्सास । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विरोधमा हालै टेक्सासको डालसमा गरिएको अभद्र र अशिष्ट व्यवहारको ह्युस्टनका युवाहरुले भर्त्सना गरेका छन् ।
हिजो साँझ यहाँ आयोजित एउटा कार्यक्रममा नेपाली युवाहरुको संस्था नेप्लिज हेरिटेज युनियनले त्यस्तो कार्यले नेपाली कसैलाई पनि फाइदा नगर्ने भन्दै अमेरिका जस्तो प्रजातान्त्रिक र मानव अधिकारमा अग्रणी मानिएको देशमा बसेर गरिने विरोध प्रदर्शन सभ्य र शिष्ट हुनुपर्ने आफ्नो धारणा व्यक्त गरेको छ ।
डा. भट्टराई हिजै मात्र ह्युस्टन आएका हुन् । उनले ह्युस्टनको शहरी विकास सम्बन्धी जानकारी लिनुका साथै र नासाको समेत अवलोकन गरे ।
सतिष त्रिपाठीको सक्रियतामा यहाँ आयोजित अन्तरक्रियामा डा. भट्टराईले आफ्नो अमेरिका भ्रमणको उदेश्य बताउँदै यहाँबाट प्राप्त गरेको ज्ञान र सुझाव नेपालको विकासमा सहयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रमका सहभागीहरुले अमेरिकी विकासको संरचना , प्रशासनिक प्रक्रिया र जवाफदेहिताको प्रशंग उल्लेख गर्दै नेपालमा सुशासन र जवाफदेहिता नभएकोमा तिखो टिप्पणी गरे ।
सहभागीहरुले नेपालमा राजनीतिक र साँसस्कॢति परिवर्तन भएपनि मानसिकता र सोचमा कुनै परिवर्तन हुन नसकेको,इमान्दारिता र जवाफदेहिता नभएकोले नै अपेक्षित विकास नदेखिएको टिप्पणी गरेका थिए ।
स्थानीय आसियाना रेष्टुँरामा आयोजित कार्यक्रममा प्राध्यापक, इन्जिनीयर, व्यवसायी, पत्रकार, स्थानीय सिटीमा कार्यरत अधिकारीहरुको उपस्थिति थियो । झन्डै तीन घन्टा चलेको सो कार्यक्रम निक्कै शान्त र शालीन थियो ।
प्रतिक्रिया