बिश्व घटना

सकियो अमेरिकामा तीजको भोज र नाचगान

सकियो अमेरिकामा तीजको भोज र नाचगान


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – नेपाली समाज टेक्ससका महासचिव भक्त भण्डारी शनिबार साँझ अर्भिङमा निकै व्यस्त थिए । समाजले आयोजना गरेको तीज पार्टीमा सहभागी हुन आएका महिलाहरुको तस्विर लिन उनलाई भ्याई नभ्याई थियो । 
 
मोबाइल फोनबाटै फोटो लिइरहेका भण्डारी बेलाबेलामा थप सहयोगका लागि सहकर्मीहरुलाई आग्रह गर्थे । तर अरुलाई पनि फुर्सद कहाँ थियो र ? 
‘अघि भरखरसम्म दर्केर पानी परिरहेकोले कार्यक्रम असफलनै पो हुन्छ कि भन्ने लागेको थियो । दिदीबहिनीहरुको यो उपस्थितीले हामीलाई हौसला मिलेको छ,’ नेपाली समाजका अध्यक्ष सुमन थापाले संक्षिप्त प्रतिकृया दिँदै भने । 
 
उता युलेसको चर्चमा आयोजित तीज कार्यक्रममा स्थानीय समाजसेवी टीका पौडेल आमन्त्रित चेलीबेटीहरुलाई खानेकुराको सर्भ गर्न व्यस्त थिए । त्यहाँ पौडेल, धर्मराज घिमिरे, बासु श्रेष्ठ, शिव अधिकारी, लिला श्रेष्ठ, दिनानाथ न्यौपाने  लगायतको समुदायले क्यालभरी चर्चमा आयोजना गरेको तीज पार्टीमा झण्डै तीनसयको सहभागिता थियो ।
 
युलेसको डेन्टन ड्राइभमा रहेको कम्युनिटीमा आयोजित तीज कार्यक्रममा सहभागीलाई खाना बनाउन दिउँसैदेखि भरत देवकोटा, टंक काफ्ले, दिनेश आचार्य, सन्तोष गुरुङ लगायतको सकृयता थियो । जहाँको पारिवारिक तीज कार्यक्रममा झण्डै एकसयको सहभागिता थियो । 
 
ड्यालसको डिएफडब्लु एरियामा शनिबार एकै दिन आधा दर्जन सामुहिक तीज कार्यक्रमहरु थिए । नर्थ ड्यालस नेपाली समाजले रिचार्डसनमा, युलेसको समुदायले छुट्टाछुट्टै दुई ठाउँमा सामुहिक तीज कार्यक्रम राखेका थिए । सबै ठाउँमा महिलाहरुको निकै बाक्लो सहभागिता थियो ।
 
अरु बेला जे जसो भएपनि तीजमा धक फुकाएर गाउन र नाच्न पाइने, मौलिक नेपाली पोशाक र गहनामा सजिन पाउने भएपछि महिलाहरुको निकै ठूलो उपस्थिती तीजका कार्यक्रममा हुने गरेको छ । 
 
रातो साडी, रातै ब्लाउज, पोते, चुरा, गहनामा सजिएर तीजमा सहभागी महिलाहरु नाचगानमा भन्दा पनि फोटो सेसन गर्न र सेल्फी लिन व्यस्त देखिन्थे । खानाको लाइनमा भन्दा पनि फोटोमा उनीहरुको चासो देखिन्थ्यो । 
 
नेपाली समाजकी महिला संयोजक आइसा ओझाका अनुसार शनिबारको तीज कार्यक्रममा चारसयको हाराहारीमा सहभागिता हुने अपेक्षा राखिएको थियो । तर नौसयको हाराहारीमा सहभागिता भयो । 
 
चारसयको अनुमान गरेर सोही अनुसार हल बुकिङ गरेका कारण नौसयको उपस्थिती भएपछि हल निकै साँघुरो भएको अनुभव सहभागीहरुले गरेका थिए । ‘तीजको कार्यक्रममा जुनसुकै वर्ष पनि निकै ठूलो सहभागिता हुँदै आएको छ,’ नेपाली समाजका पूर्ब अध्यक्ष तथा एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछानेले भने । 
 
युलेसको तीजमा भेटिएका नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रका कोषाध्यक्ष छबी चापागाईले ठूलो हल र फराकिलो स्थानको अभाव हुँदा छरिएर पर्व मनाउन परेको कुरालाई उठाए । ‘अब ठूलो ठाउँमा हल सहितको मन्दिर तयार नभएसम्म मानिसहरु छरिने क्रम जारी रहने भयो, चाँडै नयाँ मन्दिर बनाउनैपर्छ,’ उनले भने । 
 
अब अर्को पटकको तीज गर्दा निकै ठूलो हलमा अझै व्यबस्थित साथ गर्ने सोचाईमा आयोजकहरु छन् । ड्यालसमा रहेका नेपालीहरुले टोलैपिच्छे तीज गर्दै आएकोमा अबदेखि एकै ठाउँमा गर्दा सहभागी हुनेलाई पनि सजिलो हुने भएकोले त्यसै अनुसार कार्यक्रम तयार गर्न नेपाली समाज, इन्द्रेणी सांस्कृतिक संघ, नर्थ ड्यालस नेपाली समाज, मधेशी समाज लगायतका संघसंस्थाहरुसँग आग्रह गरेका छन् ।
 
नयाँवर्ष, तीज, दशैं, होली लगायतका कार्यक्रमहरु गर्दा संस्थाहरु मिलेर सामुहिक रुपमा कार्यक्रम गर्नुपर्ने आवाज उठेको छ । गत वर्ष होलीको कार्यक्रम चार ठाउँमा हुँदा धेरैले त्यस्तो प्रवृत्तिलाई सुधार्नुपर्ने माग समुदायका सदस्यहरुले गरेका छन् । 
 
तीजको मुख्य कार्यक्रम आउँदो बुधबार छ । बुधबार बिहान ८ देखि साँझसम्म अर्भिङस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा हरितालिका पूजाको कार्यक्रम राखिएको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रले जनाएको छ । 
 
मन्दिरमा पूजा गर्न आउनेले पूजा सामग्री आफैँले व्यबस्था गर्नुपर्ने जनाइएको छ । 
 
अमेरिकामा नेपाली समुदाय भएका सबै राज्य र शहरहरुमा तीजका कार्यक्रमहरु भव्य रुपमा भएका छन् । झण्डै एक महिनादेखि हरेक सप्ताहन्तमा तीजका नाचगान, भोजभतेरका तस्विर र भिडियो सामाजीक सञ्जालमा छरपस्ट थिए ।