नवलपरासी । दिनहुँजसो बलात्कारका घटना बढ्दै गएको भन्दै अन्तरपार्टी महिला सञ्जाल नवलपुरले बलात्कार, महिला हत्या तथा यौनहिंसाका घटना दोहरिइरहेकोले दोषीलाई मृत्युदण्ड दिन सरकारसँग माग गरेको छ ।
सञ्जालले बलात्कारका घटनालाई न्यूनीकरण र दोषीलाई कारबाही गर्न सरकारले चासो नदेखाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बिहीबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा लामो संघर्षपछि आएको परिवर्तनले महिलालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार प्राप्त भएको भनिए पनि समाजमा महिला र बालिकाले त्यो अधिकारको प्रत्याभूति गर्न नपाएको ठहर गर्दै बलात्कारजस्तो जघन्य अपराध गर्नेलाई कानुन संशोधन गरी मृत्युदण्डको सजाय हुनुपर्ने माग गरेको हो ।
पत्रकार सम्मेलनमा सञ्जालकी अध्यक्ष अमृता सिग्देलले कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या र त्यसपछि उत्पन्न परिस्थितिले देशमा कानुन नै नभएको आभाष भएको बताइन् ।
उनले ठूलाबडाले जे गरे पनि हुन्छ भन्ने आमनागरिकमा अहिले निराशा छाएकोले सरकारले घटनाका दोषीलाई पत्ता लगाइ कडा कारबाही गर्नसमेत माग गरिन् ।
सञ्जालले वर्तमान अवस्थामा महिला तथा बालबालिकालाई समाजमा स्वतन्त्रपूर्वक हिँडडुल गर्न अवरोध सृजना भएको, कहाँ के हुन्छ भन्ने त्रासैत्रासमा सधैभरि रहनुपर्ने अवस्था आएकाले यस्तो परिस्थिति अन्त्यका लागि सुशासन, शान्ति, सुरक्षा र अमनचयनको वातावरण सिर्जना गरिदिन सरकारसँग मागसमेत गरेको हो ।
सञ्जालले जिल्ला प्रशाशन कार्यालय नवलपुरमार्फत् महिला हिंसा, हत्या र बालिका बलात्कार न्यूनीकरण गर्न र दोषीलाई मृत्युदण्डको सजाय कायम गर्न माग गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाएको छ ।
प्रतिक्रिया