प्यारी दिदी
नमस्कार
मुटु भरिको माया । वरपर तीजै तीजले ढाक्दा मेरो मन पनि छपक्कै ढाकेको छ तिम्रो यादले र मायाले । तीजालुले लागाएको रातो पहिरन जस्तै गाढा माया छ । मेरो मुटु भरि तिम्रो लागि । ती राता चुराहरुमा खन्किएका आवाजमा कताकता तिम्रो हाँसो मिसिएको भेट्छु । तीजमा छमछमाएका पाइलाहरुमा तिम्रो आहट खोज्छु । तर तिमी त धेरै टाढा पो छौ त मबाट।
साँच्चै नै धेरै बर्ष भएछ तिमीसँग तीज नमनाएको, सँगै दर नखाएको अनि महादेव मन्दिरसँगै नगएको। ड्याडीले बनाउनु भएको लट्टे अनि ममीको हातको खीर खान मध्यरातसम्म कुरेर बस्थेम् हामी। फुपूले ल्याइदिनु भएको चुरा, काँटा, टीका लाएर घर अगाडीको चोकमा छमछम नाच्थेम् । पल्लो घरकी फुपु तीजको गीत भाका मिलाई मिलाई गाएर हामीलाई भाका छोप्न भन्नुहुन्थ्यो । हामी ठ्याक्कै उस्तै भाकामा गीत छोप्थेम् ।
अहिले ती मखमली फुपू हुनु हुन्न रे भनेको सुन्छु । तीजको गीतहरुले चसक्क मन बिझाउँछ मखमली फुपूलाई सम्झिदा । स्तन क्यान्सरको कारणले बित्नुभयो रे भन्ने ख़बर सुनें । फुपूको उमेर पनी त भएको थिएन । छोराछोरी पनि सानै छन् । बिचरा फुपाजुले जागिर र घरबार कसरी धान्नु भएको होला ?
अनि सुन न दिदी, माथ्लो घरकी काकी पनि पाठेघरको क्यान्सरले थलिनु भा’छ भनि सुन्छु । के यो कुरो साँचो हो? अनि तिम्रो साथी आशा पनि त बितिन् रे पोहोर साल क्यान्सर कै करणले । कति सुन्न परेको यो रोगको बारेमा पनि ? जब क्यान्सर रोगको नाम सुन्छु, मेरो नाै नाडी खिचेर आउँछ। कसरी हामीले ड्याडीलाई गुमाएका थियौं त्यहि भयानक रोगको कारणले । एकै चोटी केयान्सरको अन्तिम चरणमा थाहा पाएका थियौं ।
डाक्टर शर्माले खुइय सुस्केरा हालेर त्यों रोगको बारेमा किटान गरेर भन्दा हामी छाँगाबाट खसे जस्तो भएका थियौं। अझै ठुलो चोट त त्यति खेर लागेको थियो। जति खेर थाहा भयो, एउटा सामान्य पिएस्ए भन्ने परीक्षण दुइ महिना पहिला गरेको भए हामीले सजिलै ड्याडीलाई बचाउन सक्ने थियौं । हुन त डाक्टर देखाएको पनि हो। सामान्य शारीरिक परिक्षण पनि नगरि ठालु पल्टिएर नदुख्ने औषधी दिएर ‘केहि पनि भएको छैन, आराम गर्नुस् २/४ दिन’ भन्ने डाक्टर पनि अझै प्राक्टिस गर्दैछन् नेपालमा ।
हामीले ड्याडी गुमाएको १७ बर्ष भइ सक्यो। तैपनि घाउ दुख्छ। बेलैमा डाक्टरले सहि ढंगले उपचार गरि दिएको भए, हामीले बाबालाइ गुमाउनु पर्ने थिएन। त्यसैले मलाई डर लाग्छ । बॉचेका हामी कसरि स्वस्थ र पुरा आयु बाँच्न सक्छाै भनि सोच्छु। यो मेरो कर्मभुमीमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, प्रोस्टेट क्यान्सर लागाएत अन्य क्यान्सरको अत्यन्तै गहिरो परीक्षण हुन्छ। मैले मेरा बिरामीहरु पनि क्यान्सर मुक्त भएर सामान्य जीवन बिताएको देखेको छु।
दिदी, यो बहिनीले नाच्न गाउन छाडेर तीजको रमझमको बेलामा के कुरा गर्न लागि होला जस्तो लागेको होला । मलाई जति नै रमझममा भुले पनि, जति नै हॉसे पनि प्रत्यक पटक तिमीहरुलाई नै सम्झिन्छु । तिमीहरु सुरक्षित होउ, स्वस्थ होउ जस्तो लाग्छ । त्यसैले म तिमी लागाएत तिम्रा साथीहरु, माइजु, काकी, देउरानी, जेठानी, नन्द भाउजु, दिदी बहिनी, भान्जी भतिजी सबै महिलालाई मासिक स्तन परीक्षण गर्न आग्रह गर्छु । महिनाबारीको ४/५ दिन पछि आफै छामेर परिक्षण गर्न सकीन्छ । केहि शंका लागेमा मेमोग्राम गर्न डाक्टरलाई भन ।
अनि पाठेघरको क्यान्सर निदानको लागि प्याप परिक्षण गर। महिला सम्बन्धि रोग नलुकाउ। यसमा लाज मान्न पर्ने कुरो केहि छैन । हेर दिदी, तिमी स्वस्थ भयौ भने तिम्रो परिवार राम्रोसँग चल्छ । तिमी तलमाथी भयौ भने तिम्रो परिवारको जहाज डुव्छ। तिमी भन्ल्यौ, खर्च लाग्ला नि? तिम्रो स्वास्थय परिक्षणलाई केहि खर्च लाग्ला । तिम्रो एक बर्षको तीजको पहिरन खर्चले स्वास्थ्य परीक्षण गर्न पुग्छ । तिमी तन्दुरुस्त भए, त्यहि नै होइन र तिम्रो रुप ? मेरो यो सालको तीजको शुभकामना नै यहि महिला स्वास्थ्य परिक्षण र हेरचाह सम्झि ग्रहण गरिदेउ।
अनि अर्को कुरो, बर्षै पिच्छे तीजमा भिनाजुको लागि निरहार ब्रत लिने तिमी । भिनाजुको लामो आयुको लागि पानी पनि खान्नौ। तर याद गरेकी छौ भिनाजुको स्वास्थ्यको बारेमा ? भिनाजु पनि ४० कटिसक्नु भयो । उहॉको वुबालाई पेरोस्टेट ग्रन्थीको समस्या थियो। अब भिनाजुले पनि पिएस्ए परिक्षण गर्न पर्छ है । सही अर्थमा तिम्रो जीवन भरिको ठुलो ब्रत यहि हुन्छ । भिनाजु स्वस्थ हुनु नै तिम्रो गहना हुने छ दिदी।
तीजको रमझममा यो बातेले के के भन्छे भन्ठानेकी छाै होला ।
तै नि म मनमा लागेको कुरो नबोली बस्नै नसक्ने, चिनेकि छौ नि त तिमीले। जति सुन्यौ अब एउटा अर्को कुरो पनि सुन है। हामी सँगै तीज मानेको भए तिमीसँग कति पो कुरो गर्ने थिएँ।
जताततै बालिका बलात्कार र हत्याको बारेमा समाचार पढ्छु। अाँखा रसाउँछन् मेरा। रन्को छुट्छ, पापीहरुको कुकृत्य देखेर। हाम्री छोरीको बारेमा पनि पीर लागेकै होला । अस्ति फोनमा बलात्कारको घटनाहरुको बारेमा मलाई सुनायौ, तर खुलेर ‘छोरीको बारेमा पीर लागेको छ’ भन्न सकेनौ मलाई । तर मैले तिमीले मलाइ भन्न नसकेको कुरो मनमा सुनि रहेको थिएँ। भन्न मन लागेको थियो। ‘दिदी तिम्री छोरी अवला छैन, तिमीले उस्लाई आत्म रक्षाको तालिम दिएकी छौ । आफुलाई कसरी बचाउने भन्ने सबै तरिका जानेकि छ, उस्ले ।’
म रक्षासँग २/४ दिनको अन्तरालमा म्यासेन्जरमा कुरा गरि रहन्छु । अस्ति त हामी सानिमा छोरीको बलात्कार सम्बन्धि सन्दर्भमा पनि कुरा भएको थियो । उ जुझारु छे, निडर छे। आफ्नो सुरक्षा कसरी गर्न पर्छ भन्ने थाहा छ, उसलाई । मैले पनि अलिकति थपि दिएँ।
’रक्षा, तिमीलाई कुद्र्ष्टि लाएर छुन आउने हात काटि दिन पर्छ। अनि तिमीलाई बलात्कार गर्न तयार लिङ्ग भॉचिदिनु पर्छ।’ उ हॉसी, बरु दिदी, उस्का साथीहरुलाई पनि उहि जस्तै प्रतिरोधक चाहिं कसरी बनाउने? त्यो तिम्रो ज़िम्मा है। किनकि तिमीले रक्षालाई पुर्ण तयार पारेकि छौ, यो जाली संसारसँग लड्न।
अलि धेरै नै लेखें क्यारे, दिदी आज। तीजको रमाइलोमा यो प्रसंग ल्याइ भनेर झिंजट नमान। असली तीज त तब हुन्छ जव सबै महिला स्वस्थ हुन्छन्। परिवार स्वस्थ र सुरक्षित हुन्छन्। काकीहरु र फुपूहरुले घन्काएका तीजका चोकहरु हामी दिदी बहिनी नाचेर रमाइलो गराैँला । भिनाजु मादल बजाउनु हुन्छ। हामी दिदीबहिनी निडर र निर्भीक रक्षालाई सिकाउँला, तीजको लरह…आजलाई बिदा ।
उही तिम्री बहिनी
‘पोक्ची’
प्रतिक्रिया