चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपितमध्ये १२ जनाले सफाइ पाएका छन् ।
चितवन अदालतमा आइतबार भएको फैसलामा एक प्रतिवादीको हकमा मुद्दा मुल्तबीमा राखिएको र अन्य १२ प्रतिवादीले हत्या अभियोगबाट सफाइ पाएको फैसला भएको छ । यस अभियोगमा जन्मकैद दाबी गरिए पनि वस्तुनिष्ठ आधार नभएको भन्दै अदालतले १२ जनालाई सफाइ दिएको हो ।
न्यायाधीश कुलप्रसाद शर्माको इजलासले आइतबार उक्त फैसला गरेको हो । यस घटनाका आरोपितहरु साविक फुजेल गाविस वडा नं ७ निवासी सीता अधिकारी, छविलाल पौडेल, रामप्रसाद अधिकारी, अजिव भनिने परशुराम पौडेल, हिमलाल अधिकारी, मेघनाथ पौडेल, विष्णु तिवारी, कालीप्रसाद अधिकारी, भीमसेन भन्ने भीष्मराज पौडेल, रामप्रसाद अधिकारी, जानुका पौडेल, सुभद्रा तिवारी र रुद्र आचार्य रहेका छन् ।
प्रतिवादीमध्ये चितवनको रत्ननगर-१०, बैरिया घर भई बेलायतमा लुकेर रहेका भनिएका रुद्र आचार्यको हकमा भने मुद्दा तत्कालका लागि मुल्तबीमा रहने भएको छ । आचार्य अदालतमा हाजिर भएपछि कानुनअनुसार निर्णय गरिने उल्लेख छ । आचार्यमाथि सो घटनामा गोली हानी हत्या गरेको आरोप छ ।
विसं २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसाद अधिकारीले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय, चितवनमा जाहेरी दिएका थिए । त्यसको एक वर्ष छ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । अधिकारीको २०६१ जेठ २४ गते अपहरणपछि चितवनको बकुलहरचोकमा हत्या भएको थियो ।
२०७० चैत ३० गते यस मुद्दा चितवन अदालतमा दर्ता भएको थियो । २२औँ पटकको पेसीमा यस मुद्दाको जिल्ला अदालतबाट किनारा लागेको हो । न्यायाधीशहरु विनोदमोहन आचार्य, बासुदेव पौडेल, कविप्रसाद न्यौपाने, टेकनारायण कुँवर र कुलप्रसाद शर्माले यस मुद्दा हेर्दै आएका थिए ।
छविलाललाई सफाइ
०७२ पुस ६ गते ‘कृष्ण अधिकारीको मृत्यु कर्तव्यबाट भएको कुरा विवाद छैन’ भन्दै सर्वोच्चले आरोपितहरुमध्ये छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको थियो । अधिकारी हत्या अभियोग लागेका छविलाल पौडेल असार २४ गते सर्वोच्च अदालतमा स्वयम् उपस्थित भएका थिए ।
यस घटनामा १३ जना आरोपितमध्ये छविलालको हकमा भने चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौँडाको धरौटीमा छुटने आदेश उल्टाउँदै सर्वोच्चले ०७२ पुस ६ गते यस्तो आदेश गरेको हो । चितवन अदालतको २०७२ वैशाख ४ गतेको आदेशले आरोपितहरुमध्ये ७ जना धरौटीमा छुटेका थिए भने बाँकी शुद्ध तारेखमा छुटेका थिए ।
छोराको हत्यारालाई कारबाही गरी न्याय दिलाउन भन्दै अनसनमै रहँदा नन्दप्रसादको ०७१ असोज ६ गते वीर अस्पतालमा मृत्यु भएको थियो । उनको शव अझैसम्म शिक्षण अस्पतालकै शवगृहमा रहेको छ ।
जाहेरवाला नुरप्रसाद अनुपस्थित
गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका जाहेरवाला व्यक्ति नुरप्रसाद अधिकारीलाई अदालतमा वकपत्रका लागि उपस्थित हुन दुईपटकसम्म म्याद तामेल भएता पनि उनी चितवन अदालतमा हाजिर भएनन् । उनलाई भदौ ४ गते सोमबारका लागि अदालतले म्याद जारी गरेको थियो ।
जाहेरवाला हाजिर नभएपछि यस मुद्दाको पेसी आइतबार ताकिएको चितवन अदालतका श्रेष्तेदार गेहेन्द्रराज पन्तले जानकारी दिए । अदालतले नबुझी नहुने भनेको जाहेरवालाको अनुपस्थितिमै फैसला भएको हो ।
तस्बिर : फैसलापश्चात् वकिलहरुसँग फोटो खिचाएर रमाउँदै सफाइ पाउनेहरु र आफन्त ।
प्रतिक्रिया